August 25th, 2016

सहकारी संस्थालाई सघाउन स्थिरीकरण कोष बन्दै

nefscunबचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई सहयोग गर्ने उद्देश्यले स्थिरीकरण कोष स्थापना गरिने भएको छ । यस्ता सहकारी समस्या पर्दा सहयोग गर्न भन्दै नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले स्थिरीकरण कोषको अवधारणा अघि सारेको हो । चालू आर्थिक वर्षमा नै साकोस स्थिरीकरण कोष कार्यान्वयनमा ल्याउने तयारी भइरहेको संघले जनाएको छ । संघले सुरुमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थाबाट कोष सञ्चालन सुरु गर्ने तयारी गरेको छ । कोषको नीति, निर्देशिका तथा प्रणालीको विकास गरी कोषमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगसमेत जुटाउने संघको उद्देश्य छ । 

कोषले यसरी गर्छ सहकारीलाई सहयोग
कोषले बचत तथा ऋण सहकारी संस्थाहरुमा तरलताको अभाव हुन नदिन विशेष सहयोग गर्नेछ । यसका लागि सहकारी संस्थाले आफ्नो बचतको आधारमा निश्चित प्रतिशत रकम सो कोषमा जम्मा गर्नेछन् । सहकारीलाई तरलता अभाव हुँदा सो कोषबाट १ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण लिन पाउनेछन् । यसले सहकारी क्षेत्रमा देखिएको समस्या न्युनीकरणमा सघाउ पुग्ने अपेक्षा संघको छ । 

सरकारले २ वर्षअघि नै सहकारी कर्जा सूचना केन्द्रका साथै स्थिरीकरण कोष सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्बाटै गराइसके भए पनि सहकारी तथा गरिबी निवारण मन्त्रालयले कोष सञ्चालनको कुनै प्रक्रिया अघि बढाएको छैन ।

सहकारी विभागका अनुसार गत आर्थिक वर्षसम्म ३२ हजार ६ सय सहकारी दर्ता भएका छन् । जसमध्ये बचत तथा ऋण १३ हजार र वित्तीय कारोबार गर्ने बहुउद्देश्यीय सहकारी ४ हजार छन् । यी सहकारीमा सर्वसाधारणको २ खर्ब बचत छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]