February 12th, 2017

नेप्सेमा ४३.७२ अंकको पहिरो, ५ कम्पनीले कमाए, अधिकांश बीमा कम्पनीले अत्याधिक गुमाए

साताको पहिलो दिनमै सेयर बजारमा ४३.७२ अंकको पहिरो गएको छ । बजार १२५२.५१ अंकमा झर्दा पनि लगानीकर्तामा भने धैर्यता कायम रहेको देखिएको छ । जसअनुसार, आइतबार कारोबार रकममा ठूलो गिरावट आएको छैन । दिनभरिमा १३२ वटा कम्पनीको १३ लाख आठ हजार पाँच सय ६५ कित्ता सेयर छ हजार एक सय ५२ पटक खरिदविक्री हुँदा कुल ४९ करोड ३५ लाख ३१ हजार ६३ रुपैयाँ पुँजी परिचालन भएको छ । 

होटलबाहेक आइतबार कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ३४६.१४ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ४५.४५, ३१.२४, ६२.८४, १२.०१ र ६.०७ अंकले घटेका छन् । होटल भने १५.४ अंकले बढेको छ । 

३.३७ प्रतिशतले घटेको बजारमा पाँच वटा कम्पनी भाग्यमानी सावित भएका छन्, जसका सेयरधनीले अधिकतम ५.९ प्रतिशतदेखि न्यूनतम १.६२ प्रतिशत सम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका सेयरधनीले कमाएका छन् भने सबैभन्दा कम प्रभु बैंकका प्रोमोटर सेयरधनीले कमाएका छन् । यसबाहेक, गुहेश्वरी मर्चेन्ट बैंक, सोल्टी होटल र जेविल्स फाइनान्सका सेयरधनीले क्रमशः ३.०८, १.९२ र १.६३ प्रतिशतका दरले कमाएका छन् । 

प्राइम लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । एनबी इन्स्योरेन्स, राप्तीभेरी विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, अल्पाइन डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

कारोबारका आधारमा आइतबार प्रभु बैंक अग्रस्थानमा छ, जसको दुई करोड ५४ लाख ३२ हजार पाँच सय ३८ रुपैयाँको कारोबारम भएको छ । नेपाल बंगलादेश बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टर्ड बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक प्रोमोटर, सानिमा बैंक, नविल बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]