December 28th, 2016

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरेको चर्चा

नवराज कुँवर

यही पुस ७ गतेबाट बीमा कम्पनीहरुको नियमक बीमा समितिको अध्यक्ष पद रिक्त छ । सरकारले सोही दिन समितिमा नयाँ अध्यक्ष ल्याउने तयारी गरेपनि अध्यक्ष प्रत्यासीहरुको लामो ‘लाइन’ भएकाले अध्यक्ष नियुक्तिको प्रक्रिया लम्बिएको छ । तर भोलि अर्थात बिहिबार सरकारले बीमा समितिको अध्यक्ष नियुक्त गर्ने तयारी गरेको छ । यसका लागि अर्थमन्त्री कृष्णबहादुर महराले समितिको अध्यक्षमा नियुक्त गर्नका लागि ‘सर्टलिस्ट’ तयार गरिसकेका छन् । अर्थ मन्त्रालय श्रोतका अनुसार बीमा समितिको भावी अध्यक्ष पदका लागि पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरे, रमेश कुमार भट्टराई र चिरञ्जीबी चापागाई अर्थमन्त्री महराको सर्टलिस्टमा परेका छन् ।
 
कसको सम्भावना ?
यसअघि बैंकिङ खबर डटकमले राखेको जिज्ञासामा अर्थमन्त्रीका एकजना विश्वासपात्रले प्रा.डा. रविन्द्र घिमिरेको मात्रै नाम लिएका थिए । त्यसै अनुसार बैंकिङ खबरले अर्थमन्त्रीले घिमिरेलाई अघि सार्ने तयारी गरेकोसम्बन्धी खबर सम्प्रेषण गरेको थियो । त्यसको पुष्टि अर्थमन्त्रीले गरेको सिफारिसले गरेको छ । त्यतिमात्रै होइन अर्थमन्त्रीले सिफारिस गरेका नाममध्ये पहिलो नम्बरमा परेका छन् डा. घिमिरे ।
 
को हुन् डा. घिमिरे ?
बीमा समितिको अध्यक्ष पद रिक्त हुनुअघि नै चर्चामा आएका डा. घिमिरे पोखरा विश्वविद्यालयमा बीमा तथा जोखिम व्यवस्थापन विषयका प्राध्यापक हुन् । पहिलो, अर्थमन्त्रीले संचालित बीमा कम्पनीहरुसँग जोडिएका व्यक्तिहरुलाई सिफारिस नगर्ने ‘मुड’ बनाएका थिए भने उनले समितिमा बीमा क्षेत्रका विज्ञलाई ल्याउने बताउँदै आएका थिए । त्यसैगरी अन्तर्राष्ट्रिय बीमा बजारसँग पनि परिचित घिमिरे अर्थमन्त्रीको अर्को रोजाईमा पर्नाका अर्को कारण हो, उनको राजनीतिक पृष्ठभूमि । घिमिरे राजनीति गर्दै नहिँडेपनि उनले माओवादी पार्टीलाई गरेको योगदानका आधारमा उनी अर्थमन्त्रीको ‘सर्ट लिष्ट’मा परेका हुन् । श्रोतका अनुसार हालै अवकास लिएका प्रा. डा. फत्तबहादुर केसीले पनि डा. घिमिरेलाई नियुक्त गर्न अर्थमन्त्रीलाई सुझाएका थिए । डा. केसी पनि माओवादी निकट मानिन्छन् । घिमिरेलाई नै बीमा समितिमा नियुक्त गर्नका लागि अर्थमन्त्रीमाथि तल्लो तहबाट पनि दबाब परेको श्रोत बताउँछ ।
अर्थमन्त्रीले सिफारिस गरेका रमेश कुमार भट्टराई र चिरञ्जीबी चापागाई पनि माओवादी निकट नै मानिन्छन् । यी दुई जनाबारे पनि अर्थमन्त्री निकै दबाबमा रहेको बुझिएको छ । भट्टराई र चापागाईबारे अर्थमन्त्रीलाई माओवादी केन्द्रका केही नेताहरुले दबाब दिइरहेको श्रोतको दाबी छ । यद्यपी अर्थमन्त्रीको रोजाईमा भने घिमिरे रहेको उनी निकट श्रोतको भनाई छ ।
 
बिहिबार नै अध्यक्ष नियुक्त गर्ने तयारी
अर्थ मन्त्रीका स्वकीय सचिव हिमाल शर्माका अनुसार भोलि अर्थात बिहिबार नै बीमा समितिको अध्यक्ष नियुक्ति हुनेछ । बिहिबार नै अर्थमन्त्रीले आफ्नो सर्टलिष्ट बैठकमा प्रस्तुत गर्ने र सोहि दिन अध्यक्ष नियुक्त हुने उनले जानकारी दिए । समितिका अध्यक्ष डा. केसीको अवधि सकिएपछि पुस ७ गतेदेखि समिति नेतृत्वविहीन छ ।
 
होडबाजीमा तीन दर्जन
बीमा समितिको अध्यक्ष पदका लागि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष अध्यक्ष विजयबहादुर शाह, व्यक्तिगत रुपमा केहि बीमा कम्पनीका माओवादी पृष्ठभूमि भएका सीईओ, विभिन्न बीमा विज्ञ, पोखरा विश्वविद्यालयकै प्राध्यापक दिपक भण्डारी, पुनर्बीमा कम्पनीका सीइओ चिरायु भण्डारी, बैंकर लक्ष्मण घिमिरे, हरि घिमिरे, पूर्व सचिव, राष्ट्र बैंकका पूर्व विशिष्ट कर्मचारी गरी झण्डै तीन दर्जनले लविङ गरिरहेको बताइएको छ ।  
 
 किन बीमा समितिमा होडबाजी ?
बीमा समिति नेपालको बीमा ब्यवसायलाई ब्यवस्थित, बिकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा ऐन, २०४९ अनुसार स्थापना गरिएको एक स्वशासित संस्था हो । यस संस्थाले नेपालका बीमा कम्पनीहरुलाई नियमन गर्ने गर्दछ । नेपालमा बीमा व्यवसायलाई अत्यन्तै सम्भावनायुक्त व्यवसायका रुपमा पनि हेरिएको छ । पछिल्लो समय बीमा व्यवसायको अवस्था पनि निकै राम्रो देखिन्छ । त्यसैले पनि  बीमा कम्पनीहरुकमो नियामक बीमा समितिको भावी अध्यक्ष पदका लागि  पूर्वसचिवदेखि बीमा कम्पनीका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायतले दौडधुप गरेका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]