June 27th, 2017

बीमा ऐनमा समेटिनैपर्ने सात महत्वपूर्ण विषयहरु

महेन्द्रबहादुर श्रेष्ठ । बीमामा जोखीम शब्दले निकै महत्त्व राख्छ । जोखीम अर्थात् मानव जीवनमा अप्रत्याशित घटना हुने गर्छ । यस्ता अप्रत्याशित हुने घटना, जस्तै दुर्घटना, आगलागी, दैविक प्रकोप, चोरी, दङ्गा आदि । यी घटनाले आर्थिक हानिनोक्सानी हुन्छ । यस्ता घटना मानव जीवनमा कहिले घट्छ, कसरी घट्छ यसबाट के कति क्षति हुन्छ भन्ने निश्चित हुँदैन । यही अनिश्चिततालाई नै बीमामा जोखीम भन्ने गरिन्छ । यी जोखीम अर्थात् यस्ता अप्रत्याशित घटनाबाट हुने आर्थिक क्षतिको राहत दिन बीमाको उत्पत्ति भएको मानिन्छ । बीमामा सानो निश्चित रकमको बीमाशुल्क अर्थात् प्रिमियम तिरेबापत अप्रत्याशित हुने ठूलो आर्थिक क्षतिका विरुद्ध सुरक्षा प्रदान गरिन्छ ।

बीमाभित्र निश्चित नियम हुन्छन् । नेपालको सन्दर्भमा बीमा समितिबाट इजाजत लिई बीमा व्यवसाय गर्ने दुई प्रकार कम्पनी रहेको पाइन्छ । यसमा जीवन बीमा तथा निर्जीवन बीमा कम्पनी छन् । यी बीमा कम्पनीले व्यवसायसँग सम्बन्धित कानूनका रूपमा बीमा ऐन २०४९, बीमा नियमावली २०४९ र करार ऐन २०५६ रहेको छ भने शेयरधनी लगानीकर्ता तथा संस्थागत दर्तासँग सम्बन्धित कानूनमा कम्पनी ऐन २०६३ तथा धितोपत्रसम्बन्धी ऐन २०६३ रहेको छ । बीमा गर्नेको सङ्ख्या दैनिक बढ्दो छ भने बीमा दाबीलगायत बीमा विवादसम्बन्धी समाधान गर्न नेपाली कानूनी व्यवस्था कति हदसम्म पर्याप्त छ भन्ने अध्ययन हुनु जरुरी छ । बीमा एक प्रकारको करार भएकाले यहाँ एक पक्ष बीमा कम्पनीले बीमा गर्ने अर्को पक्ष बीमितसँग बीमा शुल्क लिएबापत आर्थिक वा भौतिक क्षति भएको अवस्थामा बीमालेख अर्थात् बीमा करारको शर्तमा उल्लिखित दाबी भुक्तानी दिने भन्ने करार गरेको हुन्छ । शर्त पालना भए नभएको विषय करार ऐन २०५६ अन्तर्गत पर्छ भने बीमालेख, बीमा गर्नेदेखि दाबी भुक्तानीको विषय बीमा ऐन तथा नियमावलीअन्तर्गत पर्न आउँछ । 

बीमासम्बन्धी विषयमा कतिपय कुरा विशुद्ध प्राविधिक विषय भएको हुँदा ऐनमा नै ती व्यवस्था स्पष्ट पार्न सकेमा बीमामा हुने सम्भावित विवाद समाधान गर्न सरलीकरण हुने देखिन्छ । नेपालमा बैङ्किङ क्षेत्रमा अन्तरराष्ट्रिय मान्यताप्राप्त सिद्धान्तलाई बैङ्क तथा वित्तीय संस्था २०७३ मा समेटिएको पाइन्छ, जसका कारण बैङ्किङ विवाद समाधान गर्न सरलीकरण बनाएको छ र सर्वसाधारणले बैङ्किङ क्षेत्रमा प्रयोग हुने प्राविधिक शब्द बुझ्न सक्ने बनाइको छ । तर, बीमाक्षेत्रमा बीमाका अन्तरराष्ट्रिय मान्यताप्राप्त सिद्धान्तलाई बीमा ऐनमा समेट्न नसकेकाले बीमा विवाद समाधान गर्न र बीमाक्षेत्रमा प्रयोग हुने शब्दबारे सर्वसाधारण अनविज्ञ रहेका छन् । सो सिद्धान्त ऐनमा नै स्पष्ट हुनुपर्ने देखिन्छ । त्यसमा समेट्नुपर्ने केही सिद्धान्त :

