March 28th, 2017

५ प्रतिशतले नेप्से बढ्दा पनि तीन कम्पनीका सेयरधनीले गुमाए, धेरै कमाउने कोको ?

निरन्तर रुपमा बजार बढ्न थालेसँगै सेयर बजारमा लगानीकर्ताको चहलपहल बढेको छ । चैत लागेदेखि नै बढेको बजारमा सेयर खरिद गर्नेको संख्या दिनदिनै बढ्न थालेको छ । मंगलबार सेयर बजार पाँच प्रतिशतले बढेर कारोबार समयावधि नसकिँदै बन्द भएको बजारमा एक अर्ब ३८ करोड आठ लाख २२ हजार चार सय ५८ रुपैयाँको कारोबार भएको छ । छोटो समयमा नै नेप्से परिसूचक ७६.७९ अंकले बढेर १६१०.६२ अंकमा पुगेपछि कारोबार रकममा पनि तीव्र वृद्धि देखिएको हो । 

दिनभरिमा कुल १४४ वटा कम्पनीको २५ लाख ८१ हजार १९ कित्ता सेयर आठ हजार तीन सय ९१ पटक खरिदविक्री भएका छन् । मंगलबार बीमा समूह सबैभन्दा धेरै ५०३.११ अंकले बढेको छ भने जलविद्युत् १०६.५१ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र अन्य समूह क्रमशः ७५.०९, ७१.०९, ८२.९७, ३८.९४ र १०.१२ अंकले बढेका छन् । 

कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा छ, जसको नौ करोड ४४ लाख ७४ हजार तीन सय ६३ रुपैयाँको कारोबार भएको छ । सानिमा बैंकको साढे सात करोड, एनसीसी बैंकको छ करोड, प्रभु बैंकको पाँच करोड, लक्ष्मी बैंकको साढे चार करोड र नेपाल बैंकको चार करोडमाथिको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक लगायतको तीन करोडमाथिको कारोबार भएको छ । 

सेयर बजारको उछालसँगै थुप्रै कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । जसमध्ये, बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट र प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने लक्ष्मी लघुवित्त, लक्ष्मी भ्यालू फण्ड, हिमालयन जेनेरल इन्स्योरेन्स, एनबि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स, रिलायन्स फाइनान्स लगायत २४ कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

पाँच प्रतिशतले बजार उकालो लाग्दा पनि तीन कम्पनीका सेयरधनीले भने अभागी ठहरिएका छन् । ठूलो अंकले परिसूचक बढ्दा पनि एनएमबि माइक्रोफाइनान्स, जेविल्स फाइनान्स र किसान माइक्रोफाइनान्सका सेयरधनीले भने गुमाएका हुन् । यी कम्पनीको सेयरमूल्य क्रमशः १.९५४४, १.६ र ०.०४७२ प्रतिशतले घटेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]