March 20th, 2018

घरजग्गामा बैंकिङ लगानी घटेन

नेपाल राष्ट्र बैंकले घर जग्गा कारोबारलाई अनुत्पादक क्षेत्र माने पनि यस क्षेत्रमा हुने लगानी घटेको छैन । बैंकहरूको बढी नाफा मोहका कारण यस क्षेत्रमा लगानी घट्न सकेको छैन । राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको आर्थिक प्रतिवेदनले घरजग्गा क्षेत्रमा लगानी बढेको देखिएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको ६१ दशमलव ५ प्रतिशत कर्जा घर जग्गाको धितोमा लगानी गरेका छन् ।

 गत वर्ष यसै समयमा यस्तो घितोमा ६० दशमलव २ प्रतिशत कर्जा लगानी भएको थियो । गत महिनामा बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा ६१ दशमलव ३ प्रतिशत कर्जा लगानी गरेका थिए । त्यसैगरी, १४ दशमलव ६ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा १४ दशमलव ४ प्रतिशत कर्जा लगानी भएकोे थियो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित ट्रस्ट रिसिट (आयात) कर्जा ६१ दशमलव ८ प्रतिशतले वृद्धि भई १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलव ३ प्रतिशतले बढेको थियो । त्यस्ता संस्थाहरूले हायर पर्चेज कर्जा ८ दशमलव ४ प्रतिशतले प्रवाह गरेका छन् । ओभरड्राफ्ट कर्जा १० दशमलव ९ प्रतिशतले बढेको देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार रियल स्टेट कर्जातर्फ व्यक्तिगत आवासीय घर कर्जा १० दशमलव ७ प्रतिशतले बढेको देखिएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा १३ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५ दशमलव १ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये सात महिनाको अवधिमा वाणिज्य बैंकको कर्जा प्रवाह १३ दशमलव २ प्रतिशत, विकास बैंकको १८ दशमलव ८ प्रतिशत र वित्त कम्पनीको ४ दशमलव ८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । वार्षिक बिन्दुगत आधारमा गत माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६ दशमलव ७ प्रतिशतले बढेको छ । राजधानी दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]