क) अट्मष्ट गुड फेथ 
बीमा एक प्रकारको करार भएकाले यहाँ बीमा गर्ने कम्पनीका रूपमा बीमक र बीमा गर्ने व्यक्ति वा संस्था बीमितबीच करार हुन्छ, जसमा बीमा कम्पनीले बीमा शुल्क लिई बीमालेख (करारपत्र) जारी गर्छ । बीमा गर्नुपूर्व बीमा गर्ने बीमा कम्पनी र बीमा गर्नेले बीमासँग सम्बन्धित महत्वपूर्ण विषयवस्तुबारे सत्यतथ्य इमानदारीका साथ एकआपसमा दिनुपर्ने सिद्धान्तलाई अट्मष्ट गुड फेथ भनिन्छ । बीमा कम्पनीले बीमा गर्नुपूर्व बीमित (बीमा गर्ने)सँग बीमा गर्ने विषयवस्तुबारे विभिन्न प्रश्नावली बनाएको हुन्छ । सो प्रश्नावलीमा बीमितले सत्यतथ्य लुकाउनु हुँदैन । यदि सत्यतथ्य लुकाएको कुरा पछि पत्ता लागेमा बीमा कम्पनीले बीमा दाबी भुक्तानी गर्न अस्वीकार गर्न सक्छ । उदाहरणका लागि कुनै व्यक्तिले मेडिकल इन्स्योरेन्स गरेको अवस्थामा बीमा कम्पनीलाई ऊसँग भएका रोग जस्तै ब्लड प्रेशर, सुगर, मुटुको रोग, टीबी आदि रोग छ भने सो रोगबारे जानकारी गराउनुपर्छ । यदि यी खुलाउनुपर्ने विवरण नखुलाएको र पछि पत्ता लागेमा अट्मष्ट गुड फेथको आधारमा बीमा कम्पनीले बीमा दाबी अस्वीकार गर्न सक्छ ।

ख) इन्स्योरेबल इण्ट्रेष्ट 
बीमा गर्दा बीमा गर्ने र बीमाका विषयवस्तुमा इन्स्योरेबल इण्ट्रेष्ट हुनुपर्छ । अन्यथा बीमा गर्न हक हुँदैन भन्ने सिद्धान्त छ । इन्स्योरेबल इण्ट्रेष्ट भन्नाले बीमा गर्ने वस्तुमाथि आर्थिक स्वार्थ गाँसिएको भन्ने बुझिन्छ । बीमा गर्ने विषयवस्तु र बीमा गर्ने व्यक्तिको सम्बन्ध विषयवस्तुमाथि आर्थिक स्वार्थ लुकेको हुनुपर्छ । बीमा गर्ने विषयवस्तु सुरक्षित भएमा उसलाई आर्थिक लाभ हुने र क्षति भएमा नोक्सानी हुनुपर्छ । कुनै बैङ्कले ऋणीको घर धितो राखी कर्जा दिन्छ भने सो धितो सम्पत्तिमा बैङ्कको इन्स्योरेबल इण्ट्रेष्ट अर्थात् आर्थिक स्वार्थ हुने हुँदा सो धितोको मालिक बैङ्क नभए तापनि पनि बैङ्कले बीमा गर्न सक्छ किनभने सो सम्पत्ति नोक्सान भएमा बैङ्कलाई नोक्सानी हुने हुन्छ । त्यस्तै कुनै व्यक्तिले आफ्नो जीवन बीमा गर्न सक्छ भने लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको बीमा गर्न सक्छ । यी व्यक्तिबीच पनि इन्स्योरेबल इण्ट्रेष्ट हुने हुन्छ ।

ग) इण्डेम्निटी 
इण्डेम्निटी अर्थात् नोक्सानको क्षतिपूर्ति दिने वा संरक्षण गर्ने भन्ने बुझिन्छ । बीमा नोक्सानको क्षतिपूर्ति दिने वा संरक्षण गर्नेे करार हो । बीमा कम्पनी र बीमा गर्ने पक्षबीच करार हुन्छ, जसमा बीमा कम्पनीले बीमितसँग निश्चित बीमा शुल्क लिई भविष्यमा कुनै घटना भएमा सो घटनाबाट भएको क्षतिको उत्तरदायित्व ग्रहण गरी क्षतिपूर्ति दिने प्रतिज्ञा गरेको हुन्छ । जीवन बीमा र व्यक्तिगत दुर्घटना बीमाबाहेक प्रत्येक बीमालाई क्षतिपूर्ति करार भनिन्छ ।

घ) सब्रोगेशन 
यो बीमा कम्पनीलाई प्राप्त हुने अधिकार हो । क्षति भएको सामानको बीमा दाबी भुक्तानी भएपछि क्षति भएको सामानमा बीमा कम्पनीलाई प्राप्त हुने हक अधिकारलाई सब्रोगेशन भनिन्छ । कुनै व्यक्तिले पानीजहाजको बीमा गरेकामा सो जहाज हराएमा वा दुर्घटनाबाट समुद्रमा डुबेर बेपत्ता भई जहाजको क्षतिपूर्ति दिएमा सो क्षति भएको जहाजमा बीमा गर्ने बीमितको कुनै हक हुँदैन । सो हक बीमा कम्पनीमा सर्छ । जहाज फेला परेमा सो जहाज विक्री गर्ने वा आफैले राख्ने हक र अधिकार बीमा कम्पनीलाई प्राप्त हुने अधिकारलाई नै सब्रोगेशन भनिन्छ । त्यस्तै कुनै व्यक्तिले कुनै कारखानाको मेशिन बीमा गरेकामा सो मेशिन कुनै दुर्घटना वा काम नलाग्ने भई नयाँ राख्नुपर्ने भयो भने बीमा कम्पनीले क्षतिबापतको रकम भुक्तानी गरेपछि सो मेशिन विक्री वा आफ्नो नाममा राख्न, कब्जा गर्ने अधिकार बीमा कम्पनीलाई प्राप्त हुने अधिकार सब्रोगेशनभित्र पर्न आउँछ ।

