Friday , November 24 2017

‘लघुवित्तले सुरु गरेको समृद्धिको बाटो’

August 20, 2017

प्रकाशराज शर्मा – 

लघुवित्तको इतिहास
वि.स १९९४ मा नेपालको पहिलो वाणिज्य बैंकको रुपमा नेपाल को स्थापना भएपछि नेपालमा आधुनिक बैंकिङ प्रणालीको सुरुवात भएको हो । लघुवित्तको औपचारिक शुरुवात भने वि.सं. २०३० तिर कृषि विकास बैंकले साना किसान विकास आयोजना सञ्चालन गरेसँगै भएको मनिन्छ । तर लघुवित्त एउटा आन्दोलनको रुपमा विकास र विस्तार हुनलाई २०४६ को प्रजातन्त्र पुनरवहाली कुर्नुपर्यो । २०४९ सालमा नेपाल राष्ट्र बैंकको सकृयता तथा नेपाल सरकार समेतको लगानीमा बंगलादेशको ग्रामिण बैंक वित्तीय प्रणाली अनुशरण गर्दे पूर्वाञ्चल ग्रामिण विकास बैंक र सुदूर पश्चिमाञ्चल ग्रामिण विकास बैंक स्थापना भए । त्यस लगत्तै गैरसरकारी संस्थाहरु निर्धन, सिएसडी, छिमेक लगायतका संस्थाहरुबाट लघुवित्त कार्यक्रम सञ्चालन सुरु भयो । यसैले आज लघुवित्त सेवाले वैकल्पिक वित्तीय सेवाको रुप ग्रहण गर्नुमा सरकारी तथा गैह्रसरकारी प्रयासको प्रतिफल मान्नुपर्ने हुन्छ ।

हुन त विगतमा नेपाल राष्ट्र बैंकको अगुवाईमा विभिन्न गरिबी लक्षित कर्जा कार्यक्रमहरु ः जस्तै, साना क्षेत्र कर्जा कार्यक्रम, प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम, सघन बैंकिंग कर्जा कार्यक्रम, साना तथा घरेलु उद्योग कर्जा कायक्रम, ग्रामीण महिलाहरुको लागि उत्पादनशील कर्जा कार्यक्रम जस्ता कार्यक्रमहरु पनि बैंक तथा वित्तीय संस्थामार्फत सञ्चालन नभएका होईनन्, तर यी कायक्रमहरुबाट आशातित सफलता हासिल नभएपछि त्यसबाट पाठ सिक्दै हालका लघुवित्त कार्यक्रमहरु सुरुवात भएको देखिन्छ । हालको लघुवित्त कर्जा कार्यक्रम विशेषतः बंगलादेशका प्रोफेसर मोहम्मद युनुसको ग्रामीण बैंक बंगलादेशको कार्यक्रमबाट प्रभावित भएर नेपालमा सुरु गरिएको हो ।

नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय डा. हरिहरदेव पन्तलाई जान्छ जो त्यसबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर हुनुहुन्थ्यो । सुरुवाती अवस्थामा लघुकर्जा भनेर कार्यक्रम सुरु गरिएको थियो । पछि, लघुवित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण बैंक र निजी क्षेत्रबाट गैह्रसरकारी संस्थाहरुबाट सुरुवात भएको लघुवित्त कार्यक्रम पछि लघुवित्त विकास बैंक प्रवर्धन गरि सोही बैंक मार्फत सुरु गर्न थालियो । त्यसबेला तत्कालिन विकास बैंक ऐन अन्तरगत लघुवित्त बैंकहरु संस्थापित भएकोमा हाल बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तरगत लघुवित्त विकास बैंकहरु सञ्चालित छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तरगत बैंककै रुपमा नामाकरण भई सञ्चालन भईरहेकोमा हाल सोही ऐन अन्तरगत नै बैंक भन्ने नाम राख्न नपाई  लघुवित्त वित्तीय संस्था भन्नुपर्ने भएको छ ।

