February 22nd, 2017

नेपाल लाइफको एफपिओ र फरवार्ड कम्युनिटीको आईपिओ बाँडफाँड कहिले ?

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै जारी गरेको एफपिओको बाँडफाँडको मिति सरेको छ । यसअघि फागुन १३ गतेभित्र बाँडफाँड गर्ने भनिएकोमा अब फागुन २२ गतेभित्र बाँडफाँड गरिने भएको हो । 
नेपाल धितोपत्र बोर्डले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई फागुन १३ गतेभित्रै बाँडफाँड गर्न निर्देशन दिएको थियो । सिद्धार्थले फागुन २७ गतेसम्मको समय माग गर्दै बोर्डमा निवेदन दिएकोमा धितोपत्र बोर्डले अर्को पत्र लेख्दै २२ गतेसम्मको समय दिएको बताइएको छ ।  

नेपाल लाइफले गत पुस २७ गतेदेखि १४ सय २५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री गरेको थियो । यो एफपीओमा करिब ५२ अर्ब रूपैयाँ आवेदन परेको थियो । 

हाल नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी दुई अर्ब १६ करोड रूपैयाँ छ । एफपिओ बाँडफाँड गरेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ । कम्पनीले एफपिओ बिक्रीबाट आउने थप १३२५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपिओपछि कम्पनीको जगेडा कोषमा कुल छ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ ।

यता फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लिमिटेडलाई साधारण सेयरको बाँडफाँड फागुन २० गतेभित्र गरिसक्न बोर्डले निर्देशन दिएकोमा सोही समयमा बाँडफाँड गर्ने गरी काम भइरहेको बताइएको छ । फरवार्डले ६ लाख कित्ता साधारणसेयर जारी गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]