August 26th, 2016

‘रेमिट्यान्समा हैन उत्पादनमा बल गरौँ’

dhunbahadurढुनबहादुर बुढाथोकी –
बेरोजगारी नेपालको विकराल समस्या हो । मुलुकमा आर्थिक गतिविधि मन्द हुनु र वार्षिक करिब ५ लाख श्रमशक्ति श्रमबजारमा ओइरिनुले बेरोजगारी बढाएको हो । अन्तरराष्ट्रिय श्रमसंगठनको सर्वेक्षणले पूर्ण बेरोजगार १९.२ प्रतिशत र अर्धबेरोजगार २८.३ प्रतिशत देखाएको छ । यही रोजगारीको अभावमा युवा पुस्ता विदेश पलायन हुन बाध्य भएका हुन् ।

५ मध्ये १ नेपाली विदेशमा
वैदेशिक रोजगार मूलतः २०४७ सालपछि बढेकोे हो । यद्यपि सरकारले ०५०र५१ बाट मात्र वैदेशिक रोजगारीमा जानेको तथ्यांक राखेको पाइन्छ । ०५०र५१ देखि ०७२र७३ सम्ममा ४४ लाख ५३ हजार ४४६ विदेशमा पुगेका छन् । ०७२र७३ मा ४ लाख १८ हजार ७१३ अर्थात् अघिल्लो वर्षभन्दा १८ प्रतिशत कम बिदेसिए । यो आँकडामा भारतमा रहेका करिब १५ लाख नेपाली समेटिएका छैनन् । उक्त संख्यासहित ६० लाख पुग्छ । यसको अर्थ प्रत्येक ५ मध्ये १ नेपालीले विदेशी भूमिलाई सिञ्चित गरिरहेका छन् । उक्त हिस्सा कुल जनसंख्याको करिब २० प्रतिशत हो ।

रेमिट्यान्स भित्राउनेमा नेपाल छैटौं स्थानमा
रेमिट्यान्सबापत ०७१र७२ मा रु. ६ खर्ब १७ अर्ब भित्रिएकोमा ०७२र७३ मा ६ खर्ब ७९ अर्ब पुगेको छ । भारतबाट भित्रिने करिब २० अर्ब यसमा समाविष्ट छैन । अनौपचारिक क्षेत्रबाट भित्रिने रेमिट्यान्ससमेत जोड्दा ७ खर्ब अधिक पुग्छ । यहाँनेर महत्वपूर्ण कुरा ०७२र७३ मा रेमिट्यान्स आय जीडीपीको ३२.१० प्रतिशत पुग्यो । मूल प्रश्न रेमिट्यान्स आय वार्षिक १० प्रतिशतका दरले बढ्दो छ भन्ने होइन, महत्वपूर्ण कुरा किन रेमिट्यान्स आयको २ प्रतिशतभन्दा बढी हिस्सा उत्पादनमूलक क्षेत्रमा उपयोग हुन सकिरहेको छैन वा गाउँमा रेमिट्यान्स संकलन गर्ने बैंकको अभाव छ भन्ने होे । जबकि रेमिट्यान्स भित्र्याउने मुलुकहरूमध्ये नेपाल छैटौं  स्थानमा छ । यहाँनिर स्मरणीय कुरा के हो भने जुन अनुपातमा नेपालबाट श्रमिक बाहिरिएका छन्, सोही अनुपातमा रेमिट्यान्स भित्रिन सकेको छैन ।

