November 23rd, 2017

दोहोरो अंकले परिसूचक बढ्दा दोब्बर भयो कारोबार

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । व्यापार बाहेक सबै उपसूचक उकालो लागेपछि नेप्से परिसूचक १३.०३ अंकले बढेर १४९३.२९ अंकमा पुगेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ४६.०३ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १०.७, २२.६५, २२.२, ९.५५, २६.३१, १५.५७, ४.९१ र २४.३९ अंकले बढेका छन् । व्यापार भने ३.३७ अंकले घटेको छ । 

कारोबार रकममा आकर्षक वृद्धि देखिएको छ । दिनभरिमा १६५ वटा कम्पनीको १३ लाख ९१ हजार आठ सय ५३ कित्ता सेयर पाँच हजार चार सय ८१ पटक खरिदविक्री हुँदा ६८ करोड ५७ लाख २८ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको छ । बुधबार ३४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

साना किसान विकास बैंकको मात्रै २१ करोडभन्दा बढीको प्रोमोटर सेयरको कारोबार भएको छ । बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, साना किसान विकास बैंक र सिटिजन्स बैंकको दुई करोडमाथिको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, गोर्खाज फाइनान्स प्रोमोटर, चिलिमे हाइड्रो लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

सिनर्जी पावर र मिथिला लघुवित्तका सेयरधनीले आठ प्रतिशत तथा नयाँ नेपाल लघुवित्त र हिमालयन पावर पार्टनरका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । देवः विकास बैंक, वरियन्टल होटल्स, मिर्मिरे माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र तिनाउ विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । गोर्खाज फाइनान्स, सानिमा माइ हाइड्रो, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ३.८७ प्रतिशतका दरले गुमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, किसान माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो, प्रुडेन्सियल इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]