September 15th, 2016

प्लस टु पछि सिए पढ्ने सोच्दैहुनुहुन्छ ? पढ्नुस्, सिए केपी उपाध्यायका सुझावहरु  

kp-upadhyayaहालै कक्षा १२ को परीक्षा प्रकाशित भएको छ । परीक्षाफल प्रकाशित भएलगत्तै उत्तीर्ण विद्यार्थीहरु आ–आफ्नो उद्देश्यअनुरुपका विषय र संकायहरु छान्ने तयारीमा छन् । कतिपय विद्यार्थीहरुमा फर्दर स्टडीका लागि आफुले चाहेको विषय वा क्षेत्रप्रति अझै धेरै जान्ने इच्छा हुन्छ । यी सन्दर्भमा सिएर सरोकारमार्फत सिए केपी उपाध्यायले विद्यार्थीहरुका लागि महत्वपूर्ण सुझावहरु दिएका छन् ।

सिए बनेको भोलिपल्ट साथीले फोनमा सोध्यो, ‘चाडो भन त पैसाको बोरा कहाँ लुकाको छस् ?’ ठट्यौली  जवाफ मैले पनि फर्काएँ– ‘खै यार तीन दिन भैसक्यो गोजी छाम्या छाम्यै छु एक पैसो फेला पर्दैन ।’ साथीले  आफ्नो भाई पनि सिए पढ्छु भन्छ, सम्झाउन भन्दैथ्यो । मैले लेखेरै सम्झाउँछु भनेको थिए जो यसप्रकार  पाठकमाझ पेस छ ।

बुझेर मात्र निर्णय 
काडाको प्रवाह नगरी फुलमात्रै देखेर गरिने सिएको यात्रा कष्टपूर्ण बनेको मैले देखेको छु । सुझबुझपूर्ण निर्णय गर्न यो लेख सहयोगी बनोस् भन्ने कामना लेखकको रहेको छ । गत साल तपाईँ सिए किन बन्ने ? शिर्षकका दुई भाग प्रकाशित भएका थिए । भर्खरै कक्षा १२ को परीक्षा सकिएको छ । परीक्षा सकिएसंगै कति भाइबहिनीहरुले सिए बन्ने सपना देखेका होलान् । यो लेख मुलतः सिए कसरी बन्ने भन्नेमा केन्द्रित रहेको छ । आशा छ सिएको यात्रा तय गर्न चाहनेलाई थोरै भएपनि अगाडिको बाटो देखाउन यो लेखले मद्दत गर्नेछ ।
 
सिए बन्ने अठोट
कतिपयले सोच्नुभएको होला पहिले सिए कोशिस गरौँ, भएन भने अरु केही पढ्नुपर्ला । यात्रा सुरु नहुँदै सजिलो ‘ब्याकअप प्लान’ नबनाउनुहोस् । भोलिको दिनमा कम्फर्ट जोनबाट तपाई बाहिर निस्कन नसकी ब्याकअप प्लानतिरै लाग्ने सम्भावना ज्यादा रहन्छ । म जन्मेकै सिए बन्न हो अथवा यो जुनिमा सिए बाहेक केही बन्दिन जस्ता सोचका साथ यात्रा तय गर्नेहरु ढुक्कसाथ सिए बन्नुहुनेछ । तपाईलाई रोक्ने कोही हुने छैन । एउटा उखान छ नि, ‘बनेरै छोड्नेहरुलाई इन्द्रेको बा चन्द्रेले पनि रोक्न सक्दैन ।’

शतप्रतिशत खुला प्रतिष्पर्धा
कथमकदाचित समय लागे पनि सपनाले तपाईलाई छाड्ने छैन । मुम्बईमा बाबु र छोरी संगै सिए बनेको उदाहरण छ । तसर्थ पहिले आफ्नो लक्ष्यप्रति स्पष्ट रहनुहोस् । स्पष्ट रहनाले तपाइको यात्रा सहज रहनेछ । त्यसपछि सफलताको सम्भावना पनि बढ्ने छ । सिए पढ्न धेरै प्रतिशत चाहिँदैन । ५०÷६० प्रतिशत प्राप्त गर्नेले पनि सिए पढ्न सक्नुहुनेछ । सिएको पढाई नै त्यस्तो क्षेत्र हो जहाँ कुनै आरक्षण छैन अर्थात् सतप्रतिशत खुल्ला प्रतिष्पर्धा । न त कुनै सरकारी छात्रवृत्ति छ । पेशागत पढाईमध्येको सस्तो पढाई नै सम्भवत सिएको पढाई हो । यसर्थ पैसाका बिटा र सोर्सफोर्सको छिटाले कुनै लछारपाटो नलाग्ने क्षेत्र पनि यही हो । विशुद्ध तपाईको मेहनत र पढाईले नै सन्जिवनी बुटिको रुपमा काम गर्नेछ ।