विगत केही वर्षदेखि नेपालका वाणीज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले पनि लघुवित्त क्षेत्रमा आफनो कारोबार केन्द्रित गर्न सुरु गरेका छन् । शाखारहित बैंकिङ, ग्रामीण शाखा, र विभिन्न आधुनिक प्रविधिमार्फत उपरोक्त संस्थाहरु लघुवित्त क्षेत्रमा क्रियाशील छन् । विभिन्न सहकारी संस्थाहरु र वित्तीय गैह्रसरकारी संस्थाहरुबाट पनि नेपालमा लघुवित्त सेवाहरु प्रदान भईरहेका छन् । तर जे भएपनि घ वर्गका लघुवित्त वित्तीय संस्थाहरु नै यो क्षेत्रमा अग्रणी र नेतृत्वदायी भुमिकामा क्रियाशील छन् ।

लघुवित्तको वर्तमान अवस्था
लघुवित्तको वर्तमान अवस्थाबारे चर्चा गर्नुपर्दा २०४९ सालमा फर्कनुपर्ने हुन्छ । त्यसबेला सरकारी स्तरबाट र गैह्रसरकारी स्तरबाट लघुवित्त कार्यक्रम सुरु भएको थियो । पछि विश्वसनियता, संस्थागत स्थायित्व, निरन्तरता आदिको कारणबाट गैह्रसरकारी संस्थाभन्दा छुट्टै वित्तीय कम्पनीको आवश्यकता महशुस भई तत्कालीन अग्रणी गैह्रसरकारी संस्थाहरुको अगुवाई तथा प्रवद्र्धनमा लघुवित्त विकास बैंकहरु स्थापना भएका हुन् ।

अहिले ५३ वटा लघुवित्त बैंक÷वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यी भनेका नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गमा वर्गिकरण गरि ईजाजत दिएका बैंक÷वित्तीय संस्था हुन् । अन्य लघुवित्त व्यवसाय गर्ने थुप्रै गैरसकारी संस्थाहरु र सहकारी संस्थाहरु पनि प्नि छन् । त्यो बिषयमा अहिले कुरा नगरौँ । त्यसैले यहाँ जे जति तथ्यांक तथा सूचनाहरु उल्लेख गरिएका छन्, ती सबै घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको मात्र हो भन्ने बुझ्नुपर्छ । सजिलोको लागि यी संस्थाहरुलाई यहां लघुवित्त बैंक भनिएको छ । लघुवित्त बैंकहरुले आफ्ना १७३२ शाखा सञ्जालमार्फत अहिले करीब २२ लाख ५० हजार ग्राहक सदस्यहरुलाई सेवा प्रदान गरिरहेका छन् । यीमध्ये करीब १५ लाख ऋणी सदस्यहरु छन् । जसमा लगानीमा रहेको कर्जा एक खर्ब पाँच अर्ब जति छ । नेपालका क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले ११ लाख ८४ हजार वटा कर्जामा कुल रु. १९ खर्ब ४८ अर्ब लगानी गरेका छन् । यसरी हेर्दा बैंक तथा वित्तीय संस्थाको कुल लगानीको पाँच प्रतिशत भन्दा वढी लघुवित्त बैंकहरुबाट लगानी भएको देखिन्छ ।

साधारणतयाः बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीको मूख्य श्रोत ग्राहकहरुबाट परिचालन गरेको बचत निक्षेप हुन्छ । तर लघुवित्त बैंकहरुमा त्यस्तो हुँदैन कारण लघुवित्त बैंकहरुलाई सर्वसाधारणबाट वचत निक्षेप संकलन गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति दिईएको छैन । लघुवित्त बैंकहरुले आफनो समुह सदस्यहरुबाट मात्र वचत स्वीकार गर्न सक्छन्, जुन कर्जा लगानीको प्रयाप्त श्रोत हुन सक्दैन । औसतमा लघुवित्त बैंकहरुको कुल कर्जाको ३१ प्रतिशत जति समुह सदस्यहरुको बचत निक्षेपले धानेको छ भने ६० प्रतिशत जति अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको सापटीले धानेको अवस्था छ । २०७४ जेष्ठसम्म लघुवित्त बैंकहरुमा समुह सदस्यहरुको वचत निक्षेप ३२ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने यी लघुवित्त बैंकहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट विपन्न वर्ग कर्जा अन्तरगत ६३ अर्ब ४० करोड रुपैयाँ कर्जा सापटी लिएका छन् । लघुवित्त बैंकहरुको सेयरमा  निजी क्षेत्रको उल्लेख्य लगानी भएको छ, जुन २०७४ जेष्ठ मसान्तसम्म सात अर्ब ५२ करोड पुगेको छ । यसरी हेर्दा लघुवित्त बैंकहरुको कारोबार समष्टिगत बैंकिङ परिदृष्यमा पनि अब त्यति सानो (लघु) देखिँदैन ।

