December 23rd, 2016

साताभर सेयर बजार ५४.३५ अंकको गिरावट : बीमा घट्यो सबैभन्दा धेरै

साताको पहिलो दिन थोरै बढेको सेयर बजार अन्य दिनमा घटेर फेरि अन्तिम दिन बढेर बन्द भयो । साताको आइतबार सेयर बजार १.२८ अंकले बढेको थियो । सोमबार, मंगलबार र बुधबार सेयर बजार क्रमशः १६.४७, १८.८७ र २५.३५ अंकले घट्यो । यसरी दैनिक रुपमा बढ्दै गएको गिरावट दरमा ब्रेक लाग्दै विहीबार सेयर बजार हरियो भयो । गत साताको अन्तिम दिन १५३०.०६ अंकमा पुगेर बन्द भएको बजार यो साता १४७५.७१ अंकमा झरेको छ । जसअनुसार, साताभरमा सेयर बजारमा ५४.३५ अंकको गिरावट आएको छ । उपसमूहहरुमध्ये सबैभन्दा बढी गिरावट बीमा समूहमा आएको छ ।

साताको मंगलबार सबैभन्दा धेरै ६८ करोडको कारोबार भयो भने बुधबार सबैभन्दा थोरै ४८ करोडको मात्रै कारोबार भयो । साताको पहिलो दिन झन्डै ६२ करोडको कारोबार भएको बजारमा सोमबार ५६ करोडको कारोबार भयो । विहीबार बजार बढ्दा बुधबारको तुलनामा थोरै बढेर ५० करोडको कारोबार भयो । समग्रमा यो साताभर, दुई अर्ब ८४ करोड ७७ लाख २२ हजार दुई सय तीन रुपैयाँ पुँजी परिचालन भयो ।

यो साता पनि एभरेष्ट बैंक सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रह्यो । साताभरमा एभरेष्ट बैंकको मात्रै ६६ करोड २८ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । यसबाहेक, बैंक अफ काठमाण्डू लुम्बिनी, चिलिमे हाइड्रो, शिखर इन्स्योरेन्स लगायतको राम्रो कारोबार भएको छ । यो साता नागबेली लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै कमाइ गरेका छन् । त्यस्तै, नेरुडे लघुवित्त, एनबि इन्स्योरेन्स लगायतका सेयरधनीले पनि राम्रै कमाइ गरेका छन् । गुमाउनेमा मिर्मिरे माइक्रोफाइनान्स, आईएलएफसीओ माइक्रोफाइनान्स लगायत छन् ।

यो साता नेपाल स्टक एक्सचेन्जमा सुर्यादय लघुवित्तको चार लाख कित्ता सेयर थपियो । आगामी सातादेखि उक्त सेयरको कारोबार हुँदैछ । आगामी सातादेखि प्रभु बैंकको पनि सेयर कारोबार खुल्दैछ ।

यो साता नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दियो । यती डेभलपमेन्ट बैंकले पनि ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दियो । त्यस्तै, जनता बैंकले हकप्रद निष्काशनको मिति १० गतेसम्मका लागि थप गर्यो भने मनास्लु विकासक बैंकले ४६ हजार कित्ता सेयर लिलामीमा निकाल्यो । ३५ प्रतिशत बोनस सेयर जारी गर्न लुम्बिनी फाइनान्सले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पायो । सिर्जना फाइनान्सको ५० प्रतिशत हकप्रद जारी प्रस्ताव साधारणसभाबाट पारित भयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]