August 17th, 2016

हल्लाकै कारण घटबढ हुन्छ नेपाली शेयर बजार

संजीत सिटौला – 

sanjitपछिल्लो समय धितोपत्र बोर्डले सराहनिय काम गरेकै हो । पुर्ण रुपमा डिम्याट, ब्रोकर कमिसनमा उल्लेखनीय  रुपमा कटौती गर्नु, चार कार्यदिनमा राफसाफ हुनु, आइपिओमा अनिवार्य डिम्याट तथा पारिवारिक चेक मात्र प्रयोग हुनुलाई धितोपत्र बोर्डको सकारात्मक कदमको रुपमा लिन सकिन्छ । साथ साथै नेप्से यो अवस्थामा आइपुग्नको लागि नेप्सेको भूमिकालाई नजरन्दाज गर्न कदापि मिल्दैन । 

नेपाली बजारलाई न त प्राविधिक विश्लेषणले असर गर्छ, न त कम्पनीको वित्तीय अवस्थाले । केवल हल्लामा अडेको बजार छ । नभए अहिले बजार घट्ने कारण के ? कम्पनी सबल छन् । बजार बढेकै छ । नाफा बढेकै छ । बजारमा सन्तुलित तरलताको छ । बैंक ब्याजदरभन्दा कम्पनीले दिने लाभांश बढेकै छ । बजारमा चलेको अनेक हल्लाले बजारलाई अस्थिर बनाइरहेको छ । नत्र यसरी एक्कासी बजार घट्ने र बढ्ने कारण नै छैन । अबको केहि समय बजारमा त्रास नै कायम रहला, आत्मविश्वास फर्कन समय लाग्ला । जसरी एउटा खेलाडीले आत्मघाती गोलको कारण खेलमा फर्कन गाह्रो हुन्छ, ठीक त्यसैगरी आत्मविश्वास नभएका लगानीकर्ताका कारण केही समय बजार अस्थिर नै रहला । 

अहिलेको बजारको अवस्थालाई हेरेर सबैको मनमा एउटै कुरा खेलीरहेको छ कि बजारको अन्तिम बिन्दु कुन हो ? सबैको स्टाटसमा एउटै प्रश्न छ नेप्से घटेर कहाँ पुग्ने हो ? यसका लागि, सर्वप्रथम नेप्से बढ्नु अथवा घट्नुको कारण के हो भन्ने बुझ्नु जरुरी छ । तर यहाँ त वास्तविकताभन्दा हल्लाको पछाडी दगुर्ने मान्छेको जमात बढि छ । मलाई लाग्छ नेपाली शेयर बजारको अहिलेको अवस्था भनेको सामन्य घट्दो क्रम मात्रै हो । 
तर, केही समय बजार फेरि पुरानै लयमा फर्कनेछ । 

हल्लै हल्लामा कराडौँ नोक्सान
एउटा सानो हल्लाले बजारलाई करोडौँ नोक्सान भयो । आखिर डुब्ने त साना लगानीकर्ता नै हुन् । जसले बजारलाई बुझ्न सक्दैन, उही बजारबाट बढारिन्छ । आखिर भयो पनि त्यही । हल्लाकै पछि लाग्नाले थुप्रै साना लगानीकर्ता डुबे । त्यसैले, यहाँ अहिले कथित साना लगानीकर्ताले बुझ्न के आवश्यक छ भने लगानी हल्लाको भरमा गर्ने दोष अरुलाई दिन कहाँसम्म उचित होला ? जबसम्म आत्मबिश्वास र बजारबारे पर्याप्त सुचना हुँदैन तबसम्म बजार प्रवेश नगरेकै राम्रो । प्रवेश गरे पनि पर्याप्त सुचना लिन आवश्यक देखिन्छ । हामीले  कुनै पनि कम्पनीको वित्तीय अवस्था, प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात,  लाभांशको विगत वर्तमान र व्यव्स्थापन जस्ता कुराको विस्तृत अध्ययन गरेर मात्रै लागानी गरे कहिल्यै पछुताउनु पर्दैन । त्यसैले, लगानी गर्नुभन्दा पहिले एक पटक सोचाँै, कतै हाम्रो लगानी गलत ठाउँमा परेको त छैन ?

मार्केट डेप्थ हेर्दा, शेयरको माग र पुर्तिको अवस्था कस्तो छ भनेर प्रष्टै थाहा हुन्छ । हरेक कम्पनीकोे पूर्तिभन्दा माग धेरै बढी छ । तर नयाँ लगानीकर्ताको हतास मानसिकताको फाइदा ठुला लगानीकर्ताले उठाइरहेका छन् । बजारमा अनेक हल्ला फैलाएर शेयर उठाउने रणनिती हो यो । वास्तवमा भन्नुपर्दा, नेप्से बढ्नुको कारण बजारमा भित्रिएको नयाँ शेयर नै हो । समयसमयमा विभिन्न कम्पनीले जारी गर्ने बोनस तथा राइट शेयरले बजार बढाउन सहयोग गरिरहेको छ ।

सबै लगानीकर्ताको मानसपटलमा नेप्से २९२ अंकमा पुगेको याद छ । तर इतिहास दोहोरिन धेरै कठिन छ । त्यो समय र अहिलेको समयमा धेरै अन्तर छ । त्यो समय देशमा आर्थिक कृयाकलाप ठप्प थियो । देश द्वन्दमा थियो । सो समयमा लगानीकर्ता पनिा सिमित मात्रै थिए, अनि लगानी गर्ने कम्पनी पनि सिमित थिए । तर, अहिलेको अवस्था फरक छ । अहिलेको बजारमा शिक्षित र सचेत लगानीकर्ताको अभाव छैन । तर हल्लाको पछाडी दगुर्नेको जमात पनि उल्लेखानिय छ । त्यसैले, जसले आफूले लगानी गर्न खोजेको कम्पनीको अवस्था हेरेर मात्र लगानी गर्छ, उसले पछुताउनु पर्ने छैन । तर, जसले शेयर मूल्यलाई मात्र हेरेर खराब कम्पनीमा लगानी गर्छ, उसले अवश्य पछुताउनु पर्छ । 

बजार क्र्यास हुँदैन भन्न सक्ने आधारहरु
सचेत लगानीकर्ताले अहिलेको अवस्थालाई सामन्य रुपमा लिएको छ । हल्लाको पछाडी कुद्नेले भने बजार क्र्यास नै हुन्छ भनिरहेका छन् । बजार १५ सयभन्दा तल अब कहिल्यै झर्दैन । त्यसैले, सक्नेले घटेको दाममा किनौँ नसके होल्ड गरौँ । बजार अब घट्दैन भन्न सक्ने आधारहरु निम्नानुसार छन् : 

  • कम्पनी ले बोनस घोषणा गर्ने समय 
  • पुँजी वृद्धिको बाध्यकारी व्यवस्था 
  • बैंकिङ व्याजदर
  • धितोपत्र बोर्डको सकारात्मक कदम 
  • संकुचित लगानीको क्षेत्र
  • उल्लेखनिय रुपमा म्युचुअल फण्डको उपस्थिती 
  • लगातार रुपमा बढेको बजार कारोबार 
  • र, नयाँ लगानीकर्ताको आगमन

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]