December 3rd, 2017

समता माइक्रोफाइनान्सको बोनस सेयर पारित, ५० प्रतिशत हकप्रद जारी गर्ने योजना

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमूख (मेयर) डा. कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथमा सभामार्फत आगामी एक कार्यकाल (चार बर्ष) का लागि यस साधारणसभाबाट ६ सदस्यीय सञ्चालक समितिको चयन समेत गरिएको संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्बुले जानकारी दिए । संचालक समितिमा संस्थापक समूहबाट डम्मरमणी थेवे लिम्बु, हरी बहादुर भण्डारी, विश्वराम खड्का र राजेश्वर प्रसाद आचार्य चयन भएका छन् भने सर्वसाधारण समूहबाट सुवास पौडेल (एन.आई.वि.एल. म्युचुअल फण्ड प्रतिनिधि) र भक्तराम खड्का चयन भएका छन् । 

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाको कुल सेयर पूँजी तीन करोड  ७९ लाख २० हजार रुपैयाँ रहेको छ । संस्थाले ग्रामिण समूदायका १६ हजार घरधुरीमा बचत, ऋण, विमा तथा विप्रेषण लगायत लघुवित्त सेवाहरु प्रदान गर्दै आएको छ । हालसम्म १७ करोड निक्षेप संकलन गरेको संस्थाको झन्डै ४५ करोड रुपैयाँ लगानीमा रहेको छ । 

संस्थाले करीब एक सय जना ब्यक्तिहरुलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्दै आ.ब. २०७३÷०७४ मा एक करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । “आर्थिक, सामाजिक समानताका लागि समता” भन्ने नाराका साथ सदस्यहरुलाई घरदैलो सेवा प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यका साथ हाल ५ जिल्लाका (बारा, रौतहट, सर्लाही, महोत्तरी र सिन्धुली) १४ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको र अरु थप ५ जिल्ला सहितगरी १० जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बंैकमा स्वीकृतीको प्रकृयामा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिए । निकट भविष्यमा संस्थाको सेयर पूँजी बृद्धि गर्नको लागि हाल विद्यमान पुँजीमा २ः१ (२ शेयर बराबर १) को अनुपातमा हकप्रद सेयर जारी गरी चुक्तापूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुर्याउने योजना समताको छ । भविष्यमा राष्ट्रिय स्तरको नमूना लघुवित्त वित्तीय संस्थाको रुपमा आफुलाई चिनाउने लक्ष्य रहेको सीईओ डा. घिमिरेले बताए ।

२०७० साल भाद्र ९ गते देखि कारोबार प्रारम्भ गरेको संस्था कार्यक्षेत्रको सीमितता र अनेकौँ चुनौतिहरुका बाबजुद पनि दोस्रो वर्षदेखि नै नाफामा गएको थियो । संस्थाले सदस्यहरुको आर्थिक उत्थानको निम्ती विभिन्न शाखाहरुमा लघुवित्त सेवाहरुका साथमा बाख्रापालन पेशामा आवद्ध तथा इच्छुक सदस्यहरुलाई लक्षित गरी ५०५ जना सदस्यहरुलाई उन्नत जातको बाख्रापालन सम्बन्धी तालिम तथा विभिन्न कृषिसम्बन्धी प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ । 

समता माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ दुई सय एक रुपैयाँ, सेयर पुँजी लाभांश ३१ दशमलव ५८ प्रतिशत र मूल्य आम्दानी अनुपात नौ दशमलव २१ प्रतिशत रहेको छ । दोस्रो बजारमा सेयर मुल्यको बढ्दो अवस्था तथा सस्थाले प्रदान गर्ने बोनस सेयर, हकप्रद सेयर तथा नगद लाभांसलाई विश्लेषण गर्दा स्थापनाको छोटो अवधिमा नै समताले राम्रो उपलब्धी हासिल गरेको देखिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]