March 15th, 2017

यती र महालक्ष्मीबीच मर्जर सहमति, देशकै ठूलो विकास बैंक बन्दै

यती डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन् । काठमाडौँको थापाथलीमा केन्द्रीय कार्यालय रहेको यती र दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मीबीच मंगलबार सम्झौता भएको हो । एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी सम्झौतापत्रमा महालक्ष्मीका तर्फबाट मर्जर समितिका संयोजक सञ्जय गिरी र यतीका तर्फबाट मर्जर समितिका संयोजक अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरे । 

मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ भने निक्षेप २३ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी १९ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि महालक्ष्मी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिने बैंकको शाखा संख्या ६५ तथा ग्राहक संख्या तीन लाख ४५ हजार पुग्नेछ । यससँगै, महालक्ष्मी विकास बैंक देशकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुने बताइएको छ । 

मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा महालक्ष्मीबाट चार र यतीबाट चार गरी कुल आठ सदस्य रहने व्यवस्था गरिएको छ । सम्पत्ति दायित्व मूल्यांकनपश्चात् आउने प्रतिवेदनलाई आधार बनाई सेयर स्वाप अनुपात निर्धारण गर्ने सहमति भएको बताइएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]