May 5th, 2017

‘बैंकमा खाता खोल्नु मात्रै वित्तीय साक्षरता होइन’

चिन्तामणी शिवाकोटी, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक
वास्तवमा हाम्रो मुलुकमा वित्तीय साक्षरताको अवस्था एकदमै कमजोर रहेको छ । विगत लामो समयदेखि हामीले विभिन्न वित्तीय जागरणका कार्यक्रम लिएर ठाउँठाउँमा पुगिरहेका छौँ । तर पनि, जनसंख्याको ठूलो हिस्सा वित्तीय पहुँचबाट बाहिर रहेको छ । अहिले मुलुकमा तीन करोड जनसंख्या भएकोमा एक करोड ८२ लाख मात्रै खाता खुलेका छन् । यसमा पनि एउटै व्यक्तिको धेरै वटा खाता छन् । यसलाई समेत मिलाएर हिसाब गर्दा ५० प्रतिशत मानिसहरुको मात्रै बैंकमा खाता रहेको अनुमान गरेका छौँ । मुलुकको दुरदराजसम्म बैंकिङ पहुँच पुग्न नसकेको अवस्था छ । 

बैंकमा खाता खोल्नु मात्रै हैन, वित्तीय जागरण

बैंकमा खाता खोल्नु मात्रै वित्तीय जागरण हैन । खाता खोलेपछि त्यसमा राख्ने पैसाको जोहो पनि गर्नुपर्यो । पैसाको जोहो पनि त्यसै हुँदैन । त्यसका लागि कामको जाहो गर्नुपर्यो । काम गरेवापत पाएको पारिश्रमिकबाट खर्च गरेर बचेको रकमलाई बल्ल बैंकमा जम्मा गर्ने हो । त्यो रकम कमर्सियल बैंक, विकास बैंक, फाइनान्स अथवा सहकारीमा जम्मा गर्ने वा बीमा गर्ने भन्ने कुरा संस्थाको क्षमता, वित्तीय अवस्था, सेवा सुविधा, व्याजदर घटबढ, कमिशन दस्तुर लगायतका विषयमा पनि बुझेको हुनुपर्छ । यसका अलावा बैंकका शाखाहरु कहाँकहाँ छन्, कस्ता कस्ता प्रोडक्ट छन्, कुन बचत खाताको विशेषता तथा त्यसमा सेवा सुविधा केकस्ता छन् लगायतका कुराको पनि जानकारी आवश्यक हुन्छ । तर, वित्तीय साक्षरताको अभावमा मानिसहरुलाई यी कुरा थाहा हुँदैन ।

वित्तीय साक्षरताले पैसाको सदुपयोग गर्न सिकाउँछ
वित्तीय साक्षरता भन्नेवित्तीकै हामीले पैसाको सहि सदुपयोग गर्ने कुरालाई जोड दिन्छौँ । पैसा नहुने मान्छेहरु पनि छन् समाजमा र पैसा धेरै हुने मान्छेहरु पनि छन् । तर धेरै पैसा हुने मानिसहरु त्यो पैसालाई चलायमान गराउन जान्दैनन् । पैसालाई कहाँ लगानी गर्ने र कसरी धेरै प्रतिफल पाउने भन्ने कुराको उनीहरुमा ज्ञान हु्ँदैन । उनीहरुलाई पैसाको सदुपयोग गर्न सिकाउनुपर्नेछ । पैसा नहुनेलाई पैसा कसरी आर्जन गर्ने भन्ने सिकाउनुछ । पैसा कमाउँदा अर्कालाई अन्याय शोषण गर्ने, कानुन विपरीत जाने, अपराध गर्ने गर्नु हुँदैन भनेर सिकाउनु जरुरी छ । यसको मतलव, उनीहरुलाई सही तरिकाले कसरी पैसा कमाउने भने सिकाउनुपर्नेछ । किनकि, हामीसँग पैसा त हुन्छ र प्रयोग गर्न जान्दैनौँ । अस्ति एक जना साथीसँग कुनै देशमा जाँदा भेट भयो । उहाँले धेरै पैसा खर्च गर्नुभयो । तपाईँले खर्च गरेको मलाई मन परेन भनेको, मसँग यति सम्पत्ति छ भन्नुभयो । अनि मैले भनेँ, ‘तपाईँले यो विषयमा यति खर्च गर्नुभन्दा त यसको १० प्रतिशत कुनै समाज सेवा लगाउनुभएको भए त्यो मान्छे कृतज्ञ हुन्थ्यो ।’ 

यसरी हुन्छ पैसाको सदुपयोग
वित्तीय जागरण भनेको पैसा कानुनी ढंगले कमाउने र सही सदुपयोग गर्ने ज्ञान हो । पैसा कमाएर मात्रै हुँदैन । आफूले कमाएको पैसाको सही सदुपयोग गर्न जानेन भने त्यसको अर्थ छैन । जस्तै छोराछोरीको शिक्षामा लगानी गर्योँ भने त्यो सही सदुपयोग हो । तर, जुवा तास, जाँड रक्सीमा खर्च गर्नु दुरुपयोग हो । त्यस्तै, कामको लागि मोटरसाइकल, गाडी किन्नु फजुल खर्च होइन । यदि प्रोडक्टिभिटी बढाउनको लागि गाडी किन्नुभएको छ भने त्यो सही सदुपयोग हो । मोटरसाइकल नहुँदा एक ठाउँमा काम गर्ने मान्छेले मोटरसाइकल हुँदा तीन ठाउँमा काम गर्छ भने त्यसलाई फजुल खर्च भनिँदैन । यसरी, के कुरामा पैसा खर्च गर्यो भने आफ्नो वर्तमान मात्र नभएर भविष्य पनि सुरक्षित हुन्छ भन्ने कुरा जान्नु वित्तीय साक्षरता हो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]