April 16th, 2018

स्पर्स लघुवित्तद्धारा ३ दिने फिल्ड व्यवस्थापन तालिम सम्पन्न

स्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई ३ दिने फिल्ड व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिमको उद्घाटन चैत्र २८ गते बुधवार कार्यक्रमका सभापति तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसजल खड्काले गरे ।

फिल्डमा काम गर्दा आइपरेका समस्याहरु निराकरण गर्ने, फिल्ड कर्मचारीको लक्ष्य तथा प्रगती समिक्षा गर्ने , विभिन्न शाखाको अनुभव आदानप्रदान गर्ने,फिल्डको गुणस्तर वृद्धि गर्ने, सदस्य तथा कर्जामा विस्तार गर्ने तथा विभिन्न जीवन बीमा कम्पनीका प्रतिनिधिहरु मार्फत जीवन बीमाको पोलिसीहरुको विक्री गर्न उत्प्रेरीत गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरेको संस्थाका प्रमुखकार्यकारी अधिकृत सजल खड्काले बताए । 

नेपालको लघुवित्त क्षेत्रमा लघुवित्त कारोबार गर्ने संस्थाहरुको एकै स्थानमा बाक्लो उपस्थिती तथा लघुवित्त संस्थारुको संख्यामा दिनदिनै वृद्धि हुँदै गएकोले बहुबैंकिङ्ग, कर्जा सदुपयोगीतामा कमी, क्षमताभन्दा बढी कर्जाको भार, नियत खराब भएको सदस्यहरुको संख्यामा वृद्धि तथा कर्जा लिएर भाग्ने जस्ता विकृतिहरु देखिन थालेकोले लघुवित्त संस्थाहरुले फिल्डको गुणस्तरमा ध्यान दिन सकेमा मात्र प्रतिस्पर्धात्मक बजारमा अब्बल देखिन र दिगो रुपमा सेवा प्रदान गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा विभागीय प्रमुखहरु ऋषभ सुवेदी, पवन बराल, हरिशरण गिरी र बिनोद पराजुलीले जनसम्पर्क विधि, समुहपुर्व तालिम विधि, केन्द्र बैठक संचालन गर्ने विधिको प्रयोगात्मक अभ्यासहरु तथा ग्राहक सेवा, धितो कर्जा, सदस्य तथा गुणस्तरमा वृद्धि, उत्पादकत्वमा वृद्धि जस्ता विभिन्न शिर्षकमा आफ्नो प्रस्तुति राखेका थिए । कायक्रममा विभिन्न जीवन बीमाका प्रतिनिधिहरुले जीवन बीमाका पोलिसीहरुको बारेमा जानकारी गराउँदै फिल्डमा गई सदस्यहरुलाई कसरी पोलिसी विक्री गर्न सकिन्छ भन्ने तरिकाहरु समेत सिकाएका  थिए ।

कार्यक्रमको औपचारीक समापन गर्र्दै वित्तीय संस्थाका प्रमुखकार्यकारी अधिकृत खड्काले फिल्ड कर्मचारी लघुवित्तको मेरुदण्ड भएकोले उनीहरुलाई सँधै उत्प्रेरित गराइराख्नुपर्ने, उनीहरुको वृत्तिविकासमा ध्यान दिनुपर्ने, सेवा सुविधामा पनि सोहि बमोजिम परिमार्जन गर्दै लानुपर्ने जस्ता प्रेरक भनाईहरु राखेका थिए ।

३० गतेसम्म संचालन गरिएको तालिममा ४२जना फिल्ड कर्मचारी, विभिन्न जीवन बीमा कम्पनीका प्रतिनिधिहरु, केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]