असम्भव छैन
नेपाली समाजमा एउटा भ्रम छ कि सिए अन्तिम तह पास नभए फेरि सुरुबाट पढ्नुपर्छ । सुरुबाट पढ्नुपर्छ भनेको पहिलो तहबाट पढ्नुपर्छ भनेको नभई जुन तह असफल भएको हो त्यही तहमात्रै पढ्नुपर्छ भनेको हो । त्यसैले अप्ठ्यारो हुन सक्ला, असम्भव नठान्नुहोस् तपाईजस्तै लक्ष्य बोक्नेहरु सिए बनेका छन् । जम्मा तीन तहमा बाँडिएको सिएको पढाई तहगत रुपमा उत्तिकै रोचक र घोचक बन्दै जान्छ । पाइला–पाइलामा गर्नुपर्ने मेहनतले तपाइलाई बाहिरी दुनियाँसंग साक्षात्कार गराउनेछ । अन्य पेशाको तुलनामा धेरै लामो तीन वर्षको आर्टिकल्शिप तालिमले तपाईको व्यवहारिक ज्ञानलाई मजबुत बनाउनेछ ।

पहिलो तह प्रवेश परीक्षा सरह हुन्छ । दोश्रो तहका केही या सबै विषय पास गरेर कम्प्युटर तालिमपछि सुरु हुने तीन वर्षे आर्टिकल्शिपले तपाईलाई सफल सिए बन्न ठूलो मद्धत गर्नेछ । तालिमको पछिल्लो खण्डमा अन्तिम तहको परीक्षा दिन पाइन्छ । अन्तिम तह पास भएसंगै जिएमसिएस नामको व्यवस्थापन र सञ्चारसम्बन्धी तालिम पश्चात तपाई चाटर्ड एकाउन्टेन्ट बन्नुहुनेछ । 

क्षमताअनुसारको समय 
हास्य टेलिसिरियल मेरी बास्सैको एक पात्रले भनेझैँ पर्यापर्यै पर्यापर्यै गर्नु त पर्दैन तर हरेक दिन निश्चित घण्टा नियमित हिसाबले भने जरुर पढ्नुपर्छ । पहिलो र दोश्रो तहमा दिनमा अधिकतम नौ दस घण्टासम्म पढे पर्याप्त हुने गर्छ भने अन्तिम तहको बेला अधिकतम एघार बाह्र घण्टा पढे फाइदा पुग्छ । कुनै पनि नतिजा तपाईको बौद्धिक क्षमता र मेहनतमा भर पर्छ । विलक्षण प्रतिभावान विद्यार्थीहरुले कम समयमै ठूलो सफलता हात पारेका छन् । तसर्थ सफलताको लागि आफ्नो क्षमताअनुसार समय दिनैपर्ने हुन्छ । यति समय दिनुपर्ने कुनै बैज्ञानिक नियम त होइन तर सामान्यतयाः पास हुन चाहिने समय भने यसकै हाराहारीमा हुन्छ । यसो हुनुको कारण कोर्स धेरै भएर हो । यसै पनि जति लामो कोर्स उति बढी समय लाग्नु स्वभाविकै हो ।

पढाईको बीचमा ब्रेक 
घन्टौँ पढ्दा बोर हुन गई उत्पादकत्व घट्न जान्छ । तसर्थ बेलाबेलामा मन परेको संगीत, फिल्म, कार्यक्रम हेर्नुहोस् । सामाजिक संजालको कम प्रयोग गर्न निश्चित समय छुट्याउनुहोस् । पढ्दा बेलाबेलामा घरपरिवारसंग सम्पर्कमा रहनुहोस् । तपाईको मनोबल उच्च राख्न मद्दत मिल्नेछ । सकारात्मक सोच भएका साथीहरुसंगमात्रै संगत गर्नुहोस् । सबै साथीले पढेर सकेपछिमात्रै छलफलमा भाग लिनुहोला । नत्र गफ ज्यादा हुनगई समय नाश हुने गर्छ । एकदिनमा कति पढ्ने हो निश्चित गर्नुहोस् । टार्गेटभन्दा न कम न ज्यादा पढ्नुहोस् ।

टार्गेट लम्ब्याउने आदत बन्द गर्नुहोला नत्र समयभित्र कोर्स सक्न गाह्रो पर्न सक्छ । पहिलो परीक्षा दिए लगत्तै परीक्षा विग्रेको भनेर बाँकी परीक्षा नदिने वा नपढी दिने गलत आदतले गर्दा कतिले धोका खाएका छन् । परीक्षा दिएपछि प्रश्नपत्रमाथि कसैसंग छलफल नगर्नुहोस् । सकेसम्म लुकाउनुहोस् अनि भोलि आउने परीक्षाको तयारीमा लाग्नुहोस् । प्रश्नपत्रको छलफल गर्ने उत्तम समय सबै परीक्षा सकिएपछि मात्र हो । यसरी उचित समय र प्रेसर व्यवस्थापनले निकै फाइदा पुग्नेछ ।

