April 26th, 2018

सरकारी बैंकमा जागीर खान चाहानुहुन्छ ? यसरी गर्नुहोस् तयारी

राम किशोर मेहता । नेपालको कुनै पनि विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त विभिन्न शैक्षिक संस्थाहरुको व्यवस्थापन संकाय वा मानविकी संकायको अर्थशास्त्र विषय लिई अध्यनरत विद्यार्थीहरुको पहिलो लक्ष्य सरकारी बैंकहरुमा रोजगारी पाउने रहेको हुन्छ । नेपाल सरकारले देशको आर्थिक क्षेत्रलाई निजी क्षेत्रको लागि खुल्ला गरेपश्चात हाल नेपालको बैंकिङ्ग क्षेत्रमा सरकारको पुर्ण वा आंशिक लगानी रहेको सरकारी बैंकहरु तथा नेपालीहरुको पुर्ण लगानी तथा नेपाली र विदेशी बैंकहरुको संयूक्त लगानीमा प्रवद्र्धित निजी क्षेत्रको बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाहरु सयौँको संख्यामा रहेका छन् । तथापि, रोजगारीको लागि भने सरकारी बैंकहरु नै पहिलो प्राथमिकतामा रहेका हुन्छन् ।

नेपालको सरकारी बैंकहरुलाई पनि दुई भागमा बाँड्न सकिन्छ । नेपाल सरकारको समेत बैंकको रुपमा काम गर्ने एक छुटै ऐन मार्फत स्थापित तथा स्वशासित संस्थाको रुपमा स्थापना कालदेखि हालसम्म अविछिन्न रुपमा संचालित नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र सरकारको पुर्ण तथा आंशिक लगानीमा संचालित वाणिज्य बैंकहरु राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

सरकारी बैंकमा तहगत योग्यता
सरकारी बैंकहरुको कार्यक्षेत्र वृहत तथा देशभरि नै शाखाहरु हुने भएकोले यस्ता बैंकहरुमा हजारौँको संख्यामा कर्मचारीहरु कार्यरत हुन्छन् । कुनै पनि सरकारी बैंकमा कार्यरत कर्मचारीहरुले एक निश्चित सेवा अवधि वा एक पुर्व्निर्धा्रित उमेर पुगेपछि अनिवार्य अवकाश तथा कर्मचारीले आफनो ईच्छाले स्वेछिक अवकाशमा जान सक्ने भएकोले यस्ता बैंकहरुमा जहिले पनि रोजगारी पाउने सम्भावना रहेको हुन्छ । बैंकहरुमा आवश्यकता अनुसार विभिन्न पद तथा तहहरुको सिर्जना गरिएको हुन्छ । विभिन्न पद तथा तहहरुको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पनि फरक फरक रहेको हुन्छ । शैक्षिक संस्थाहरुबाट न्यून्तम शैक्षिक योग्यता हासिल गरेको तर कार्य अनुभव नभएको उम्मेवादहरुको लागि समान्यतयाः बैंकहरुले निम्न तह तथा पदहरुमा भर्ना खुलाउने गर्दछ :

सहायक तह : सहायक तह अन्र्तगत कनिष्ट सहायक, सहायक तथा वरिष्ठ सहायक को पदमा विज्ञापनहरु गरिएको पाईन्छ । यस तहको लागि संस्थाहरु +२ तहदेखि ग्रयाजुयेशनसम्मको शैक्षिक योग्यतालाई न्यून्तम शैक्षिक योग्यताको रुपमा लिईएको हुन्छ ।
साधारण अधिकृत तह : साधारण अधिकृत तहको लागि स्नातोकोतर तहसम्मको शैक्षिक योग्यता हासिल गरेको उम्मेदवारहरु योग्य मानिन्छ ।
विशेषज्ञ अधिकृत : विशेषज्ञ अधिकृत तहको लागि विशेष गरि प्राविधिक शिक्षा हासिल गरेको उम्मेदवारहरु योग्य हुन्छन । यस्ता विशेषज्ञहरुको शैक्षिक योग्यता चार्टड एकाउन्टेन्ट, विभिन्न ईन्जिनियरीङ्ग तथा सुचना तथा प्राविधिक क्षेत्रमा ग्रयाजुयेशन रहेको हुन्छ ।

