November 24th, 2016

घटिरहेको सेयर बजारबाट कसरी लिने फाइदा ? बरिष्ठ सेयर विज्ञ गोपाल भट्टको विश्लेषण

dr gopal bhattaशेयर बजार आफैँमा उतारचढाव भईरहने ‘इकोनोमिक भेरिएवल’ अर्थात आर्थिक चर हो । सूचकमा उतारचढाव भईरहनु नै पर्छ । यसले बजारमा आएको सूचनालाई लगानीकर्ताले कसरी मूल्यमा कन्भर्ट गर्छन् भन्ने कुरा प्रष्ट पारिदिन्छ । स्टक मार्केटको इफिसियन्सी भन्ने एउटा ठूलो सिद्धान्त छ । यसमा व्यापक अनुसन्धानहरु भईरहेका छन् । यसले भन्छ, त्यो बजार जसले बजारमा आउने सूचनालाई आफ्नो मूल्यमा तुरुन्तै कन्टेन्ट गर्छ त्यसलाई इफिसियन्ट मार्केट अर्थात कुशल बजार भनिन्छ । नेपालमा मैले गरेको रिसर्च पनि यसै विषयसंग सम्बन्धित थियो । यसले पनि बजारमा आएका सूचनाहरुलाई मूल्यमा कन्भर्ट गर्न सकेन भने त्यो बजार कुशल बजार मानिँदैन थियो । 

बजार बढेर मात्रै नाफा हुँदैन
बजार एउटा गतिमा गईरहेको छ । कहिले माथि कहिलो तल भईरहेको छ । यतिबेला हामीसँग हाम्रो सेयर परिसूचकको उच्चतम बिन्दु कति हो भनेर निरक्र्यौल गर्ने आधार छैन । कुनै पनि सिद्धान्तले बजारको उच्चतम बिन्दु यति हो भनेर भन्ने अवस्था छैन । बजार भनेको लगानीकर्ताको इच्छाशक्तिले निर्धारण गर्ने हो । जब बजारमा परिवर्तन आउँछ, स्वभाविक रुपमा त्यसलाई लगानीकर्ताहरुले रियाक्ट गर्छन् । बजार माथि गईरहेका बेला लगानीकर्ताहरु उत्साहित भईरहेका हुन्छन् । तल ओर्लिनु भनेको नेपालको मार्केट रुललाई हेर्नुपर्छ । नेपालमा अहिले वान साइडेड मार्केट छ । सबैले बजारमा लगानी गर्ने, आफुले लिएको सेयरको मूल्य बढ्यो भने प्रोफिट बूक गर्ने तर मूल्य घट्यो भने रिटर्न नेगेटिभ हुने बजार छ हामीकहाँ । स्टक मार्केटहरु विकसित भएका मुलकहरुमा बजार उकालो लागेपनि ओरालो लागेपनि लगानीकर्ताले प्रोफिट बूक गर्न सक्छ । यसको मतलव, बजार बढेर मात्रै नाफा हुँदैन त्यस्तो बजारमा बजार घट्दा पनि नाफै हुन्छ । घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानीकर्तालाई फाइदा नै हुन्छ ।

लगानीकर्ताका दुई पोजिसन
सर्ट सेलिङ भन्ने लगानीको अर्को प्रकार छ । लगानीकर्ताहरुले दुई किसिमका पोजिसन लिन सक्छन् । एउटा लङग पोजिसन, एउटा सर्ट पोजिसन । बजारमा अर्को किसिमले पनि रिटर्न लिन सकिन्छ । त्यो हो सर्ट सेलिङ । बजार घट्न लाग्यो भने त्यतिबेलै फाइदा लिन लगानीकर्ताले अहिले सेयर बेचिदिन्छ । अहिलेको मूल्यमा सेयर किन्छ र भोलि अरुबाट बरो गरेको सेयर हुन्छ, भोलि सस्तोमा किनेर त्यो बरो गरेको सेयरलाई फिर्ता गरिदिन्छ । त्यहाँ उसले अहिले बढीमा बेचेको हुन्छ कममा किनेर फिर्ता गरेको हुनाले त्यो बेलामा पनि उसलाई फाइदा हुन्छ ।
 
लगानीकर्ताका फरक किसिम
हामीकहाँ मात्रै होइन, लगानीकर्ता जहाँ पनि दुई किसिमका हुन्छन् । एउटा सूचना लिन्छन्, विश्लेषण गर्छन् र आफ्नो बजारमा गएर लगानी गर्छन् । तर अर्को ठूलो समूह हुन्छ जसलाई लिक्वीडिटी इन्भेस्टर भन्न सकिन्छ । उनीहरुसंग पैसा हुन्छ । बजारको ट्रेन हेर्छन् । अरुलाई पछयाउँछन् । आफुसँग भएको पैसा व्यवस्थापनका लागि अरुमार्फत नै उनीहरुले फाइदा लिन्छन् । यीनीहरुको ठूलो प्रभाव हुन्छ बजारमा । सूचना लिई विश्लेषण गरेर बजारमा छिरेकाहरुले बजारलाई सन्तुलनमा राख्न भुमिका खेलिरहेका हुन्छन् । तर यी पैसा भएका लगानीकर्ताहरुले बेखबर र अपरिपक्व छन् तिनीहरुले नै बजारलाई प्रभाव पारिरहेका हुन्छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]