September 13th, 2016

‘मोटर बीमा’ के हो ? कसरी लिने फाइदा ?

insuranceदैनिक जीवनमा सवारी साधनको प्रयोग गर्नु जति लाभदायिक छ त्यति नै चुनौती पनि छ । अवस्थित ट्राफिक, स्तरहीन सडक, पार्किङको असुविधा, असुरक्षा लगायतका कारणले सवारी साधनको प्रयोग चुनौतीपूर्ण छ । त्यसैले मोटर खरिद गरेर मात्रै पुग्दैन । त्यसको साथ साथै सुरक्षाका लागि बीमा पनि आवश्यक छ । मोटरको साथै आफ्नो आवश्यकताअनुसार बीमा योजना खरिद गर्नुपर्ने आवश्यकतालाई महशूस गर्दै विभिन्न बीमा कम्पनीहरुले मोटर बीमा योजनाहरु ल्याएका छन् । नेपालमा सवारी साधन दर्ता हुने क्रम बढेसँगै दुर्घटना हुने क्रम पनि बढेकाले आफ्नो सम्पत्तिको सुरक्षाका लागि मोटर बीमा जरुरी रहेको सरोकारवालाहरु बताउँछन् । 

के हो मोटर बीमा ? 
यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ । 

मोटर बीमाका प्रकार
मोटर बिमा विभिन्न प्रकारका छन् । जसमध्ये केहीलाई सरकारले अनिवार्य नै गरेको छ । भने केही सवारी धनीले आफ्नो आवश्यकअनुसार बीमा खरिद गर्न सक्छन् । 

तेस्रो पक्ष बीमा : अनिवार्य बीमा 
आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आईपर्ने आर्थिक जोखिम हस्तारन्तण गर्नु तेस्रो पक्ष बीमा हो । यस योजनाअनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पुर्याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनुपर्दैन । तर, तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नुपर्ने हुन्छ । तेस्रो पक्ष बिमालाई सरकारले अनिवार्य गरेको छ । सडकमा दुर्घटना भएको अवस्थामा पीडित पक्षले सडक जाम गरी अन्य यात्रुलाई समेत दु:ख दिने हुँदा सरकारले ०६६ भदौ १ गतेदेखि तेस्रो पक्ष बीमा अनिवार्य गरेको हो ।

तेस्रो पक्ष बिमाबापत दुर्घटना भएको अवस्थामा पीडित पक्षले सजिलै भुक्तानी पाउँछन् । सवारी धनीले पनि आर्थिक समस्याबाट छुट्कारा पाउँछ । तेस्रो पक्ष बिमाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पुर्याएको अवस्थामा अधिकतम २५ लाख रुपैयाँ र समानको क्षति भएमा अधिकतम २५ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, निजी गाडीले व्यक्ति वा समानमा क्षति पु¥याएमा अघिकतम ८०/८० लाख रुपैयाँ भुक्तानी गर्छ भने व्यावसायिक गाडी दुर्घटनामा अधिकतम ५०/५० लाख रुपैयाँ भुक्तानी गर्छ । 

प्याकेज बीमा
दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षतिसहित तेस्रो पक्षको बीमाको योजनालाई प्याकेज बीमा भनिन्छ । यस योजनाले तेस्रो पक्ष बीमा र आफ्नो मोटरको क्षतिलाई बेहोर्छ । जस्तै, सवारी साधन चोरी भएको अवस्थामा, बाढी पैरोमा परी क्षति भएमा, भूकम्पले क्षति पुगेमा, पार्किङमा राखेको अवस्थामा टुटफुट भएमा समेत यो योजनाले जोखिम बहन गर्छ । यसका साथै थप बीमा शुल्क तिरी हुलदंगा समेतको जोखिमसमेत कभर गर्न सकिन्छ । यसले आन्दोलन अथवा हुलदंगाका कारण मोटरमा क्षति पुगेमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्छ । 

यसै योजनाभित्र थप शुल्क तिरी सवारी चालक तथा अन्य कर्मचारीको बीमा, यात्रुपक्ष बीमासमेत गर्न सकिन्छ । सवारी चालक तथा अन्य कर्मचारी बीमाले मोटर दुर्घटना हुँदा तलबी चालक, सहचालक तथा अन्य कर्मचारीलाई शारीरिक क्षति पुगेको अवस्थामा बेहोर्नुपर्ने आर्थिक जोखिम बहन गर्छ । यात्रु बीमाले मोटरमा सवार यात्रुलाई लाग्न सक्ने चोटपटकको उपचार खर्च, दुर्घटनाको कारण यात्रुको मृत्यु वा अंगभंग भएमा बेहोर्नु पर्ने दायित्वबाट जोगाउँछ ।

बीमा समितिको नयाँ व्यवस्थाअनुसार दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको अवस्थामा कम्पनीले ५/५ लाख रुपैयाँ भुक्तानी गर्छ भने उपचार खर्च ३ लाख भुक्तानी गर्छ । यात्रु पक्ष बिमांक रकम बढाएर सरकारले हाल ५ लाख रुपैयाँ बनाएको छ भने मेडिकल खर्च ३ लाख रुपैयाँ पुर्याएको छ । यसअघि यात्रुपक्ष बिमांक रकम १ लाख रुपैयाँ मात्रै थियो । गत साउनदेखि यात्रुपक्ष बिमालाई समेत सरकारले अनिवार्य गरेको छ । 

त्यस्तै, मोटरसाइकलको हकमा पनि बिमा समितिले नयाँ व्यवस्था गरेको छ । मोटरसाइकल दुर्घटना हुँदा चालक र पछाडि बस्ने व्यक्तिको मृत्यु भएमा कम्पनीले ५/५ लाख रुपैयाँ भुक्तानी गर्छ । उपचार खर्चबापत कम्पनीले ३/३ लाख रुपैयाँ भुक्तानी गर्छ । यसअघि चालक र पछाडि बस्नेको मृत्युमा भएमा कम्पनीले १/१ लाख रुपैयाँ भुक्तानी गथ्र्यो भने उपचार खर्चबापत ५/५ हजार रुपैयाँ मात्रै भुक्तानी गरिन्थ्यो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]