सिएका लागि अवसर
सिए बन्न लाग्ने सामान्य अवधि पाँच वर्ष हो । नेपाली बोर्ड आइक्यानबाट एकैपटक सबै तह पास गर्नेलाई पाँच वर्ष लाग्छ । २०७३ सालबाट सुरु भए २०७८ सम्म सिए बन्नुहुनेछ । विदेशी सिए बनेको खण्डमा नेपालमा आएर थप एक सालको इन्टर्नसीप र दुई विषयको सदस्यता परीक्षा दिनुपर्ने हुन्छ । कुन बोर्डको सिए बन्ने भन्ने विषयमा गहन रुपले बुझ्न एकपटक सिनियर, कोचिङ इन्स्टिच्युट, इन्टरनेट आदिमा बुझ्न सक्नुहुनेछ । नेपालमै बस्ने र यतै जम्ने सोच राख्नुभएको भए एकपटक ललितपुर सातदोबाटोमा रहेको नेपाली बोर्ड आइक्यान हेड अफिसमा परामर्शको लागि पक्कै जानुहोला । पढ्न लाग्ने खर्चको बारेमा, बोर्डमा लाग्ने खर्च, कोचिङ खर्च, किताबकापी, घरभन्दा टाढा भएमा बस्ने, खाने आदिजस्ता खर्च लाग्ने गर्छ । विस्तृतरुपमा बुझ्न उपर्लिखित उपाय अपनाउनुहोला । सो बाहेक आफ्नो खर्च गर्ने बानी र आवश्यकता अनुरुप खर्च बढ्दै जाने हो । 

सिए बनिसकेपछि के कस्ता अवसर पाइन्छन् भन्ने विषयमा अन्य लेखहरु पढ्नुहोला । साथसाथै आर्थिक समाचारहरु पत्रपत्रीका, टिभि, रेडियोबाट पढ्ने, हेर्ने र सुन्ने गर्नुहोला । गोष्ठी, छलफलमा सक्रियतापूर्वक भाग लिने गर्नुहोला । किताबको ज्ञानसंगै आफ्नो कार्य क्षेत्रसंग सम्बन्धित बाहिरको ज्ञान पनि आफैँ लिने आदतले भविष्यमा पनि फाइदा पुर्याउँछ । यो पढिरहँदा पाठकलाई समयको अभाव महसुस हुन सक्ला तर यो नबिर्सौ यो धर्तीमा सबैसंग चौबिस घण्टा नै छ । समय व्यवस्थापन तपाईको जिम्मेवारी हो ।

अर्को महत्वपूर्ण विषय सिए पढ्दापढ्दै विश्वविद्यालयका कोर्सहरु आफ्नो समय व्यवस्थापन क्षमता अनुसार पढ्न सकिन्छ । सिए र मास्टर्स डिग्री संगै सक्ने पनि छन् । त्रिभुवन विश्वविद्यालयले सिए र प्लस टु लाई स्नातक अनि सिए र स्नातकलाई स्नातकोत्तर सरहको मान्यता दिएको छ भन्ने जानकारी प्राप्त छ । तपाईले आफ्नो समय अनुकुल पढाई अगाडी बढाउन सक्नुहुनेछ ।

यसरी माथि लेखिएका जानकारीले सिए कसरी बन्ने भन्ने विषयमा मोटामोटी आइडिया दिएको ठान्दछु । भर्खरै परीक्षा सकिएको छ । केही समय दिमागलाई आराम दिनुहोस् । अनि अबका केही हप्ताहरु गहनरुपमा बुझ्नतिर लगाउनुहोस् । घरपरिवारमा छलफल, सिनियर, कोचिङ सेन्टर, आइक्यान परामर्श केन्द्रमा गएर गहन परामर्श लिनुहोस् । किनकी हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु उचित हुँदैन । एउटा सत्य कुरा के हो भने सिएका पढाईमा प्रवेशद्धार ठूलो र चौडा छ तर निकासद्धारा सानो र साँघुरो छ । त्यही साँघुरो द्धाराबाट बाहिर निस्कने सपना देख्नुहोस् । तपाईलाई स्वागत गर्न परिवार, समाज, देश र द्ुनियाँ पर्खिरहेको हुनेछ । त्यसपछि जीवनको अर्को अध्याय सुरु हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]