May 22nd, 2017

कृषिमा बैंकहरूको लगानी पाँच प्रतिशत मात्र  

यादव हुमागाईं । काठमाडौंः कृषिमा ऋण लगानीमा बाध्यकारी व्यवस्था र ब्याज अनुदान दिए पनि बैंक तथा वित्तीय संस्थाको लगानी न्यून छ । ०७३ साल चैतसम्ममा बैंक तथा वित्तीय संस्थाले १९ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेकोमा त्यसको करिब ५ प्रतिशतमात्र कृषि क्षेत्रमा लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले कृषिमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई कुल लगानीको २० प्रतिशत उत्पादनशील क्षेत्रमा गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । त्यसमध्ये १५ प्रतिशत हाइड्रो र कृषिमा गर्नुपर्ने व्यवस्था छ ।

यसअघि १२ प्रतिशत रहेकोमा चालू आवको मौद्रिक नीतिमार्फत यसको सीमा बढाएको हो । लगानीको सीमा वृद्धि गरे पनि बैंकहरूले तोकिएको क्षेत्रमा लगानी मापदण्डअनुसार विस्तार गर्न सकेका छैनन् । ०७३ चैतसम्म तोकिएको उत्पादनशील क्षेत्रमा वाणिज्य बैंकहरूको लगानी १७.१ प्रतिशत छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ कृषिमा उल्लेख्य लगानी नदेखिए पनि क्रमशः वृद्धि भइरहेको बताउँछन् । “कुल कर्जामा तुलना गर्दा न्यून देखिन्छ, तर क्रमश बढिहरहेको छ,” उनले भने, “तोकिएको न्यूनतम लगानी नगर्ने बैंकहरूलाई कारबाही हुन्छ ।” उत्पादनशील क्षेत्रमा लगानी बढाउनैका लागि राष्ट्र बैंकले बाध्यकारी व्यवस्था गरेको उनको भनाइ छ ।

केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था भए पनि कृषि क्षेत्र व्यावसायिक हुन नसक्दा लगानी गर्न ग्राहो भएको बैंकरहरू बताउँछन् । “राष्ट्र बैंकले फलानो क्षेत्रमा लगानी गर भनेर मात्र हुँदैन, त्यहाँ कर्जा माग हुने गरी व्यावसायिकताको विकास हुनुपर्छ,” हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने । उत्पादनमूलक क्षेत्रको दायरासमेत फराकिलो बनाउनुपर्ने उनको भनाइ छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार एक वर्षको अवधिमा कृषि क्षेत्रमा बैंकहरूको कर्जा १४ अर्ब ५५ करोडले बढेको छ । ०७३ चैतसम्ममा बैंकहरूले कृषिमा ७२ अर्ब ५६ करोड ऋण प्रवाह गरेकोमा एक वर्षको अवधिमा १८ प्रतिशतले वृद्धि भई ८६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

बैंकबाट ऋण लिएर व्यवसायीक खेती गर्नेको संख्या वृद्धि र र कृषिलगायत उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीतिका कारण यस क्षेत्रमा कर्जा बढ्दै गएको हो । 

कृषि क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत घोषणा गरी व्यावसायीक कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ ।

कृषि व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस व्यवस्थाअन्र्तगत ४ हजार किसानलाई ५ अर्ब कर्जा लगानी गरिएको राष्ट्र बैंकले जनाएको छ । 

पछिल्लो समयमा व्यावसायिक कृषिप्रति सर्वसाधारणको आकर्षण बढिरहेको र बैंकमा कर्जाको माग पनि बढेको छ । विषेशगरी व्यावसायिक तरकारी खेती, गाईपालन, माछापालन, बाख्रापालनलगायतका क्षेत्रमा लाग्ने युवाहरू बढिरहेका छन् । 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल कृषि क्षेत्रमा लगानी बैंकहरुको प्राथमिकता रहेको बताउँछन् । “बैंकहरूले जनताको पैसा चलाउने भएकाले कृषि भन्नेवित्तीकै आँखा चिम्लेर लगानी गर्न सक्दैनन्,” उनले भने, “राम्रो प्रोजेक्ट प्रस्ताव आएमा लगानी गर्न समस्या छैन ।” 

०७३ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाले १९ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेका छन् । यसमध्ये सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यवसायमा २२ प्रतिशत छ । कारोबार दैनिकबाट साभार गरिएको


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]