March 31st, 2016

कसरी सिकाउने वित्तिय साक्षरता : वित्तिय साक्षरतासम्बन्धि सम्पूर्ण नालीबेली

मुकुन्द अर्याल-
photo mukunda Aryalनेपालमा अधिकांश मानिस शिक्षित भए पनि वित्तीय आधारमा भने धेरै कममात्र साक्षर र अधिकांश निरक्षर नै छन् भन्ने एक विज्ञको भनाइ सही प्रतीत हुन्छ । किनकि वित्तीय साक्षरताको क्षेत्र र परिभाषा अत्यन्त फराकिलो छ । वित्तीय आधारमा पूर्णतः साक्षर हुन वित्तीय बजारदेखि यससँग सम्बन्धित पुँजीबजार, बिमा बजार, बैंकिङ बजार, कमोडिटी बजार, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अर्थतन्त्र, लगानीका अवसर र सम्भावना आदिबारे समेत जानकारी राख्नु आवश्यक हुने सन्दर्भमा कुनै पनि व्यक्तिलाई पूर्णतः साक्षर भन्न सकिँदैन र हामी कोही पनि पूर्णतः साक्षर छैनौं ।

बचतको महत्व
नेपालमा ग्रामीण गरिबी अझै पनि विद्यमान रहनुको प्रमुख कारकमा बचतको महत्वबारे अज्ञानता रहेको छ । अधिकांश मानिसको स्वभाव छ, कमाऊ खर्च गर यानि भोलिका बारेमा नसोच । त्यसो त नेपाल विश्वकै सुख मापन सूचीमा राम्रो स्थानमा रहनुमा यो पनि प्रमुख कारण हो । तर यसले आममानिसको आर्थिक स्तरमा भने नकारात्मक प्रभाव पारेको छ । नेपालमा बचतको महत्वबारे बुझाउने जिम्मेवार निकायहरूको निष्क्रियता, वित्तीय संस्थाको न्यून पहुँच र बचत चेतना भएका तर नकारात्मक ब्याजदरबाट आक्रान्त बचतकर्ताहरूले भोग्नुपरेका पीडाले आममानिसलाई बचतप्रति उदासीन बनाएको तथ्य अर्कातर्फ छ । यी कुरामा सुधारबिना बचतप्रति आममानिसको भरोसा आर्जन गर्न सकिँदैन ।

बचतका विधि
प्रथम चरणमा बचतप्रति विश्वास आर्जन गरेपछि बचतमा बामे सार्न बिस्तारै हामीले हाम्रो आर्थिक कारोबारलाई व्यवस्थित गराउनुपर्ने हुन्छ । 

अनावश्यक खर्च कटौती : हामी आमनेपाली खर्च व्यवस्थापनमा कम चासो रुचि राख्छौं । हामीले गर्ने खर्चलाई केलायौं भने आधाभन्दा बढी अनावश्यक हुन्छ, त्यो खर्च कटौतीबाट बचत सिर्जना गर्न सकिन्छ । अतिआवश्यक, नगरिनहुने खर्च कुन हो ? फजुल खर्च कुन हो ? त्यसको पहिचान गर्नु आवश्यक छ ।

अवसरको खोजी : यदि हाम्रो कमाइ नै कम भएर बचत कम भएको हो भने अन्य अवसरको खोजी गरी बचत बढाउन सकिन्छ । हामीसँग भएको सीप, श्रम, हामीसँग रहेको भूमि, समय र बचत, बचत नभए कर्जा आदिको सदुपयोगबाट आयवृद्धि गर्न सकिन्छ ।

आयको निश्चित प्रतिशत बचत
नयाँ अवसरको प्रयोगबाट बढेको आयलाई पुनः लगानी गरेर र त्यसको निश्चित प्रतिशत बचत गर्ने अभ्यासबाट बचत बढाउन सकिन्छ । यसरी सिर्जना हुने बचत बैंक वा वित्तीय संस्थामा पुगेमा बचतकर्ता त प्रत्यक्ष लाभान्वित हुन्छन् नै, त्यसबाट अन्य मानिसहरूले पनि कर्जाको रुपमा उपयोग गरी फाइदा उठाउन सक्छन् ।

