April 21st, 2017

०७४ सालको पहिलो साताको सेयर बजार : परिसूचक र कारोबार दुबैमा गिरावट

यो वर्षको पहिलो कारोबार (आइतबार) सेयर बजार दोहोरो अंकले घटेर बन्द भयो । सोमबार र मंगलबार पनि गिरावटको क्रम नै जारी रह्यो । बुधबार भने सेयर बजार तीन प्रतिशतले बढ्यो । साताको अन्तिम दिने भने ३.६८ अंकले घटेर बजार बन्द भयो । यसरी गत साताको अन्तिम दिन १६९७.१३ अंकमा बन्द भएको सेयर बजार यो साताको अन्तिम दिन १६५८.३४ अंकमा छ । यसआधारमा हेर्दा, यो साता सेयर बजार ३८.७९ अंकले घटेको देखिन्छ । 

यो साता सेयर बजारमा देखिएको गिरवाटको कारण मुलुकको राजनीतिक अवस्थालाई मानिएको छ । सरकारसँग लामो समयदेखि संवादमा रहेका मधेसी मोर्चाले आइतबार पत्रकार सम्मेलनको आयोजना नै गरेर वैशाख ३१ मा हुने स्थानीय निकायको चुनावमा पनि सहभागि नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । जसको प्रभावस्वरुप, आइतबारदेखि मंगलबारसम्म निरन्तर सेयर बजार ओरालो लाग्यो । मोर्चाले आन्दोलन नै सुरु गर्ने भनेपछि लगानीकर्तामा अन्यौलता छायो । यद्यपि, तोकिएकै मितिमा चुनाव हुने सम्भावना देखिएपछि बुधबार सेयर बजार उत्साहजनक रुपमा बढ्यो । तर, सरकार पक्ष र मधेसीबिचको अडान कायमै रहने देखिएपछि विहीबार पुनः लगानीकर्ताको उत्साहमा ब्रेक लाग्यो ।

नेप्से परिसूचकमा मात्र नभएर यो साता कारोबार रकममा पनि उतारचढाव देखियो । आइतबार कारोबार एक अर्ब २१ करोडमा झरेको बजारमा सोमबार सार्वजनिक विदाका कारण सेयर कारोबार भएन । त्यस्तै, मंगलबार एक अर्ब ५० करोड, बुधबार एक अर्ब सात करोडको कारोबार भएको बजारमा साताको अन्तिम दिन एक अर्ब ३८ करोडको कारोबार भएको छ । समग्रमा यो साताभर सवा पाँच अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता आठ अर्ब ३० करोड २३ लाख ३३ हजार आठ सय ४४ रुपैयाको सेयर कारोबार भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]