November 22nd, 2016

फेरि घट्यो सेयर बजार : निराश बन्दै लगानीकर्ता

stockलगातार रुपमा ठूलो अंकले सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरु निराश बनेका छन् । आइतबार एकै दिन ५८ अंकले घटेको बजार सोमबार थोरै बढेपनि मंगलबार पुनः २३.८२ अंकले घटेर १५८२.४७ अंकमा कायम भएको छ । कारोबार रकम पनि १० करोड रुपैयाँले घटेको छ । सोमबार ९२ करोड ८७ लाख रुपैयाँ कारोबारम भएको बजारमा मंगलबार ८२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १३१ वटा कम्पनीको १२ लाख ६९ हजार ६ सय कित्ता सेयर पाँच हजार नौ सय १८ पटक खरिद विक्रि हुँदा कुल ८२ करोड ८२ लाख ५८ हजार नौ सय ६२ रुपैयाँ पुँजी परिचालन भएको हो । 

मंगलबार कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १२४.१५ अंकले घटेको छ भने होटल ६६.३५ अंकले घटेको छ । जलविद्युत्, विकास बैंक र बैंकिङ क्रमशः ३३.२५, २४.६३ र २२.३५ अंकले घटेका छन् भने फाइनान्स र अन्य क्रमशः १३.७८ र ९.८४ अंकले घटेका छन् ।

सबैभन्दा धेरै कारोबार भएको एभरेष्ट बैंकको नौ करोड १३ लाख रुपैयाँको कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्सको छ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स र बैंक अफ काठमाण्डू लुम्बिनीको पौने चार अर्बको हाराहारीमा कारोबार भएको छ । सिद्धार्थ बैंकको साढे दुई करोडको कारोबार भएको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकको दुई करोड ३४ लाखको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको पनि दुई करोड माथिको कारोबार भएको छ । एनएमबि बैंकको झन्डै दुई करोडको कारोबार हुँदा सिभिल बैंक र सानिमा बैंकको दुई करोड ८० लाख माथिको कारोबार भएकोा छ । 

मंगलबार पनि सृजना फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९३ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने युनियन फाइनान्सका सेयरधनीले ४.०७ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, एनबि इन्स्योरेन्स, आइएलएफसीओ माइक्रोफाइनान्स, ज्योति विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले गुमाउँदा नेपाल ग्रामीण विकास बैंक, लक्ष्मी लघुवित्त र मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ९.८९, ९.८७ र ९.१३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । राप्तीभेरी विकास बैंकका सेयरधनीले ८ प्रतिशत र सगरमाथा इन्स्योरेन्सका सेयरधनीले ७.६६ प्रतिशतका दरले गुमाएका छन् । गुडविल फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि धेरै गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]