fbpx

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति : राष्ट्र बैंकको समीक्षा 

May 20, 2018

बैंकिङ खबर । आर्थिक वर्ष २०७४÷७५ को नौ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती यहाँ प्रस्तुत गरिन्छ :

आर्थिक परिदृश्य 
१. केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ५.९ प्रतिशतले र उत्पादकको मूल्यमा ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । लगातार दुई वर्ष देखि नेपालको आर्थिक वृद्धिदर उत्साहजनक रहदै आएको छ । आर्थिक वर्ष २०७४ मा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि रहेको थियो । 
२. केन्द्रीय तथ्याङ्क विभागलेआर्थिक वर्ष २०७४/७५ मा कुल पुँजी निर्माणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५१.७ प्रतिशत र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.९ प्रतिशत रहने अनुमान गरेको छ । यसको परिणामस्वरुप आर्थिक वर्ष २०७४÷७५ मा कुल गार्हस्थ्य उत्पादनसँग स्रोत अपर्याप्तताको अनुपात ७.८ प्रतिशत रहने देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७४ मा स्रोत अपर्याप्तता अर्थात चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.३८ प्रतिशत रहेको थियो । 
३. केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७४÷७५ मा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले वृद्धि भई रु. ७२९ अर्ब रहने अनुमान गरेको छ । आर्थिक वर्ष २०७४ मा विप्रेषण आप्रवाह वृद्धिदर ४.६ प्रतिशत रहेको थियो । 
४. २०७४ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । २०७३ चैतमा यस्तो मुद्रास्फीति ३.८ प्रतिशत रहेको थियो । तरकारी तथा अन्य खाद्य पदार्थको मूल्यमा भएको छिटफुट वृद्धिका कारण उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा केही उच्च रहन गएको हो । तथापि आर्थिक वर्ष २०७४÷७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने वार्षिक प्रक्षेपण भन्दा कम नै रहने देखिन्छ । 
५. वित्तीय क्षेत्रतर्फ समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । वार्षिक विन्दुगत आधारमा २०७४ चैत मसान्तमा कर्जा प्रवाह १९.५ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप परिचालनको वृद्धिदर १५.३ प्रतिशत रहेको छ । यसले अद्यापि वित्तीय असन्तुलन रहेको देखाउँछ । आगामी समयमा सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

६. २०७४ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत पुगेको छ । यस्तो मुद्रास्फीति २०७३ चैत महिनामा ३.८ प्रतिशत रहेको थियो । खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो । तथापि, २०७४÷७५ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.१ प्रतिशत रहेको छ । 

खाद्य मुद्रास्फीति 
७. २०७४ चैत मसान्तमा खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा मुलतः तरकारी, फलफूलजन्य वस्तुहरु र दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
९. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ७.० प्रतिशत, पहाडमा ६.० प्रतिशत, तराईमा ५.७ प्रतिशत र काठमाडौं उपत्यकामा ४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा २.८ प्रतिशत, पहाडमा ५.६ प्रतिशत, तराईमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.७ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१०. २०७४ चैत महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ४.६ प्रतिशत रहेको छ । फलतः यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालकोमुद्रास्फीति ३.५ प्रतिशत र भारतको ३.० प्रतिशत रहेकोथियो । 

थोक मुद्रास्फीति 
११. २०७४ चैत मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.२ प्रतिशत रहेको थियो । खासगरी, आयातित वस्तुहरु तथा देश भित्र उत्पादन भएको वस्तुहरुमा भएको मूल्य वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
१२. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ६.१ प्रतिशतले वृद्धि भएको छ । निजी प्रतिष्ठानको तलब सूचकाङ्कमा ३६.३ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१३. आर्थिक बर्ष २०७४/७५ को नौ महिनासम्ममा कुल वस्तु निर्यात ८.२ प्रतिशतले वृद्धि भई रु. ५९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ६.९ प्रतिशत, चीनतर्फ ५८.९ प्रतिशत र अन्य मुलुकतर्फ ७.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलंैची, धागो, पोलिष्टर यार्न, अदुवा, तार, लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, जि.आई पाईप, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

१४. समीक्षा अवधिमा कुल वस्तु आयात २०.६ प्रतिशतले बढेर रु. ८७६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २१.९ प्रतिशत, चीनबाट भएको आयात २२.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १५.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटईन क्वाईल, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ । 
१५. भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