स्वदेशी वस्तु वा सेवामा खर्च
कुनै पेसा, उद्यम, व्यवसायबाट सिर्जना हुन आएको बचतलाई विलासी विदेशी वस्तु, सेवामा होइन कि स्वदेशी वस्तु वा सेवामा खर्च गर्नु पनि परोक्ष बचत हो, किनकि यसबाट अर्थतन्त्रका अन्य अवयव पनि बलिया बन्छन् । देशभित्रै अन्य उद्यमी, व्यवसायीको आर्जन, सर्वसाधारणको रोजगारी तथा बचतमा सकारात्मक प्रभाव पर्छ ।

बचत बैंकमै राख्ने
घरमै राख्दा चोरी आगलागीको डर हुने, ढुकुटी आदिमा खेल्नु गैरकानुनी धन्दा हुने अनि डुब्ने भय हुने बैंकमा राख्दा निक्षेपको बिमा भई सुरक्षित हुने, प्रतिफल (ब्याज) समेत मिल्ने आदि चेतना फैलाई सबैलाई सिर्जित बचत बैंकमै राख्न उत्प्रेरित गर्नु आवश्यक छ ।

कर्जाको महत्व बुझाउने
नेपाली जनमानसमा ऋण घीन हो भन्ने भावना व्याप्त रहेको पाइन्छ । हो, दुरुपयोग गरेमा यानि अनुत्पादशील क्षेत्रमा उपयोग गरेमा पक्कै पनि ऋण घीन हो तर सदुपयोग गरेमा आर्जन बढाउने कर्जा सम्पत्ति सिर्जना गर्न महत्वपूर्ण साधन हो । त्यसैले असल आर्जनशील उद्देश्यका लागि कर्जा लिन नडराउने मनोविज्ञानको विकासमा समेत वित्तीय साक्षरताले ध्यान पुर्याउनु आवश्यक छ ।

कर्जा बैंकबाटै लिने
कर्जाको महत्व, बजारमा उपलब्ध कर्जाबारे तुलना, आजसम्मको अध्ययनबाट बैंक कर्जा सरल, सस्तो रहेको पाइएकाले बैंकबाट कर्जा लिन सर्वसाधारणलाई प्रोत्साहन आवश्यक छ ।

बैंक ग्राहकको अनुशासन
निक्षेप ग्राहक– चेकबुकको रक्षा, खाताको मौज्दातबारे नियमित परीक्षण, केही शंका लागे बैंकलाई खबर गर्ने, बैंकमा बुझ्ने जस्ता कार्यहरू निक्षेप ग्राहकले पालना गर्नुपर्ने अनुशासनअन्तर्गत पर्छन् । कर्जा ग्राहक स् कर्जाको सदुपयोग, समयमा सावाँ–ब्याज भुक्तानीजस्ता कार्यहरू कर्जा ग्राहकका अनुशासनभित्र पर्छन् ।

बैंक ग्राहकको अधिकार
बैंकका सेवा–सुविधा र त्यसमा लाग्ने शुल्क आदिबारे बैंकहरूले ग्राहकलाई सेवा आरम्भ गर्दाखेरि नै बुझाउनु आवश्यक छ, ग्राहकले पनि सुरुमै यसबारे जानकारी खोज्नुपर्छ । यसनिम्ति नागरिक बडापत्र र निर्देशन अध्ययनदेखि सोधपुछसम्म ग्राहकले अग्रसरता देखाउनुपर्छ भने बैंकहरूले निर्देशन झारा टार्ने सानो अक्षरमा होइन कि आमग्राहकले बुझ्ने भाषामा ठूलो अक्षरमा लेखिदिनुपर्छ ।

चेतना सामग्री प्रकाशन–प्रसारण
कतिपय कारोबारमा बैंक र ग्राहकबीच सम्भाव्य बिचौलिया प्रवेश रोक्न यससम्बन्धी सचेतना सामग्री बैंकहरूले प्रकाशन प्रसारण गर्नु आवश्यक छ ।

