October 6th, 2016

वृद्धवृद्धा र अपांगको ओठमा खुशी छर्यो राष्ट्र बैंकले

money-1राष्ट्र बैंकले नयाँ नोट दिँदै छ भन्ने थाहा पाएपछि गोदावरीका ७२ वर्षिय अगमशेर राई बिहानै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली पुगे । लाइनमा लाग्नुपर्ला भनेर खाना पनि नखाई बिहानै मुद्रा व्यवस्थापन विभाग पुगेका राईले ज्येष्ठ नागरिक भएको प्रमाणपत्र देखाएपछि कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको २० मिनेटमै पैसा पाए । ‘लाईन लाग्नुपर्ला भनेर छिट्टै आएको यहाँ त झन् छिट्टो पैसा पाइयो’, उनले खुशी हुँदै भने, ‘हामीजस्ता बुढा मान्छेको लागि यो चाहिँ राम्रो काम गरेछन् ।’

त्यस्तै अर्का ज्येष्ठ नागरिक क्षेत्रपाटीका ७५ वर्षिय धर्मलाल श्रेष्ठ पनि छिट्टै पैसा साट्न पाएकोमा दंग थिए । ‘घरमा बुढाबुढीमात्रै छौँ, बुढी आउन सक्दिनन्, मलाई पनि धेरैबेर उभिँदा गार्हो हुन्छ ।’ उनले प्रतिप्रश्न गरे, ‘यस्तो बेलामा लाइन बस्नु नपर्दा कसलाई खुशी लाग्दैन होला ?’

अपांगता भएका दोलाखाका रेशम पाण्डेले लाईन बस्नै परेन । उनले १५ मिनेटमै २५ हजार रुपैयाँको नयाँ नोट साटे । अघिल्लो वर्ष नयाँ नोट साट्न आउँदा झण्डै १ घण्टा लाइन बस्नु परेको उनले सुनाए । यसपटक राष्ट्र बैंक व्यवस्थापन विभागले १० वटा सटही काउण्टर राखेर नोट वितरण गरेको थियो । त्यसमा पनि अपांगता भएका, अशक्त र ज्येष्ठ नागरिकहरुलाई धेरैबेर लाइन बस्न नपर्ने गरी व्यवस्था मिलाइएको थियो ।

दक्षिणकालीबाट आएका वाशुदेव अधिकारी भने अर्कै कुराले खुशी छन् । तीन घण्टा लाइन लागेर पैसा पाएको भएपनि पोहोरभन्दा धेरै पैसा साट्न पाएकोमा उनले खुश व्यक्त गरे । ‘पोहोर २२ हजारमात्रै साट्न पाइएको थियो’, उनले भने, ‘यसपालि ३७ हजार रुपैयाँ साट्न पाइयो खुशी लागेको छ ।’ यसपालि राष्ट्र बैंकले जनही ३७ हजारसम्म सटही व्यवस्था मिलाएको थियो । अघिल्लो वर्ष २२ हजार उपलब्ध गराएको राष्ट्र बैंकले यो वर्ष १५ हजार बढी उपलब्ध गराएको हो ।
 
नरदेबीवाट आएका अनुप न्यौपाने भने निकै थकित अवस्थामा भेटिए । बिहान ४ बजेदेखि लाइन बसेर बल्ल १२ बजे उनले नयाँ नोट साटे । ‘सटही काउन्टर १० वटा छ, मान्छे हजारौँ देख्छु’, उनले आक्रोश पोखे, ‘धेरै लाइन हुन्छ भन्ने थाहा पाएपछि २० वटा सटही काउण्टर राख्दा के हुन्छ ?’

अन्य सर्वसाधरणले भने घण्टौँसम्म लाइन लागेर नयाँ नोट साटेका थिए । बिहान ३ बजेदेखि लाईन लागेकाहरु पनि भेटिए । साँझ पनि अबेरसम्म लाइन लागेको देख्न सकिन्छ । खासगरी दसैँ तिहारको बेलामा नयाँ र खुल्ला नोटहरु बढी प्रयोग हुने गरेको छ । बडादसैँको दिन टिका लगाएर दक्षिणा दिने चलन तथा लक्षणको लागि नयाँ नोटको प्रयोग बढी हुने गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]