१६. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २१.७ प्रतिशतले विस्तार भई रु. ८१६ अर्ब ५५ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१७. आर्थिक वर्ष २०७४/७५ को नौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १.७ प्रतिशतले बढेकोर आयात मूल्य सूचकाङ्कमा ६.४ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ४.४ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त ३.३ प्रतिशतले बढेको थियो । चिया, तामाको तार, पित्तलका पाता, कत्था, लगायतका वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटप लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१८. समीक्षा अवधिमा कुल सेवा आय ४.८ प्रतिशतले र कुल सेवा खर्च १३.१ प्रतिशतले बढेको कारण खुद सेवा आय रु. २ अर्ब ७९ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ६ अर्ब ४२ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १४ प्रतिशतले वृद्धि भई रु. ५० अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५.३ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१९. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले वृद्धि भई २०७४ चैतसम्ममा रु. ५४० अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आय भने रु.६२१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो । 
२०. वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.२ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२१. २०७३ पुस देखि घाटामा रहदै आएको चालू खाताले बाह्य क्षेत्र सन्तुलनमा चुनौती थपेको छ । अघिल्लो वर्षको नौ महिनामा चालू खाता रु. १० अर्ब ३४ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई रु. १७१ अर्ब ६४ करोड पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खाता उच्च घाटा भएको हो । फलस्वरुप, अघिल्लो वर्षको नौमहिनामा रु. ५० अर्ब ६० करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. १४ अर्ब ६० करोडले घाटामा रहेको छ । 
२२. समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोलगानी रु. ११ अर्ब ७ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२३. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ चैत मसान्तमा १.४ प्रतिशतले ह्रास भई रु. १०६४ अर्ब ३७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ चैत मसान्तमा २.८ प्रतिशतले वृद्धि भई रु. ९५३ अर्ब २६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७४ चैत मसान्तमा २७ प्रतिशतले कमी आई रु. १११ अर्ब ११ करोड पुगेको छ । २०७४ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२४. आर्थिक वर्ष २०७४/७५ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.४ प्रतिशत, ८०.५ प्रतिशत र ३७ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४०.८ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२५. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५५.०५ रहेकोमा २०७४ चैत मसान्तमा ३२.९ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ७३.१८ कायम भएकोछ । त्यसैगरी, सुनको मूल्य २०७३ चैत मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२८४.१५ रहेकोमा २०७४ चैत मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३४३.७० पुगेको छ । 

विनिमय दर 
२६. २०७४ असार मसान्तको तुलनामा २०७५ चैत मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ३.५ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७४ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०४.१२ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२७. आर्थिक वर्ष २०७४ को नौ महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट बचत रु.११ अर्व ८३ करोड रहेकोमा आर्थिक वर्ष २०७४÷७५ को सोहि अवधिमा बजेट घाटा वृद्धि भई रु.११२ अर्ब ७५ करोड पुगेको छ ।

सरकारी खर्च 
२८. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.६४३ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.४१९ अर्ब ९३ करोड रहेको थियो । 
२९. समीक्षा अवधिमा चालू खर्च रु.४९१ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.३०५ अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च ४७.१ प्रतिशतले बढेर रु.१०८ अर्ब ९६ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु.७४ अर्ब ९ करोड भएको थियो । 

सरकारी राजस्व 
३०. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन २०.८ प्रतिशतले वृद्धि भई रु.५०५ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ४४.४ प्रतिशतले वृद्धि भई रु.४१८ अर्ब ९५ करोड पुगेको थियो । 

