December 16th, 2016

राष्ट्र बैंकले ह्वात्तै बढायो ट्रेजरी बिलको रकम

nepal rastra bank 1नेपाल राष्ट्र बैंकले १२ अर्ब ५० करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउने उद्देश्यले सोमबार ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नेछ, जुन आगामी चैत्र आठ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिने अवधिको दुई अर्ब ६५ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नेछ । यो ट्रेजरी बिल ०७४ असार ६ गते परिपक्व हुनेछ । बाँकी एक अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिने हुनेछ, जुन ०७४ पुस ४ गते परिपक्व हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा विक्री गरिने बताइएको छ ।

यसअघि, गत सोमबार (मंसिर २७) गते राष्ट्र बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल विक्री गरेको थियो । उक्त ट्रेजरी बिलका लागि १० अर्ब छ करोड रुपैयाँको बोलकबोल परेको थियो ।

राष्ट्र बैंकले केही समयदेखि टेजरी बिलको रकम घटाउँदै आइरहेकोमा यसपटक ह्वात्तै बढाएको छ । विशेषतः छोटो अवधिका लागि आन्तरिक ऋण उठाउनु परेमा राष्ट बैंकले ट्रेजरी बिल विक्री गर्ने गर्दछ । तर, ट्रेजरी बिलमा पछिल्लो समय आकर्षण कम भएको भन्दै राष्ट्र बैंकले ट्रेजरी बिलको रकम घटाएर लामो समयका ऋणपत्रहरुतर्फ बढी जोड दिने जनाएको थियो । सोही अनुरुप राष्ट्र बैंकले ५० करोड, २५ करोड रुपैयाँका दरले ट्रेजरी बिल विक्री गरिरहेको थियो । यसपटक भने राष्ट्र बैंकले एकैपटकमा साढे १२ अर्बभन्दा बढीको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]