August 27th, 2017

मनकामना माई सहकारीमा ठगी

कृष्ण न्यौपाने/ कीर्ते दस्तखत गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मनकामना माई सहकारीमा ठगी भएको छ । सहकारीको १ करोड ४० लाख रुपैयाँ ठगी गर्ने दम्पत्तिसहित सहकारीका व्यवस्थापक, लेखापाल र यती बैंकका सहायकसमेत पक्राउ परेका छन् । रकम ठगी गरेर फरार ३५ वर्षीय बबिता श्रेष्ठ र उनका श्रीमान कृष्ण श्रेष्ठ पक्राउ परेका हुन् । रकम ठगी गरेको निवेदन केन्द्रीय अनुसन्धान ब्युरोमा परेपछि प्रहरीले व्यापक खोजतलास पछि मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका– ६ धापासी बस्ने बबिता श्रेष्ठ र कृष्ण श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

प्रहरीले उनीहरूका साथबाट ४२ लाख ६१ हजार नगदसहित विभिन्न बैंकको चेक, आईप्याड, मोबाइल सेट, किर्ते दस्तखत गर्न नक्कल गरेको कपी, संस्थाको नक्कली स्ट्याम छाप, विभिन्न व्यक्तिको सक्कल नागरिकता, जग्गाधनी पुर्जासमेतका कागजात बरामद गरेको छ । श्रेष्ठलाई बैंकको चेकमा नक्कली कीर्ते दस्तखत गर्न तथा नक्कली स्ट्याम्प प्याड तयार गरी रकम ठगी गर्न उनकै श्रीमान कृष्ण श्रेष्ठले सघाउँदै आएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले ठगी गरेको रकमले खरिद गरेको मोटरसाइकल, सुनका गहनासमेत बरामद गरेको छ ।

यसरी भयो किर्ते दस्तखतसहित ठगी
मनकामना माई बचत तथा ऋण सहकारी संस्था लिमिटेड आँबुखैरेनीको यती डेभलपमेन्ट बैंक आबुखैरेनीमा खाता सञ्चालनमा छ । उक्त बैंकको चेक हराएको अवस्थामा संस्थाको अख्तियारी प्राप्त व्यक्ति अध्यक्ष र उपाध्यक्षको दस्तखत कीर्ते गरी संस्थाको रबर स्ट्याम्प छाप नक्कली तयार गरी फरक–फरक मितिमा रकम झिकिएको थियो ।

२०७३ माघ २ गते यती डेभलपमेण्ट बैंकको शाखा वीरगन्जबाट २० लाख, माघ १० गते सिभिल बैंक लिमिटेड इटहरीबाट क्लियरिङ मार्फत २० लाख र माघ १७ गते सिभिल बैंक पोखराबाट क्लियरिङमार्फत १ करोड गरी जम्मा १ करोड ४० लाख रुपैयाँ श्रेष्ठले निकालेकी थिइन् ।

बैंकिङ कसुरमा मुद्दा दर्ता
प्रहरीले बबिता श्रेष्ठलाई बैंकिङ कसुरमा मुद्दा दर्ता गरी सजायको मागदाबी लिई उच्च अदालत बुटवल रुपन्देहीमा पेस गरेको थियो । उनका श्रीमान कृष्ण श्रेष्ठलाई समेत सोही मुद्दामा थप अनुसन्धानका लागि उच्च अदालत बुटवलको वाणिज्य इजलासमा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहकारीका व्यवस्थापक, लेखापाल र बैंकका सहायक पक्राउ
प्रहरीले बैंकिङ कसुर मुद्दामा सहकारी संस्थाको व्यवस्थापक, लेखापाल तथा यती डेभलपमेन्ट बैंकका कर्मचारीले समेत आफ्नो जिम्मेवारी पूर्णरूपमा बहन नगरेको कारण बबिता श्रेष्ठ र कृष्ण श्रेष्ठले सहजै बैंकबाट ठगी गर्ने सफल भएको भन्दै व्यवस्थापक, लेखापाल र बैंकका सहायक प्रबन्धकलाई पक्राउ गरेको छ ।

मनकामना बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नारायणप्रसाद तिमिल्सिना र सोही संस्थाको लेखापाल केशव अधिकारी तथा यती बैंकका आँबुखैरेनी शाखाका वरिष्ठ सहायक प्रविन अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये नारायणप्रसाद तिमिल्सिनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । लेखापाल केशव अधिकारी र बैंकका वरिष्ठ सहायक प्रविन अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । कारोबार दैनिकमा प्रकाशित समाचार
 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]