सरकारको नगद मौज्दात 
३१. २०७४ चैत मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम रु.१२१ अर्ब ९१ करोड समेत) रु.२८८ अर्ब ६४ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३२. आर्थिक वर्ष २०७४/७५ को नौ महिनामा विस्तृत मुद्राप्रदाय १०.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १६.६ प्रतिशतले बढेको छ । 
३३. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. १४ अर्ब ६० करोड (१.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ५० अर्ब ६० करोड (५.३ प्रतिशत) ले बढेको थियो । 
३४. समीक्षा अवधिमा सञ्चित मुद्रा ५.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा सञ्चित मुद्रा ४.५ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३५. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा यस्तो कर्जा २४.६ प्रतिशतले बढेको छ । 
३६. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १५.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ चैत मसान्तमा १९.३ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३७. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.३ प्रतिशतले बढेको छ । 
३८. २०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.५ प्रतिशत, ३६.६ प्रतिशत र ४०.६ प्रतिशत रहेको थियो । 
३९. २०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६.८ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६.२ प्रतिशत, विकास बैंकहरुको २४.७ प्रतिशत र वित्त कम्पनीहरुको १०.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.५ प्रतिशतले बढेको छ । 
४१. २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.८ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७३ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ प्रतिशत र १४.० प्रतिशत रहेको थियो । 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत (रु.४५ अर्ब ७५ करोड) ले वृद्धि भई रु. ११० अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । 
४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १०.० प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १४.० प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४४. आर्थिक वर्ष २०७४/७५ को नौ महिनासम्ममा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी रु. १३० अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु. ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत् रु. ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् रु. ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो । 
४५. समीक्षा अवधिमा यस बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् रु. ६१ अर्ब ८२ करोड र सोझै खरिद बोलकबोलमार्फत् रु. ३७ अर्ब ९ करोड गरी कुल रु. ९८ अर्ब ९१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ६१ अर्ब तरलता प्रवाह भएको थियो । 
४६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. २९ अर्ब ८६ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. ६१ अर्ब ७४ करोड बराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए । 
४७. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब १९ करोड खुद खरिद गरी रु. ३२९ अर्ब ६२ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १ करोड खुद खरिद गरी रु. ३२७ अर्ब ६० करोड खुद तरलता प्रवाह गरेको थियो । 
४८. समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६६ करोड र युरो ४ करोड बिक्री गरी रु. ३८२ अर्ब ४७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब २२ करोड र युरो ९ करोड ५० लाख बिक्री गरी रु. ३५६ अर्ब १९ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४९. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ चैत मसान्तमा रु. १५ अर्ब ११ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
५०. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ चैत मसान्तसम्ममा १ अर्ब ५० करोड पुनरकर्जा उपयोगमा रहेको छ । 
५१. २०७४ चैत मसान्तसम्ममा नेपाल सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६,९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड कर्जा बक्यौता रहेको छ भने ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
५२. आर्थिक वर्ष २०७४/७५ को नौ महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ८८२ अर्ब ८७ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. २७ अर्ब ४१ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ७७२ अर्ब ५ करोड र रु. २९६ अर्ब ७८ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५३. २०७३ चैतमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.९३ प्रतिशत रहेकोमा २०७४ चैतमा ४.९८ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ चैतको ०.७५ प्रतिशतको तुलनामा २०७४ चैतमा ४.१२ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ चैतको ८.६ प्रतिशतको तुलनामा २०७४ चैतमा १०.४ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
५४. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ चैत मसान्तसम्म कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये ११८ वटा संस्थाहरुकोइजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । 

वित्तीय पहुँच 
५५. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७४ चैत मसान्तसम्म ४२४ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति बक्स ५ मा प्रस्तुत गरिएको छ । 

पुँजी बजार 
५६. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २४.७ प्रतिशतले ह्रास भई २०७४ चैत्र मसान्तमा १२७७.६ विन्दुमा सीमित भएको छ । २०७३ चैत्र मसान्तमा उक्त सूचकाङ्क २२ प्रतिशतले वृद्धि भई १६९७.१ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ विन्दुकायम भएको थियो । 
५७. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २३.२ प्रतिशतले ह्रास भई २०७४ चैत्र मसान्तमा रु. १,४९७ अर्ब ८० करोड कायम भएको छ । बजार पूँजीकरण अनुपात २०७३ चैत्र मसान्तमा ३०.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४÷७५ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ४९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७३.८ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८१.३ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.८ प्रतिशत रहेको छ । 
५८. २०७४ चैत्रमा कुल शेयर कारोबार रकम ७१ प्रतिशतले ह्रास आई रु. ८ अर्ब ५० करोडमा सीमित भएको छ । यस्तो कारोबार रकम २०७३ चैत्र मा १०७.२ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ९३ करोड पुगेको थियो । 
५९. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ चैत्र मसान्तमा १९६ रहेको छ । २०७३ चैत्र मसान्तमा यस्तो संख्या २१० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १८ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
६०. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २५.८ प्रतिशतले वृद्धि भई २०७४ चैत्र मसान्तमा रु. ३३९ अर्ब २९ करोड पुगेको छ । समीक्षा अवधिमा रु. ३० अर्ब २१ करोड बराबरको साधारण शेयर, रु. २७ अर्ब २४ करोड बराबरको हकप्रद शेयर, रु. २३ अर्ब ७३ करोड बराबरको बोनस शेयर र रु. ३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र गरी कुल रु. ११८ अर्ब २७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.