fbpx

‘बैंकिङ हब’ बन्दै विजुवार

January 3, 2018

प्युठानको प्रमुख व्यापारिक केन्द्र विजुवार बजार पछिल्लो समय ‘बैंकिङ हब’ बन्दै गएको छ। हरेक क्षेत्रमा सम्भावना बोकेको यस क्षेत्रमा बैैंकहरू खुल्ने क्रम पछिल्लो पाँच वर्षमा ह्वात्तै बढेको हो। जिल्ला सदरमुकाम खलंगा भए पनि लगानीकर्ताहरूको आकर्षण विजुवार र जुम्रीबजार क्षेत्रमा बढी पाइएको छ। जिल्लाको समतल झिमरुक फाँट, बाहै्र महिना बहने झिमरुक नदी र सर्वसाधारणको चाप दिनानुदिन बढ्दै गएपछि बैंकहरू खुल्ने क्रममा समेत वृद्धि हुँदै गएको हो।

पाँच वर्षयता विजुवार र जुम्रीबजार क्षेत्रमा करिब आधा दर्जन बैंक सञ्चालनमा आएका छन्। हरेक दृष्टिकोणबाट सम्भावनाको क्षेत्र भएकाले सबैको नजर विजुवारमै पर्ने गरेको छ। बैंक अफ काठमाडौं, जनता बैंक, एनआईसी एसिया, सिद्धार्थ बैंक, नेपाल बैंक लिमिटेडले हालै आफ्नो उपस्थिति जनाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, साइन रेसुंगा बैंक, नेपाल इन्भेस्टमेन्ट, सिभिल बैंकहरूले समेत विजुवार क्षेत्रबाट सेवा दिइरहेका छन्। विजुवार र जुम्रीबजार क्षेत्रमा गरी हाल नौ वटा सरकारी र वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन्।

‘व्यापारिक हिसाबले विजुवार र जुम्रीबजार क्षेत्र भर्जिन मार्केटका रूपमा अघि बढ्दै रहेछ’, एनआईसी एसिया बैंक प्युठानका कर्जा विभाग प्रमुख सुवास शाहीले भने, ‘प्युठानमा शाखा खोलेको पाँच महिना भयो, राम्रो सम्भावना देखेका छौं।’ कृषि, जलविद्युत्, पर्यटन र व्यापारिक हिसाबले प्रशस्त सम्भावना देखेकाले शाखा विस्तार गरिएको उनले जानकारी गराए। ‘प्रतिस्पर्धी छन् भनेर शाखा विस्तार नगर्ने भन्ने हुँदैन’, उनले भने, ‘जति बैंकहरू खुल्छन्, ग्राहकलाई उति नै फाइदा हुन्छ।’ बैंकिङ साक्षरता लिनका लागि पनि धेरै बैंक खुल्नु राम्रो रहेको उनी तर्क गर्छन्।

‘कुनै बेला बैकिङ सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता थियो’, प्युठान नगरपालिका ४ विजुवार टारीका वृद्ध नागरिक समाजका अगुवा लोकबहादुर भण्डारीले भने, ‘आजभोलि घर आँगनमै बैंक खुलिरहेका छन्।’ समयानुकुल बजार क्षेत्रमा बैंकहरू खुल्नेक्रम बढेकाले ग्राहकलाई सहज भएको उनले महसुस गरेका छन्। चौमासिक रूपमा बुझ्ने पेन्सनसमेत बैंकबाट बुझ्ने गरेको उनले जानकारी गराए। ‘मोबाइल बैंकिङ सेवा लिएको छु’, ८१ वर्षीय भण्डारीले भने, ‘खातामा पैसा आउँदा मोबाइलमा घन्टी बज्छ।’

धेरै बैंक स्थापना भएपछि रोजेर कारोबार गर्न पाइएको जुम्रीबजारमा व्यावसाय गर्दै आएका सरुमारानी गाउँपालिका बांगेसालका झवेन्द्र शर्माले जानकारी गराए। ‘धेरै बैंक खुलेपछि सहज त भएको छ’, उनले भने, ‘तर, प्रक्रिया झन्झटिलो र ब्याजदर बढी छ।’ जिल्लामा बैंकहरूले न्यूनतम ११ देखि अधिकतम १८ प्रतिशतसम्म ब्याज लिने गरेको उनले जानकारी गराए।

बैंक स्थापनाको क्रम बढ्दै गएपछि समग्र निजी क्षेत्रलाई सहज हुँदै गएको प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी गराए। आर्थिक अभावमा नयाँ उद्योग, व्यवसाय सञ्चालन गर्न चाहनेहरूका लागि बैंकहरूले सहज रूपमा कर्जा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। ‘नयाँ खोलिएका बैंकहरू धेरैजसो सहरकेन्द्रित छन्’, उनले भने, ‘केही बैंकले गाउँको धितोसमेत लिदैनन्, जसले गाउँका सम्भावना ओझेलमा पर्ने गरेका छन्।’ साना तथा घरेलु उद्योग सञ्चालन गर्ने उद्यमीहरूका लागि समेत सहुलियत रूपमा बैंकहरूले कर्जा उपलब्ध गराउनुपर्ने उनको आग्रह छ। ‘कृषि, पर्यटन र ऊर्जाको हिसाबले जिल्लामा थुप्रै सम्भावना छन्’, न्यौपानेले भने, ‘सम्भावना पहिचान गरी लगानीलाई बढावा दिनुपर्छ।’ राज्यले लिएको एक स्थानीय तह, एक बैंकको नीतिलाई समेत छिट्टै कार्यान्वयन तहमा लैजानुपर्नेमा उनले जोड दिए।

प्युठान नगरपालिका क्षेत्रमा पर्ने जिल्लाको बाग्दुलादेखि दाखाक्वाडीसम्मको समतल झिमरुक फाँटले नै प्युठानको पहिचान बढाएको छ। यस क्षेत्रमा बर्सेनि जनघनत्व बढ्दै गएपछि हरेक क्षेत्रको नजर पर्ने गरेको हो। बैंक एवं वित्तीय संस्था, शैक्षिक संस्था, उद्योग व्यवसाय, स्वास्थ्य संस्थाहरू समेत यसै क्षेत्रमा बढी मात्रामा खुलेका छन्। बाग्दुला, दाखाक्वाडीमा समेत जिल्लाका स्थानीय बैंकहरूले शाखा विस्तार गरी सेवा दिइरहेका छन्। जिल्लाको पहिलो झिमरुक विकास बैंक (हाल ज्योति विकास बैंक) ले बाग्दुलामा मुख्य कार्यालय स्थापना गरेर गाउँगाउँबाट सेवा पुर्र्‍यइरहेको छ। गाउँमा खोलिएका बैंकहरूले रेमिट्यान्स, मोबाइल बैंक, कर्जालगायत सेवा घरदैलोमै पुर्‍याएका छन्। विजुवार, जुम्रीबजार र बाग्दुला क्षेत्रमा अन्य बैंकहरूको समेत नजर पर्नसक्ने देखिएको छ। अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.