कर्जा गुणस्तरको हिसावले पनि लघुवित्त बैंकहरुको कर्जा गुणस्तरीय छ । २०४९ साल देखिको विशेषतः विना धितो कर्जा कारोवार गर्दै आईरहेका लघुवित्त बैंकहरुका निष्कृय कर्जा ०.८ प्रतिशत मात्र छ, जवकि पर्याप्त धितो लिई सुरक्षित किसीमले लगानी गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा २ प्रतिशत जति छ ।

नेपालको लघुवित्त क्षेत्रमा नयाँ प्रयोग
नेपालको लघुवित्त क्षेत्रमा लघुवित्त बैंकहरुले विभिन्न नयाँ प्रयोगहरु पनि गरेका छन् । कतिपय लघुवित्त बैंकहरुले मोवाईल फोन, पीओएस डिभाइस आदि प्रयोग गरि लघुवित्तमा डिजिटल प्रविधिको सफल सुरुवात गरिसकेका छन् । उपलव्ध सूचना प्रविधिकिो समुचित प्रयोग गर्दै आफ्नो व्यवस्थापन सूचना प्रणालीलाई चुस्त दुरुस्त राख्न सेन्ट्रलाइज्ड वेभ बेष्ड सिस्टम प्रयोगमा ल्यएका छन् । अहिलेपनि लघुवित्त बैंकहरुको लक्षित वर्ग भन्दा माथि तर अन्य बैंक तथा वित्तीय संस्थाहरुको सेवाबाट वञ्चित वर्ग प्रशस्तै छ । त्यो वर्गलाई पनि उत्पादनशील कार्यमा संलग्न गराउन लघुवित्त बैंकका शाखा सञ्जालहरुले मध्यस्तकर्ताको भुमिका निभाएका छन् ।  विभिन्न वाणिज्य बैंकहरुले सुरु गरेको शाखारहित बैंकिङमा पनि लघुवित्त बैंकहरु प्रतिनिधि भई वाणिज्य बैंक नपुगेको स्थानमा पनि वाणिज्य बैंकको सेवा पुर्याउन सफल भएका छन् । यो सूचना प्रविधिको युग हो त्यसैले सूचना प्रविधीको उपयुक्त प्रयोग गर्दै नेपालको लघुवित्तलाई अर्को उचाईमा लैजानु पर्ने आजको आवश्यकता छ जुन दिशातर्फ नेपलको लघुवित्त बैंकहरु प्रयासरत छन् ।

देश विकासमा लघुवित्तको योगदान
विपन्न वर्गलाई वित्तीय सेवा उपलव्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाई गरिबी कम गर्ने तथा दिगो रुपमा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले लघुवित्त बैंकहरु स्थापना भएका हुन् । उक्त उद्देश्यमा नेपालका लघुवित्त बैंकहरु सफल भएको मान्नुपर्छ । राजनैतिक द्वन्द, अस्थिरता, प्राकृतिक प्रकोप, नाकाबन्दी आदिको अवस्थामा पनि नेपालको गरिबी २१ प्रतिशतमा झर्नुमा लघुवित्तको पनि योगदान छ ।

गरिबहरुलाई लघुवित्तले चार प्रकारले सहयोग प्रदान गर्दै आएको छ । पहिलो तथा महत्वपूर्ण सहयोग भनेको विपन्न वर्गलाई आयआर्जन गर्न वित्तयि सहयोग सहयोग उपलव्ध गराउँछ । दोश्रो सम्पत्ती श्रीजना गर्न मद्दत गर्छ । विपन्न वर्ग सधैभरि विभिन्न खाले जोखीमबाट घेरीएका हुन्छन त्यस्तो अवस्थाबाट वच्न वचत तथा लघुविमा सेवा बाट सहयोग पुर्याउँछ । त्यस्तै महिलाको सशक्तिकरण पनि लघुवित्तको महत्वपूर्ण योगदान रहिआएको छ । लघुवित्तले गर्ने वित्तीय मध्यस्तकर्ता बाहेक सामाजिक मध्यस्तकर्ता सेवाले विपन्न वर्गको सामाजिक पुँजी निर्माणमा समेत सहयोग पुर्याएको छ । लघुवित्तले महिलालाई आत्मविश्वासीे बनाएको छ ।