सरकारी बैंकहरुमा काम गर्ने व्यक्तिहरुले पाउने विभिन्न भत्ता तथा सुविधाहरु, सामाजिक प्रतिष्ठा, बैंकहरुको भौगोलिक अवस्थिती तथा निजी क्षेत्रको बैंकहरुको तुलनामा सजिलै विदामा बस्न पाईने सुविधा, वर्षको केहि निश्चित दिन अनिवार्य विदा बस्नैपर्ने तथा सो अवधिको लागि थप रकम समेत पाईने इत्यादी कारण सरकारी बैंकहरु रोजगारीको लागि आर्कषणको केन्द्रमा रहेको हुन्छ ।

कसरी गर्ने तयारी ?
उम्मेदवारहरुले आफुुले हासिल गरेको न्यून्तम शैक्षिक योग्यताको आधारमा कुन तहमा दरखास्त पेश गर्ने सो सम्बन्धमा प्रष्ट हुनुपर्दछ । आफुले लक्ष्य लिएको पद तथा तह अर्को भए पनि उम्मेदवारहरुले थाहा पाएको प्रत्येक तह तथा सरकारी बैंकहरुको परीक्षामा सामेल हुनुपर्दछ किनकी जति धेरै परीक्षामा सामेल हुनको लागि यहि मात्र परीक्षा आफनो अन्तिम परीक्षा हो भनि तयारी गरिन्छ, त्यति नै धेरै आफुले चाहेको तहको परीक्षामा सफल हुने सम्भावना रहेको हुन्छ ।

सरकारी बैंकहरुको प्रश्नहरु Reasoning, Quantitative Aptitude, English, General Awareness, Computer Knowledge, Banking, Economy जस्ता क्षेत्र तथा विषयहरुबाट सोध्ने गरिन्छ । सर्वप्रथम, उम्मेदवारहरुले आफुले दरखास्त पेश गरेको तहको पाठय्क्रमको बारेमा जानकारी लिई सोको लागि चाहिने आवश्यक श्रोतहरुको उपल्बधताको सुनिश्चितता गरि आवश्यक किताब तथा अन्य पाठयपुस्तकहरु संकलन गर्नुपर्दछ । किताबहरु खरिद गर्दा सकभर सबै विषयबस्तु समेटिएका एक वा दुईवटा किताबहरु किन्ने प्रयास गर्नुपर्दछ । यसो गर्दा धेरै किताबहरु किन्ने खर्च जोगिनुको साथै परीक्षाको लागि उपलब्ध थोरै तथा अति नै महत्वपुर्ण समयमा कुन किताब पढने वा नपढने द्धिविधाको समेत अन्त्य हुन्छ । यसको साथै, आफुले पास गर्न चाहिरहेको तहको परीक्षाको यसभन्दा पहिले सोधेको धेरै भन्दा धेरै प्रश्नपत्रहरु समेत संकलन गरि सो प्रश्नहरुको उत्तर कसरी लेखि परीक्षा पास गर्न सकिन्छ भन्ने जिज्ञासा आफुले चिनेको बैंकमा पहिलेदेखि नै कार्यरत कोहि साथि वा अन्य व्यक्तिहरु समक्ष राखी आवश्यक ज्ञान हासिल गर्ने प्रयास गर्नुपर्दछ । बैंकहरुको परीक्षालाई लक्षित गरि बजारमा आएको एउटा किताब मात्र पढेर अति नै प्रतिष्पर्धी बैंकहरुको लिखित परीक्षामा सफल हुन असम्भव प्रायः हुन्छ । तसर्थ, आफुले विद्यार्थीको कालमा अध्ययन गरेको किताबहरु समेत पढ्नुपर्दछ ।

