निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ बैशाख २३ गतेदेखि २५ गतेसम्म दार्चुला जिल्लाको गोकुलेश्वरमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको छ । तरकारी खेती गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकको क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले बताए ।
तालिममा हिउँदे तरकारी खेती प्रविधि, करेसाबारी, लहरे तरकारी खेती प्रविधि, जरे तरकारी र कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरु, विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बजार ब्यवस्थापन, टमाटर खेतीको स्किम, च्याउ खेती स्किम, बचत परिचालन र बचतका फाईदाहरु, बैंकका सेवाहरु लगायतका विषयमा प्रशिक्षण दिइएको बैंकका गोकुलेश्वर शाखाका प्रमुख भुसालले बताए ।
निर्धन उत्थान बैंक लिमिटेड र सक्षमको संयुक्त पहलमा संचालन गरिएको तालिममा प्रशिक्षकहरु डम्मर सिंहभाट, जानकी विष्ट जोशी, शंकर प्रसाद न्यौपाने रहेका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको गोकुलेश्वर शाखाका प्रमुख राम प्रसाद भुसालले प्रकाश पारेका थिए ।
निर्धन उत्थान बैंक लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । बैंकले १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पुर्याई रहेको छ ।
बैंकले २०७४ चैत्रसम्ममा ३ लाख ९ हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । बैंकको २०७४ चैत्रसम्ममा लगानीमा रहेको कर्जा रु. १४ अरब ७८ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ८८ करोड बचत परिचालन गरेको छ ।