January 12th, 2017

आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?

धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । आगामी माघ १ गतेबाट यो प्रणाली लागू हुँदैछ । 

कसरी चल्छ आस्वा प्रणाली
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनु पर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् । 

आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिने छन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ ।

दरखास्त रद्द हुन सक्ने अवस्था

  • एउटै लगानीकर्ताको नाममा एकभन्दा बढी दरखास्त दर्ता हुन आएको कुरा प्रमाणित भएमा 
  • दरखास्त फारममा गलत विवरण भरेको वा उल्लेख गर्नु पर्ने सम्पूर्ण विवरण उल्लेख नगरेको वा भरेको नपाइएमा 
  • धितोपत्र खरिदको लागि दरखास्त दिंदाको अवस्थामा वा दरखास्त दिईसकेपछि खरिद गरेको धितोपत्र बापतको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा

सेयर बाँडफाँड
सेयर बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइने छ । सेयर बाँडफाँडको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको सेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिनेछन् । आफ्नो खातामा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिनेछ । 

सेयर जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिने छ । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा हुनेछ । 

अवेदकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत निवेदन दिँदा खाता रोक्का वापत शुल्क बुझाउनु पर्ने छ । बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सोभन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लाग्ने छ । बैंक वा वित्तीय संस्थाले लगानीकर्ताबाट लिएको कूल सेवा शुल्कको पन्ध्र प्रतिशतले हुन आउने रकम निष्काशन तथा बिक्री प्रबन्धकलाई र तीन प्रतिशतले हुन आउने रकम बोर्डलाई धितोपत्र बिक्री बन्द भएको मितिले एक महिनाभित्र बुझाउनु पर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]