अशत्त जनशक्ति विदेशिनाले रेमिट्यान्स प्रभावित
बाहिरिएका श्रमशक्तिमध्ये ७४ प्रतिशत अदक्ष, २५ प्रतिशत अर्धदक्ष र मात्र १ प्रतिशत दक्ष जनशक्ति बाहिरिँदा श्रमशक्तिको अनुपातमा मौद्रिक आय आर्जन कम भएको हो । वैदेशिक रोजगार प्रवद्र्धनमा श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतका सरकारी निकायहरू संलग्न छन् । यद्यपि यी निकायप्रदत्त कार्य प्रभावकारी हुन सकेको छैन । श्रम तथा रोजगार विभागमा पर्ने उजुरी, विदेशमा नेपाली श्रमिकमाथि हुने विभेद, अधुरा कागजातका कारण विदेशमा पर्ने अलपत्र उक्त कुराको प्रमाण हो । श्रमशक्ति पठाउने कार्य भने निजी कम्पनीहरूले गरिरहेका छन् । यस कार्यमा संलग्न म्यानपावर कम्पनीहरूको सामाजिक ख्याति अमर्र्यािदत छ । यसको आशय वैदेशिक रोजगारको क्षेत्रमा थुपै्र कमी–मजोरी छन् भन्ने नै हो । विशेष गरी अभिमुखीकरण, पारिश्रमिक, विदेश पठाउँदा हुने ठगी, श्रम सम्झौतालगायतका क्षेत्रमा समस्या छ ।

वैदेशिक रोजगारमा ठगि प्रकरण
भरपर्दो, सुरक्षित र श्रमिकमुखी बन्न सकिरहेको छैन । रोजगारपूर्व अभिमुखीकरणको अभावमा दुर्घटना बढ्दो छ । अभिमुखीकरण नाममात्रको हुने गरेको छ । बिदेसिने नागरिकबाट तोकिएभन्दा अधिक शुल्क असुल भइरहेको छ । म्यानपावर कम्पनीहरूले रसिद नदिई रकम असुल गरिरहेका छन् । बिमा नगरी रोजगारमा पठाउने कार्य बढ्दो छ । सम्झौतामा उल्लेख भएभन्दा कम पारिश्रमिक दिने गरिएको छ । तोकिएको भन्दा निकृष्ट कार्यमा लगाउनु सामान्यजस्तै भएको छ । गन्तव्य मुलुकको कानुनसम्बन्धी सामान्य जानकारीसमेत नहुँदा कारबाही भोग्नुपर्ने बाध्यता छ । कतिपय म्यानपावर तथा तिनका एजेन्टले प्रलोभन देखाई साधारण कामदारलाई अलपत्र पार्ने गरेका छन् । वैदेशिक विभागमा उजुरी हाल्दा रकम फिर्ता प्राप्त गर्न नसकिरहेको अवस्था छ । कतिपय म्यानपावर कम्पनीले काम फरक पर्ने गरी विदेशमा पठाउने गरेका छन् । कतिपय कामदार करारपत्रमा उल्लेख भएअनुसार तलब र सुविधा नपाउँदा एक डेढ महिनामै फर्कनुपरेको छ । वैदेशिक रोजगार कार्य्विधिमा कुनै पनि उजुरी दर्ता भएको तीन महिनाभित्र टुंगो लगाइसक्नुपर्ने उल्लेख छ ।

नियमनकारी संस्थाहरु मौन
तर, ठगी गर्ने म्यानपावरविरुद्ध हालेको उजुरी दुई–तीन वर्षसम्म सुनुवाइ हुने नसकेको अवस्था छ । आव ०७२र७३ को अवस्था नियाल्ने ३७ करोड ८७ लाख बिगो दाबीसहित उजुरी परेकोमा १० करोड २६ लाखको बिगो भराइएको छ । संख्यात्मक रूपमा २ हजार १ सय ७२ दर्ता भएकोमा ४ सय ४६ मात्र कारबाही भएर टुंगिएका छन् ।  जुन कुल उजुरीको २१ प्रतिशत मात्र हो । श्रम गन्तव्यमा एउटै कोठामा २०र२५ जना कोच्चिएर बस्नु सामान्यजस्तै भएको छ । दैनिक १२र१४ घण्टा काममा जोतिनु नियतिजस्तै भएको छ ।