ङ) कण्ट्रिब्युशन 
कुनै व्यक्तिले एउटै सम्पत्ति एकभन्दा बढी कम्पनीमा बीमा गर्न सक्छ । यसरी दोहोरो बीमा गरेको वस्तु क्षति भएमा बीमा कम्पनीहरूसँग वास्तविक क्षतिमात्र दाबी गर्न सक्छ । प्रत्येक बीमा कम्पनीले पनि वास्तविक क्षतिमात्र दामासाही हिसाबमा भुक्तानी गर्छ । बीमा गरेको कम्पनीमध्ये कुनै कम्पनीले क्षतिबापतको सम्पूर्ण रकम भुक्तानी भएपछि अर्को कम्पनीमा दाबी नपाउने व्यवस्थाभित्र कण्ट्रिब्युशनको सिद्धान्त पर्न आउँछ ।

च) मिटिगेशन अफ लस 
बीमा गरेको सम्पत्तिलाई धेरै नोक्सानी हुनबाट जोगाउनु पर्ने सिद्धान्तलाई मिटिगेशन अफ लस भनिन्छ । कुनै व्यक्तिले आफ्नो गोदाममा रहेको कपडाको बीमा गर्छ र सो गोदाममा भएको कपडामा आगलागी भएको अवस्थामा बीमा गर्ने व्यक्तिले सामानलाई आगोबाट जोगाउने दायित्व हुन्छ । बीमा गर्ने व्यक्तिले सामान जोगाउने कार्य नगरी आफ्नो दायित्व निर्वाह नगरेको ठहरेमा बीमा कम्पनीले क्षतिको दाबी भुक्तानी दिन अस्वीकार गर्न सक्छ । यस सिद्धान्तले बीमा गर्नेले नोक्सानी कम गर्ने कदम चाल्नुपर्छ भन्ने मान्यता रहेको हुन्छ ।

छ) कोजा प्रोक्जिमा 
बीमा गर्दा यो कारणबाट नोक्सानी भएमा बीमा कम्पनीले क्षति दिने भनी बीमा गरेकामा सोबाहेक अन्य कारणबाट नोक्सानी भएमा बीमा दाबी भुक्तानी हुँदैन भन्ने सिद्धान्त रहेको छ । कुनै सम्पत्ति आगलागीका कारण नोक्सानी भएमा क्षति दिने बीमा गरेको आँधीबेहरीका कारण सम्पत्ति नोक्सानी भएमा नोक्सानीको कारण फरक भएका आधारमा कोजा प्रोक्जिमाका आधारमा बीमा कम्पनीले बीमा दाबी अस्वीकार गर्न सक्छ ।

यी बीमाक्षेत्रमा प्रयोग हुने धेरै सिद्धान्त बीमा ऐनमा समेटिनुपर्ने देखिएको छ, जसबाट सर्वसाधारणलाई पनि बीमासम्बन्धी प्राविधिक कुरा बुझ्न सहयोग मिल्न सकोस् । नेपालमा बैङ्किङ क्षेत्रमा अन्तरराष्ट्रिय मान्यताप्राप्त सिद्धान्तलाई अनुसरण गर्न कृषि विकास बैङ्क ऐन, २०२४, वित्त कम्पनी ऐन २०४२, नेपाल औद्योगिक विकास निगम ऐन २०४६ र विकास बैङ्क ऐन २०५२, वाणिज्य बैङ्क ऐन २०३१ खारेज गरी बैङ्क तथा वित्तीय संस्था २०६३ ल्याएको पाइन्छ भने हाल सो ऐन पनि खारेज गरी बैङ्क तथा वित्तीय संस्था २०७३, ल्याएको पाइन्छ । तर, बीमाबजार विस्तार हुँदै गएको सन्दर्भमा बीमा ऐन २०४९, परिमार्जन हुन सकेको देखिँदैन । साथै बीमासँग सम्बन्धित करार ऐन २०५६ को दफा २२ मा उल्लिखित इण्डेम्निटीसम्बन्धी व्यवस्था बीमासँग सम्बन्धित अन्तरराष्ट्रिय मान्यताप्राप्त सिद्धान्तविपरीत रहेको छ, सो विषयमा पनि अध्ययन हुनुपर्छ । लेखक अधिवक्ता हुन् । (आर्थिक अभियानबाट साभार गरिएको)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]