रेमिट्यान्स
हुन्डीबाट रेमिट्यान्स कारोबार गर्दा एकातर्फ नागरिक र अर्कातर्फ राज्य दुवै ठगिएका समाचारहरू बाहिर आइरहेको परिप्रेक्ष्यमा बैंकिङ माध्यमबाटै रेमिट्यान्स कारोबार गर्न र विलासिताका सामानमा यसको उपभोग रोकी उत्पादनशील उपयोगमा अभिप्रेरित गर्नु पनि वित्तीय साक्षरताको महत्वपूर्ण कदम हुन सक्छ ।

उद्यमशीलता विकास
नेपालमै उद्यमशीलता प्रवद्र्धनको बृहत् सम्भावना रहेको, नेपालका बैंकहरूबाटै ५ प्रतिशत ब्याजदरमा कृषि कर्जा उपलब्ध हुनेलगायतका प्रवद्र्धनात्मक सामग्री व्यापक रूपमा प्रचार–प्रसार गरिनुका साथै कृषि कर्जामात्र होइन उत्पादनशील नवप्रवर्तनात्मक अवधारणा र योजनालाई बैंक वित्तीय संस्थाबाट बिनाधितो सरकारी जमानतमा सहज रूपमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।

आधुनिक बैंकिङ सेवाको उप्रयोगमा उत्प्रेरणा
एटीएमका फाइदा (जहाँबाट पनि पैसा निकाल्न सकिने, पैसा बोकेर हिँड्ने झन्झट नहुने) र एटीएममा अपनाउनुपर्ने सजगता (पिन नम्बर गोप्य राख्ने, बेला–बेलामा पिन नम्बर बदल्ने) देखि मोबाइल बैंकिङमा समेटिने सेवाहरू, यसका फाइदा र अपनाउनुपर्ने सजगता आदिबारे आमग्राहकलाई राम्ररी जानकारी गराउनु वित्तीय साक्षरताको अर्को महत्वपूर्ण कदम हुन सक्छ ।

प्रौढ शिक्षा
नेपालका सरकारी बैंकका ग्राहकमा अद्यापि उल्लेख्य संख्यामा निरक्षर छन् । पंक्तिकारले रााष्ट्रिय वाण्ज्यि बैंकको तुलसीपुर शाखाको ग्राहक सेवा कक्षामा १ घण्टाको अन्तरालमा २ वटा यस्ता ग्राहक भेट्टायो, १ महिला ग्राहक चेक लेख्न सहयोग माग्दै थिइन् भने अर्का एक पुरुष ग्राहक खाता बन्द गर्ने निवेदन लेख्न सहयोग माग्दै थिए । यस्तो परिवेशमा बैंकहरूले आफ्ना ग्राहकलाई सामान्य लेखपढ गर्न सक्ने (साक्षर) बनाउन प्रौढ कक्षा सञ्चालन गर्न सके यसले वित्तीय साक्षरतामा ठूलो योगदान पुर्याउन सक्छ ।

उपरोक्त कदमहरू नेपालको वित्तीय साक्षरता अभियानका महत्वपूर्ण कखरा हुन् । हाल अर्थ मन्त्रालयले बैंकिङ बजार, बिमा बजार, पुँजीबजार समेटिएको वित्तीय साक्षरतासम्बन्धी नीति तर्जुमा गरिरहेको वर्तमान अवस्थामा यस्ता आधारभूत ज्ञान सर्वसाधारणदेखि सबै तहका मानिसहरूमा पुर्याउने गरी साधारण भाषामा प्रचार सामग्री, टेलिफिल्म, ठूलो पर्दाको चलचित्रलगायतका पाठ्य तथा श्रव्य–दृश्य सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणको नीतिगत व्यवस्था हुन सकेमा त्यो राष्ट्र र जनताका निम्ति ठूलो योगदान हुनेछ ।
(अर्याल राष्ट्रिय वाणिज्य बैंकका वरिष्ठ प्रबन्धक हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]