महिलाका लागि विदेश असुरक्षित
महिला कामदारको सुरक्षा ग्यारेन्टी गरिएको छैन । शारीरिक, मानसिक र यौनिक हिंसाबाट नेपाली महिला कामदार अछुत छैनन् । सरकारले लिबिया, इराक, अफगानिस्तानलगायतका मुलुकमा रोजगारीका लागि जान निधेष गरेको छ । तर, बढी तलब पाउने लोभमा नेपाली ती जोखिमयुक्त मुलुकमा पुग्ने गरेका छन् । त्यसरी अफगानिस्तानमा पुग्दा ०७३ मा असामा १३ नेपालीले ज्यान गुमाए । अहिले सयौं नेपाली साउदी, कतार, मलेसिया, श्रीलंकालगायतका मुलुकमा अलपत्र अवस्थामा छन् । साउदी अरबमा रोजगार गुम्दा भोकभोकै परेको र फिर्ता हुनसमेत नसकिरहेको अवस्था छ । श्रीलंकामा पनि ४५ नेपाली अलपत्र मात्र परेका छैनन्, ४ सय नेपाली मलेसियन जेलमा पनि छन् । कच्चा तेलमा गिरावट आई रोजगारी गुमाएका कामदारलाई संरक्षण दिनुको सट्टा साउदी प्रहरीले उल्टै यातना दिइरहेको छ, तर पनि मानव तस्करलाई कारबाही गर्न सकिएको छैन । प्रस्तुत तथ्यहरूबाट वैदेशिक रोजगारको क्षेत्र कसरी गुज्रिरहेको छ भन्ने छर्लङ्ग हुन्छ ।

युवा विदेशिँदा गाउँ बस्ति सुनसान
दैनिक १५र१६ सयका दरमा युवाशक्ति विदेश पलायन हुँदाको सामाजिक लागत कम्ती भीमकाय छैन । युवाशक्ति पलायन हुँदा गाउँघरमा वृद्धा, अपांग, अशक्त, बालबच्चा र महिलामात्र छन् । वृद्ध उमेर समूहको रेखदेख र सहारा अभाव खड्किएको छ । पारपाचुकेको दर ह्वात्त उक्लिएकोे छ । असुरक्षित यौनसम्पर्कका कारण एचआईभी संक्रमितको संख्या बढ्दो छ । आर्थिक लागत पनि त्यत्तिकै डरलाग्दो छ । श्रमशक्ति पलायनका कारण कलकारखाना र कृषि भूमिका कार्य गर्ने श्रमिकको अभाव खड्किएको छ । ग्रामीण क्षेत्रमा करिब ३६ प्रतिशत ब्याजदरमा कर्जा लिई विदेश पलायन हुँदा घरखेत लिलाम हुनेको संख्या पनि कम्ती छैन । रेमिट्यान्सको उपयोग उत्पादनमूलक क्षेत्रमा गर्न नसक्दा वैदेशिक व्यापारघाटा ११ औं गुना फराकिलो भएको छ । आव ०७२र७३ मा व्यापारघाटा ७ खर्ब ४ अर्ब चुलिनुमा विप्रेषण आयद्वारा निम्त्याइएको उपभोक्तावादी संस्कृति कम्ती जिम्मेवार छैन ।

वैदेशिक रोजगारको मृगतृष्णा
वैदेशिक रोजगारलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा स्वीकार गरिएको कुरामा कुनै द्विविधा छैन । यसर्थ, वैदेशिक रोजगारका क्षेत्रमा छिपेका विकृतिको निरूपण गर्दै आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु पनि अहिलेको आवश्यकता हो । वैदेशिक रोजगार व्यवस्थित, मर्यादित र सुरक्षित बन्न नसक्नु, वैदेशिक रोजगारको लागत न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्न नसक्नु, न्यून लागतमा अधिक पारिश्रमिक प्राप्त हुने मुलुकहरूमा श्रम सम्झौता विस्तार हुन नसक्नु, वैदेशिक रोजगारमा दक्ष जनशक्तिको अनुपात वृद्धि गर्ने किसिमका कार्यक्रम विकास गर्न नसक्नु, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न नसक्नु, वैदेशिक रोजगारद्वारा प्राप्त सीप, कला, ज्ञान र प्रविधिलाई सदुपयोग गर्ने वातावरण निर्माण गर्न नसक्नु बैदेशिक रोजगारको मृगतृष्ण हो । यसलाई सम्बोधन गर्न नसके वैदेशिक रोजगार वरदान होइन, अभिशाप बन्न सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]