वित्तीय पहुँच अभिवृद्धिमा लघुवित्तको भूमिका
नेपालको वित्तीय पहुँच अभिवृद्धिमा पनि लघुवित्तको महत्वपूर्ण भूमिका छ । औपचारिक तथ्यांकअनुसार नेपालको ६१ प्रतिशत जनता वित्तीय पहुँचमा छन् । त्यसमा क, ख र ग वर्गका वित्तीय संस्थाका ४० प्रतिशत र बाँकी २१ प्रतिशत लघुवित्त र सहकारीका हुन् । यसरी हेर्दा वाणिज्य, विकास र फाइनान्स कम्पनी गरी जम्मा ४० प्रतिशत मात्रै र लघुवित्त तथा सहकारी मात्रैले २१ प्रतिशत वित्तीय पहुँचमा योगदान पुर्याएका छन् । वित्तीय पहुँच अभिवृद्धिमा लघुवित्तको योगदान बिशेष छ । समावेशी वित्तीय प्रणाली निर्माण गर्नमा पनि लघुवित्त संस्थाहरु लागि परेका छन् । बैंकिङ सेवा लिन टाढाको बाटो जानुपर्ने, एक रात उतै बस्नुपर्ने समस्या हामीले हटाएको छौं । ७५ वटै जिल्लाबाट हामीले १७ सय भन्दा बढी शाखा मार्फत यस्तो समस्याको समाधान गरेका छौं ।

अर्को झन् महत्वपूर्ण कुरा, बैंकिङ बानीको विकास गर्न लघुवित्तको भूमिका बिशेष छ । अहिले लघुवित्तकै कारण अन्य बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा पनि घटेको छ यसमा पनि लघुवित्तको योगदान छ । कर्जा अनुशासन लघुवित्तको मुल मर्म हो । त्यो अनुशासन विस्तारै नेपाली समाजमा फैलिँदै छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तिर्नुपर्छ भन्ने सोचाई विकसित भएको छ । कर्जा तिर्नुपर्छ भनेर नेपालमा लघुवित्तले सिकाएका हुन् । कर्जा लिन लाग्ने अदृष्य खर्चहरु कम गर्न वा निमट्यान्न पार्न लघुवित्तले भुमिका खेलेका छन् । पहिले मलाई यति कर्जा मिलाई दिए वापत यति प्रतिशत कमिशन दिन्छु भन्ने चलन थियो । त्यो अहिले लघुवित्तकै कारण अन्त्य भएको छ । लघुवित्तले घर दैलोमा सेवा दिएका छन् ।

लघुवित्तका बाधा अवरोधहरु
नेपालको सन्दर्भमा लघुवित्त सञ्चालन गर्नु भनेको एकदमै गाह्रो काम थियो । अहिले पनि धेरै वाधा अवरोधहरु छन् । नेपालमा वित्तीय साक्षरताको कमी छ । वित्तीय साक्षरताको कमीका कारण धेरैलाई बुझाउन र निजहरुलाई कर्जा लिई आय आर्जन कार्यमा समावेश गराउन गाह्रो हुन्छ । सानो सानो कर्जाहरु धेरै मानिसहरुलाई प्रवाह गर्नुपर्दा लघुवित्तको सञ्चालन खर्च बढी छ । सञ्चालन खर्च बढी भएपछि स्वभावतः कर्जाको व्याज बढी हुन्छ नै । तर वाणिज्य बैंकको तुलनामा बढी व्याज भयो भन्ने गुनासो सुनिन्छ । यसले नकारात्मक प्रचारवाजी हु्ने गरेको छ । व्याजको कुरा गर्दा, कर्जा लिँदा व्याज मात्रै लाग्दैन, त्यसमा अन्य कर्जा लिँदा लाग्ने खर्च जस्तै धितो मूल्यांकन खर्च, धितो निरीक्षण खर्च, डकुमेन्टेसन खर्च, कमिटमेन्ट खर्च, प्रिपेमेन्ट खर्च आदी खर्चहरु लघुवित्तमा छन् कि छैनन भन्ने पनि विचार गर्नुपर्छ । यदि लघुवित्तको घरदैलोको बैंकिङ सेवा, उच्च प्रशासनिक लागत र अन्य अदृष्य खर्चहरु नलाग्ने ख्याल गर्ने हो भने लघुवित्तको व्याज महँगो छैन ।   

