February 14th, 2017

सामान्य अंकले घटेर बन्द भयो सेयर बजार : दिव्यश्वरी हाइड्रोका सेयरधनीले गुमाए

मंगलबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेको आधा घण्टामा १२६१ अंकसम्ममा झरेको बजार अन्ततः सुधारिँदै ४.०१ अंकले घटेर बन्द भएको छ । जसअनुसार, मंगलबार नेप्से परिसूचक १२७४.९७ अंकमा झरेको छ । होटल र विकास बैंकबाहेक मंगलबार कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ९३.४९ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः १.६५, २७.१६, ०.७६, १.८६ र ०.८७ अंकले घटेका छन् । होटल र विकास बैंक भने क्रमशः ३३.५४ र २.३८ अंकले बढेका छन् । १२ दिनपछि सोमबार बल्ल हरियो भएको बजार मंगलबार पुनः रातो भएको हो । 

बजार घटेसँगै कारोबार पनि सोमबारको तुलनामा घटेको छ । सोमबार ५० करोडमाथिको कारोबार भएको बजारमा मंगलबार ४० करोडको कारोबार भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको १० लाख ११ हजार छ सय ८५ कित्ता सेयर पाँच हजार एक सय २४ पटक खरिदविक्री हुँदा कुल ४१ करोड ४१ लाख सात हजार दुई सय ६२ रुपैयाँ पुँजी परिचालन भएको हो । कुल कारोबारमध्ये, प्रभु बैंकको दुई करोड ७२ लाख १८ हजार नौ सय ९१ रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

कालिका माइक्रोक्रेडिटका सेयरधनीले १० प्रतिशतका दरले सम्पसत्त बढाउँदा सगरमाथा इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, हाम्रो विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक र एनबी इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.९९, ९.९४, ८.७०, ७.७५, ६.८७ र ५.३५ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रिजेन्सी, वेस्टर्न डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, दिव्यश्वरी हाइड्रोका सेयरधनीले ९.७७ प्रतिशतका दरले गुमाएका छन् भने नागबेली लघुवित्त, युनाइटेड इन्स्योरेन्स र सहारा विकास बैंकका सेयरधनीले क्रमशः ८.९२, ८.१५ र ७.८६ प्रतिशतका दरले गुमाएका छन् । डिप्रोक्स डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, बरुण हाइड्रो, सिनर्जी फाइनान्स, एनएलजी इन्स्योरेन्स, लक्ष्मी भ्यालू फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]