March 15th, 2016

वीमाले थाम्यो शेयर बजार, सामान्य वृद्धिसँगै ७३ करोड ८४ लाखको कारोबार

economicसोमबार घटेर बन्द भएको शेयर बजार मंगलबार सामान्य बढेको छ । सोमबार वीमा समूहले ओरालेको शेयर बजार मंगलबार वीमाले नै थामेको छ । ०.६५ अंकले बढ्दै नेप्से परिसूचक १३१२.८५ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । सोमबार ६५ करोडको कारोबार भएको बजारमा मंगलबार ७३ करोडको कारोबार भएको छ । दिनभरिमा १ सय २० वटा कम्पनिको ११ लाख ९६ हजार ४ सय ४८ कित्ता शेयर ३ हजार ५ सय ९७ पटक खरिदविक्रि हुँदा ७३ करोड ८४ लाख ३७ हजार ४५ रुपैँया बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्सको सबैभन्दा धेरै ५ करोड ६१ लाख ३२ हजार २५ रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल बैँकको पनि ५ करोडमाथिको कारोबार भएको छ । नेशनल हाइड्रोपावर र अपि पावर कम्पनिको ४ करोडमाथिको शेयर कारोबार भएको छ भने लुम्बिनी जेनेरल इन्स्योरेन्स र नेपाल ग्रामीण विकास बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, प्रिमियर इन्स्यारेन्स, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक, साना किसान विकास बैँक, हिमालयन जेनेरल इन्स्यारेन्स लगायतको २ करोडमाथिको शेयर कारोबार भएको नेप्से तथ्यांक छ । 

मंगलबार धेरै कमाउने कम्पनिहरुमा सेन्ट्रल फाइनान्स र लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् जसको शेयर मूल्य ९.९६ प्रतिशतका दरले बढेको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्यारेन्स, बरुण हाइड्रोपावर, मनास्लु विकास बैँक, मनास्लु डेभलपमेन्ट बैँक लगायतले पनि धेरै कमाएका छन् । ५ करोडमाथिको कारोबार भएको नेपाल बैँकका लगानीकर्ताले ३.५७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउनेमा अपि पावर कम्पनि, अरुण भ्याली हाइड्रो पावर लगायत छन् । युनिक फाइनान्स, मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक लगायतले पनि गुमाएका छन् । 

होटल, विकास बैँक, जलविद्युत्, फाइनान्स र अन्य समूहले ओरालेको शेयर बजार वीमा समूहले थामेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह २७.०७ अंकले घटेको छ । होटल, विकास बैँक, फाइनान्स र अन्य समूह क्रमशः ५.६८, ४, ३.०४ र १.१७ अंकले घटेका छन् । वीमा समूह ७१.१३ अंकले बढेको छ भने वाणिज्य बैँक समूह सामान्य ०.५ अंकले बढेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]