अहिलेको जमाना भनेको डिजिटल प्रविधिको हो । तर अहिले नेपालमा सबै ठाउँमा टेलिफोन, इन्टरनेट, वत्ती विजुली, बाटो पुगेको छैन यसले गर्दा आधुनिक प्रविधि प्रयोग गरेर खर्च कम गराउन बाधा देखिएको छ ।
अहिले लघुवित्त सञ्चालन गर्न सबैभन्दा ठुलो वाधा भनेको लगानीको श्रोतको सुनिश्चतता नहुनु ने हो । लघुवित्त बैंकहरु कर्जा लगानीको लागि आवश्यक वित्तीय श्रोतको लागि परनिर्भर छन । नेपाल राष्ट्रको विपन्न वर्ग नीतिका कारण बैंक तथा वित्तीय संस्थाबाट केही रकम त उपलब्ध छ । तर बढ्दो कारोबार तथा लघुवित्त बैंकहरको संख्यात्मक वृद्धिको तुलनामा यो श्रोत अब पर्याप्त छैन । देशको समग्र आर्थिक विकासमा राजनीतिक  अस्थिरताले वाधा पुर्याएको छ । त्यसमा लघुवित्त क्षेत्र पनि अछुतो छैन ।  

लघुवित्तका चुनौती
नेपालका हिमाल, पहाड, तराई सबैतिर गरिबीको मात्रा उच्च छ । नेपालको दुर्गम जहाँ पुग्न समेत कठिन छ त्यस्तो ठाउँमा लघुवित्त सेवा लैजान चुनौती छ । श्रोत जुटाउन पनि समस्या छ । डिजिटल फाइनान्समा लैजान पनि चुनौती छ । गरिबहरुको लागि वित्तीय सेवाबाहेक गैरवित्तीय सेवाहरु पनि आवश्यक हुन्छ, जुन लघुवित्त बैंकहरुबाट उपलब्ध गराउन कठिन छ । त्यो कसरी उपलब्ध गराई विपन्न वर्गको समग्र उन्नति प्रगति गराउने भन्ने चुनौति पनि त्यतिकै छ ।

लघुवित्त कसरी अगाडी बढ्ने ?
लघुवित्तलाई श्रोतको आवश्यकता छ, त्यो श्रोत नभए अगाडी बढ्न गाह्रो हुन्छ । जस्तो एउटा फ्याक्ट्रीलाई वस्तु उत्पादन गर्न एउटा कच्चा पदार्थको आवश्यकता पर्छ, त्यस्तै लघुवित्तको कच्चा पदार्थ भनेको पूँजी हो । लघुवित्तको पूँजी भनेको अहिले सेयर होल्डरको रकम, ग्राहकहरुले बचत गरेको रुपैयाँ, रिर्जर्भ र सापटी हो । अहिलेको राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कर्जा सापटको पाँच प्रतिशतसम्म लघुवित्त संस्था वा प्रत्यक्ष रुपमा विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने हुन्छ । त्यहि नै लघुवित्त संस्थाको सापटीको श्रोत हो । अहिले बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा ५ प्रतिशत लगानी गर्नुपर्नेमा ५ प्रतिशतभन्दा बढी लगानी भइरहेको अवस्था छ । त्यसैले वढ्दो कारोवारलाई श्रोतको अभाव देखिन्छ । यो भनेको कारोवारमा संकुचन आउन सक्ने अवस्था हो, जस्ले गर्दा वित्तीय पहुंचमा असर पर्न सक्ने देखिन्छ । अतः लघुवित्त बैंकहरुले वित्तीय श्रोत परिचालन गर्ने सम्वन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । बंगलादेशमा ग्रामीण बैंक जस्तो पव्लिक डिपोजिट खुल्ला गर्ने एउटा विकल्प हुन सक्छ । यसको लागि निश्चित शर्तहरु तोकि निश्चित सिमासम्म मात्र पनि पव्लिक डिपोजिट दिन सकिन्छ । कि त पव्लिक डिपोजिट दिनुपर्छ कि कतैबाट निश्चित श्रोत जुटाउनुपर्छ । त्यो वाहेक विकल्प छैन ।

