May 22nd, 2017

जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै सिद्धार्थ बैंकको हकप्रद भर्न पाउने

सिद्धार्थ बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै सिद्धार्थ बैंकले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डबाट बैंकले सोमबार (जेठ ७ गते) हकप्रद निष्काशनको अनुमति पाएको थियो ।

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँ सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल सिद्धार्थ बैंकको चुक्तापुँजी पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार पाँच सय रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार तीन सय रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]