May 7th, 2016

यस्तो छ निक्षेप बिमासम्बन्धि नेपाली प्रावधान

depositहालसम्म बैंक तथा वित्तीय संस्थामा रहेका करिब सवा १ करोड निक्षेपकर्ताको सवा ३ खर्ब रुपैयाँ बराबरको सुरक्षण (बिमा) भएको छ । नेपालमा निक्षेप सुरक्षणको काम निक्षेप तथा कर्जा सुरक्षण निगमले गर्दै आएको छ । यो एक प्रकारको निक्षेप बिमा हो । तर, अन्तर्राष्ट्रिय प्रचलनअनुसार भने यसलाई निक्षेप सुरक्षण नै भनिन्छ । २०३१ सालदेखि कर्जा सुरक्षण गर्दै आएको निगमले ०६७ देखि निक्षेपको पनि सुरक्षण गर्दै आएको हो ।

निगमले गत फागुनसम्म १ करोड ३० लाख निक्षेपकर्ताको ३ खर्ब १९ अर्ब रुपैयाँ सुरक्षण गरेको छ । निगमले १ सय ५९ वटा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये प्रतिव्यक्ति २ लाखका दरले सुरक्षण गरेको हो । 

निक्षेप खाता बढे
अहिले बैंक तथा वित्तीय संस्थामा १ करोड ४९ लाख ३४ हजार ६ सय निक्षेप खाता खुलेका छन् । गत वर्षको उक्त अवधिको तुलनामा खाता संख्या करिब १४ प्रतिशतले बढी हो । हाल सुरक्षण भएको निक्षेपमध्ये २९ वाणिज्य बैंक, ७३ विकास बैंक, ४५ वित्त कम्पनी र २ लघुवित्त बैंकको हो । गत फागुनसम्म निगमले पशुपालन कर्जामा ४२ करोड ४६ लाख, साना तथा मझौला (एसएमई) कर्जामा ५२ करोड ३४ लाख र लघु तथा विपन्न वर्ग कर्जामा २ अर्ब ४१ करोड ४१ लाख सुरक्षण भएको छ । 

यस्तो छ निक्षेप बिमा सम्बन्धि प्रावधान
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये एउटा संस्थामा एउटा व्यक्तिको २ लाख रुपैयाँसम्म सुरक्षण हुने कानुनी प्रावधान छ । सुरक्षणपछि कुनै कारणले बैंक तथा वित्तीय संस्था डुबेमा (खारेजी गएमा) त्यस संस्थामा निक्षेप गर्ने प्रत्येक व्यक्तिगत निक्षेपकर्ताले बढीमा २ लाख रुपैयाँ भुक्तानी पाउँछन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप रहे पनि संस्थागत निक्षेपकर्ताको निक्षेप पने सुरक्षण हुँदैन । निक्षेप सुरक्षण विनियमावली, २०६७’ अनुसार राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले निगमसँग सम्झौता गरी निक्षेपको सुरक्षण गराउन सक्ने छन् । निक्षेपको सुरक्षण गराएबापत सदस्य संस्थाले सुरक्षण हुने निक्षेपको ०.२ प्रतिशत प्रतिवर्ष अर्थात प्रतिसय रुपैयाँ निक्षेपमा वार्षिक बीस पैसाका दरले निगमलाई शुल्क बुझाउनुपर्छ । संस्थामा जोखिम उत्पन्न भएको अवस्थामा १० पैसा थप दस्तुर लाग्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले निगमसँग निक्षेप सुरक्षण सम्झौता गरेको मितिदेखि बचत तथा मुद्दती निक्षेप राख्ने सबै व्यक्तिगत निक्षेपकर्ताको २ लाखसम्मको निक्षेप स्वतः सुरक्षण हुन्छ ।
 
निगमको क्षमता र अन्तर्राष्ट्रिय मापदण्ड
अन्तर्राष्ट्रिय मापदण्डअनुसार निक्षेप सुरक्षण गर्ने संस्थाको वित्तीय स्रोत संसाधन क्षमता सुरक्षण रकमको कम्तीमा ५ प्रतिशत हुनुपर्छ । निक्षेप तथा कर्जा सुरक्षण निगमले त्यो मापदण्ड पूरा गर्न सकेको छैन । हाल निगमको साधन स्रोत व्यस्थापन क्षमता १ दशमलव २ प्रतिशत मात्र रहेको छ । हालको अवस्था (३ खर्ब १९ अर्ब निक्षेप सुरक्षण) मा अन्तरर्नष्ट्रिय मापदण्ड पूरा गर्न निगमले पुँजी वृद्धि गरी कम्तीमा १५ देखि १६ अर्ब रुपैयाँ र्पुयाउनुपर्ने हुन्छ । अहिले निगमसँग २ अर्ब चुक्ता पुँजी र १ अर्ब ५० करोड सञ्चित कोष गरी साढे ३ अर्बको पुँजी छ ।
 
हाल निगमले २ लाखसम्मको निक्षेप सुरक्षण व्यवस्था परिमार्जन गरी ३ लाख बनाउने तयारी गरेको छ । निगमले निक्षेप सुरक्षणको सीमा बढाउने र सुरक्षण शुल्क घटाउनेसम्बन्धी प्रस्ताव गत पुसमै अर्थ मन्त्रालय र राष्ट्र बैंकमा पठाएको छ । स्वीकृति भएलगत्तै कार्यान्वयनमा ल्याउँने निगमको योजना छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]