ध्यान दिनुपर्ने कुराहरु
उम्मेदवारहरुले परीक्षामा सोधिएका सवै प्रश्नहरुको जवाफ दिन सक्ने गरि तयारी गर्नुपर्दछ । विद्यार्थी समयमा जस्तै परीक्षामा पास मात्र हुनको लागि सम्भावित महत्वपुर्ण प्रश्नहरुको मात्र तयारी गरेर यस्ता परीक्षामा सफल हुन नसकिने भएकाले सम्भव भएसम्म वृहत ज्ञान हासिल गर्नुपर्दछ । उम्मेदवारहरुले परीक्षाको तयारी गर्दा के पढ्ने ? कसरी पढ्ने ? र कहाँबाट पढ्न शुरु गर्ने ? जस्ता प्रश्नहरुको उत्तर खोज्नुपर्छ । उम्मेदवारहरुले परीक्षाको तयारी गर्दा आफैँ अध्ययन गर्ने कि कोचिङ्ग सेन्टरमा गएर तयारी गर्ने जस्ता विकल्पको बारेमा पनि आफ्नो आर्थिक अवस्था, आफ्नो शैक्षिक योग्यताहरुको प्राप्तांक, आफुसँग उपलब्ध समय तथा आफ्नो लगनशीलताको आधारमा निर्णय गर्नुपर्दछ । यसबाहेक उम्मेदवारहरुले निम्न कुराहरुमा समेत ध्यान दिनुपर्दछ :
परीक्षामा सोधिने प्रश्नहरुको ढाँचाको बारेमा पहिलेदेखि नै जानकारी लिने ।
प्रश्नहरुको तुल्नात्मक महत्वको आधारमा प्रत्येक प्रश्नको लागि समयसीमा निर्धारण गर्ने र सो सीमाको बारेमा आफूले आफूलाई नै सम्झाईराख्ने ।
समपुर्ण पाठय्क्रमको अध्ययन गर्ने ।
पहिलेको प्रश्नहरुको जवाफ लेख्ने प्रयास गर्ने ।
आफुलाई गाह्रो लाग्ने प्रश्नहरुको पहिचान गरि यस्ता प्रश्नहरुको सामाधान गर्न सम्भव प्रत्येक उपाय खोज्ने ।
आफ्नो सवल तथा दुर्वल पक्षको बारेमा जानकार हुने प्रयास गरि दुर्वल पक्षलाई सुधार्ने ।
’’Practice makes a man perfect’’ भन्ने भनाईलाई सधैं मनन् गरि यसलाई व्यवहारमा उतार्ने प्रयास गर्ने ।
समयको पूर्वनिर्धारित तालिका अनुसार व्यवस्थापन गर्ने ।
आफनो गन्तव्य नभए पनि आफुले थाहा पाएको प्रत्येक परीक्षामा सामेल हुने प्रयास गर्ने ताकि आफनो गन्तव्यको परीक्षाको पुर्वअभ्यास होस् ।

अन्तर्वार्ता
लिखित परीक्षामा सफल भएको उम्मेदवारहरुको अर्को परीक्षा अन्तर्वार्ताको रुपमा लिईन्छ । अन्तर्वार्तामा उम्मेदवारहरुले विभिन्न प्रश्नहरुको सामना गर्नुपर्ने हुन्छ । यसरी प्रश्नहरुको सामना गर्दा उम्मेदवारहरुले पेस गरेको जवाफको साथसाथै जवाफ दिने क्रममा उम्मेदवारहरुले देखाएको अन्य पक्षहरु समेत महत्वपुर्ण हुने भएकोले सोको बारेमा समेत पुर्व अभ्यास गरि मात्र अन्र्तवातामा जानुपर्दछ ।

अन्त्यमा, जसरी एउटा शिक्षकले आफुलाई कक्षाकोठामा टिकाई राख्नको लागि प्रत्येक विद्यार्थीहरुले सोधेको प्रश्नहरुको जवाफ दिन सक्ने गरि तयारी गरेको हुन्छ, ठिक त्यसैगरि उम्मेदवारहरुले परीक्षामा सोध्न सकिने जस्तो सुकै पनि प्रश्नहरुको जवाफ दिन सक्ने गरि तयारी गरेको खण्डमा सरकारी बैंकहरुले लिएको परीक्षामा सफल हुन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]