राष्ट्र बैंकको प्रवद्र्धनात्मक नीतिले गर्दा नै नेपालमा लघुवित्तको विकास र विस्तार हुन सकेको कुरामा कुनै शंका छैन । नेपाल राष्ट्र बैंकले यो क्षेत्रलाई सधै संरक्षण दिई रहनुपर्छ भन्ने पनि होइन । तर नेपाल राष्ट्र बैंकको अभिभावकत्व अहिले पनि त्यतिकै आवश्यक छ ।

लघुवित्तको व्याजदर सम्वन्धमा पनि प्रष्ट नीति हुनु आवश्यक छ । अहिले लघुवित्त बैंकहरुले ७ प्रतिशत स्प्रेड रेटमा ४ प्रतिशतसम्म प्रशासनिक खर्च जोडेर व्याजदर कायम गर्न सक्ने एकातिर व्यवस्था छ भने अर्कोतिर जे भएतापनि व्याजदर १८ प्रतिशत भन्दा वढी हुन नहुने व्यवस्था छ । वाणिज्य बैंकहरुले लघुवित्त बैंकहरुलाई ४, ५ प्रतिशत व्याजदर लगाईरहेको बेलामा लगाईएको १८ प्रतिशतको व्याजदर क्याप अहिले विपन्न वर्ग कर्जाको व्याजदर १२, १३ प्रतिशत पुगेको अवस्थामा कसरी सान्दर्भिक रहन सक्छ ? अतः क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जस्तै घ वर्गका लघुवित्त बैंकहरुलाई पनि एउटै मापदण्डको आधारमा व्याजदर निर्देशित गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ ।

अब लघुवित्त बैंकहरु डिजिटल फाइनान्सिङ÷फिनटेकमा जानै पर्छ । हाम्रा ग्राहकहरुले पनि हामीलाई एटिएम कार्ड चाहिन्छ भन्ने बेला आइसक्यो । यसका लागि लघुवित्त तयार हुनुपर्छ । सञ्चालन खर्च घटाउन पनि यसको आवश्यकता छ ।

पहिले हामीले आत्मनिर्भर हुनुपर्छ भन्यौँ, स्वसक्षमता÷वित्तीय सक्षमतामा जोड दियौं, वकालत गर्यौँ । त्यसमा हामी सफल पनि भयौँ । यस्ले गर्दा कार्यक्रम विस्तार हुन सक्यो, निजी पुँजी यो क्षेत्रमा आकर्षित भयो । अबको समय भनेको उत्तरदायी वित्तीय सेवा प्रदान गर्ने समय हो । यस्को लागि स्मार्ट क्याम्पेनले प्रतिपादन गरेको ग्राहक संरक्षण सिद्धान्त पूर्ण पालना गरि लघुवित्त सेवा सञ्चालन गर्नुपर्दछ ।

लघुवित्त सुरुमा जिविकोपार्जन व्यवसायलाई लक्षित गरि सुरु भएको हो । तर अब हामीले लघुउद्यम व्यवसाय वढाउन लघुवित्त सेवा प्रयोग गर्नुपर्छ । कुल ग्राहस्थ उत्पादनमा यसको योगदान हुनुपर्छ । यसको लागि अब साना तथा मध्यम परियोजना, व्यवसायिक कृषि आदिलाई लक्षित गरि कर्जा लगानी गर्नुपर्छ । (लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शर्मासँग बैंकिङ खबर डट कमका रोयल आचार्यले गरेको कुराकानीमा आधारित)

 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *