November 21st, 2016

टुंगो लाग्यो वाफिया : संस्थापक सेयर साधारणमा परिवर्तन गर्न बाटो खुला

Aartha-sameeti-baithakसंसदको अर्थ समितिले बहुचर्चित बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) पारित गरेको छ । समितिले बाफियाका विवादित ८ बुँदालाई टुङ्ग्याउँदै सोमबार संसदमा पेश गर्ने निर्णय गरेको हो । यससँगै अब संस्थापक सेयर साधारणमा परिवर्तन गर्ने बाटो खुलेको छ । ऐनअनुसार, संस्थापक सेयर बैंक स्थापना भएको १० बर्षपछि साधारणमा परिवर्तन गर्न पाईने भएको छ । दश बर्षपछि पनि त्यस बेलाको पुँजीबजार र बैंक तथा वित्तीय संस्थाको समग्र अवस्था हेरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर मात्रै संस्थापक सेयर बिक्री गर्न पाइने व्यस्वस्था बाफियामा गरिएको छ ।  

साथै, बैठकले सञ्चालकको योग्यता र संवैधानिक निकायमा बस्नेले बैंकको सञ्चालक हुन नपाउने व्यवस्था पनि पारित गरेको छ । जस अनुसार बैंक तथा वित्तीय संस्थाको सञ्चालकको अवधि बढीमा २ कार्यकाल अर्थात ८ वर्षसम्म हुनेछ । तर स्वतन्त्र सञ्चालक भने एक कार्यकाल मात्रै नियुक्त हुन पाउनेछ । त्यस्तै, सांसदहरु बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था समेत पारित भएको छ ।

बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको कार्यकाल चार बर्षको हुने र एक व्यक्तिले लगातार दुई कार्यकाल मात्रै एउटा संस्थामा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ०.५ प्रतिशत सेयर पाउने भएका छन् ।

घ वर्गका लघुवित्त संस्थाले बैंक लेख्न नपाउने भएका छन् । यस्ता संस्थाले वित्तीय संस्था मात्र राख्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै, एउटै ब्यक्ति बैंक र बीमाको सञ्चालक हुन नपाउने व्यवस्था पारित भएको छ । कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने तथा बीमा सम्बन्धि व्यवसाय सञ्चालन गर्ने संगठित संस्थाको वहालवाला सञ्चालक तथा कर्मचारी बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था पारित भएको छ ।

 पारित भएका महत्वपूर्ण ८ बुँदालाई यहाँ उल्लेख गरिएको छ । 

1- बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा १० बर्ष बैंक वित्त कम्पनिमा काम गरेको अनुभव हुनुपर्ने छ । कुनै पनि विषयमा स्नातक तह अध्ययन गरेको भएमा ५ बर्ष अनुभव भएको हुनुपर्ने छ । अर्थशास्त्र, बाणिज्य तथा लेखा विषयमा स्नातकोत्तर गरेको व्यक्ति भने सोझै बैंकवित्त कम्पनिको संचालक बन्न पाउने छ ।  

2-  बीमा कम्पनिका संचालक बैंकको संचालक बन्न नपाउने व्यबस्था छ ।

3-  दश बर्षपछि संस्थापक शेयरलाई राष्ट्र बैंकको अनुमति लिएर साधारण शेयरमा परिवर्तन गर्न सकिने छ । 

4- बैंक तथा वित्तीय संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियूक्ति लगातार २ कार्यकाल मात्र हुन पाउने व्यबस्था छ । संचालक मात्रैको हकमा कार्यअवधि खुलाइएको छैन ।

5- अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकालको समय अवधि ४ बर्षको हुने छ । 

6- संबैधानिक पद धारणा गरेको व्यक्ति बैंकको संचालक, प्रमुख कार्यकारी अधिकृत वा अध्यक्ष हुन पाउने छैन ।

7- आफु संलग्न रकेको बैंक वित्त कम्पनिबाट ऋण लिन पाइने छैन । 

8- ‘घ’ बर्गका लघुवित्त कम्पनिहरुले बैंक लेख्न पाउने छैनन् । उनीहरुले लघुवित्त वित्तीय संस्था भनेर लेख्नुपर्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]