June 26th, 2017

सबै रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कार्यमा जुट्न चन्द्र ढकालको आह्वान

ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गैरबैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कार्यमा सरोकारवाला सबै लाग्नुपर्नेे बताएका छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा भएको भारत नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई आइतबार भारतको नयाँदिल्लीमा सम्बोधन गर्दै ढकालले रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि डेड दशक अगाडिको तुलनामा अहिले निकै सुधार आएको, तर जनचेतनाको अभावले गर्दा भारतमा रहेका नेपालीहरुले अझैपनि अनौपचारिक माध्यममार्फत भारतबाट नेपालमा पैसा पठाउने गरेको बताए ।

भारतका बिभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसँग मिलेर ग्लोबल आइएमई बैंकले रेमिट्यान्स नेपाल पठाईरहेको जानकारी गराउँदै ढकालले बैकिंङ च्यानलमार्फत भारतबाट नेपालमा पैसा पठाउन औपचारिक माध्यमको प्रयोगलाई सम्बद्ध सबैले प्रबद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उक्त कार्यक्रमलाई भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका पूर्वराजदूतहरु रञ्जित रे तथा के. भी. राजनले सम्बोधन गर्दै भारत नेपाल रेमिट्यान्समा बैकिंङ च्यानलको महत्वमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा भारतका विभिन्न बैंकका प्रतिनिधि तथा भारतमा कार्यरत नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]