September 21st, 2016

मोबाइल सेवाको बढ्दो लोकप्रियता : हरेक दिन थपिन्छन् १० हजार ग्राहक

mobileनेपालमा हरेक दिन मोबाइल सेवा १० हजार ग्राहक थपिने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ महिनासम्म सार्वजनिक गरेको दूरसञ्चारसम्बन्धी प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनामा हरेक दिन औसत सो सङ्ख्या बराबर मोबाइल सेवाको पहुँच थपिँदै गएको पाइएको हो । तथ्याङ्क अनुसार गत माघदेखि जेठ महिनासम्म हरेक महिना औसत तीन लाखभन्दा बढी ग्राहक थपिँदै गएका छन् ।  

अहिले मोबाइल सेवाको पहुँच नेपालको कुल जनसङ्ख्याभन्दा निकै बढी पुगेको छ । प्रतिवेदनअनुसार दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच पुगेको छ । त्यसमध्य सीडीएमए मोबाइल प्रयोगकर्ताको सङ्ख्या १४ लाखभन्दा बढी छ । बाँकी सबै ग्लोबल सिस्टम फर मोबाइल (जीएसमए)को रहेको छ । हाल नेपालमा तीनवटा दूरसञ्चार सेवा प्रदायकले मोबाइल सेवा उपलब्ध गराइरहेका छन् ।  नेपाल टेलिकमले जीएसएम र सीडीएमए दुवै तथा एनसेल र स्मार्ट टेलिकमले जीएसएममा आधारित मोबाइल सेवा प्रदान गर्दै आएका छन् ।  जसमध्ये पछिल्लो तथ्याङ्क अनुसार सीडीएमए र जीएसमए गरी टेलिकमका एक करोड ४८ लाख, एनसेलका एक करोड ४० लाख र स्मार्ट टेलिकमका करिब १४ लाख मोबाइल प्रयोगकर्ता छन् ।  

सेवा प्रदायकले आफ्नो नेटवर्क विस्तारलाई पछिल्लो समय प्राथमिकता दिएकाले सिम खरिद गर्ने ग्राहकको संख्या बढ्दै गइरहेको छ । त्यसमाथि, एकै व्यक्तिले एकभन्दा बढी सिमको प्रयोग गर्ने प्रवृत्ति रहेकाले पनि मोबाइल सेवाको पहुँच सङ्ख्या बढी देखिएको हो । त्यसैले, तथ्यांकमा पहुँच बढेको देखिए तापनि सबै ठाउँमा मोबाइल सेवाको पहुँच अझै पुगिसकेको छैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]