May 7th, 2017

२४ अंकले घट्यो सेयर बजार, १२ कम्पनीका सेयरधनीले कमाए

साताको पहिलो दिन सेयर बजार २४.२० अंकको गिरावटसँगै १६२८.९८ अंकमा बन्द भएको छ । उत्पादनमूलक र अन्यबाहेक सबै समूहहरु घटेका छन् । बीमा समूह सबैभन्दा धेरै ११२.३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः २७.९५, २३.७८, २२.४४, ३१.९१ र १०.८६ अंकले घटेका छन् । उत्पादनमूलक र अन्य भने क्रमशः ५.२६ र ०.२९ अंकले बढेका छन् । 

आइतबार १४१ वटा कम्पनीको नौ लाख ९९ हजार छ सय ७२ कित्ता सेयर छ हजार पाँच सय १० पटक खरिदविक्री हुँदा ६९ करोड २३ लाख ८७ हजार आठ सय ६८ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, नेपाल एसबीआई बैंकको मात्रै छ करोड २१ लाख १३ हजार छ सय ११ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोडमाथिको कारोबार भएको छ भने प्रभु बैंक, एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको पौने दुई करोडको कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रो लगायतको डेढ करोडमाथिको सेयर कारोबार भएको छ । 

जम्मा १२ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सहारा विकास बैंकका सेयरधनीले आइतबार १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने मेरो माइक्रोफाइनान्सका सेयरधनीले ८.०९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स, नेपाल, राष्ट्रिय बीमा कम्पनी, लक्ष्मी लघुवित्त, भार्गव विकास बैंक, तारागाउँ रिजेन्सी, एक्सेल डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, नविल इक्विटी फण्ड, लक्ष्मी भ्यालू फण्ड र दूरसञ्चार कम्पनीका सेयरधनीले पनि कमाएका छन् । 

यता, नयाँ नेपाल लघुवित्तका सेयरधनीले ९.७१३६ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाएका छन् । किसान माइक्रोफाइनान्स र सिन्धु विकास बैंकका सेयरधनीले क्रमशः ७.९३ र ६.०९ प्रतिशतका दरले गुमाएका छन् भने मिथिला लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र नेशनल हाइड्रोका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । कुमारी बैंक, कन्काई विकास बैंक, सांग्रिला डेभलपमेन्ट लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]