December 1st, 2017

रोजगार बचतपत्र के हो ? किन छ यसको महत्व ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो – 'वैदेशिक रोजगार बचतपत्र' । वैदेशिक रोजगारीमा रहेका कामदारलाई बचतमा आकर्षित गर्ने उद्देश्यले सरकारले आठ वर्षअघि  ‘बैदेशिक रोजगार बचतपत्र’ को सुरुवात गरेको थियो । आर्थिक वर्ष २०६६।०६७ देखि नेपालमा वैदेशिक रोजगार बचतपत्रको निष्काशन हुँदै आएको छ । हालसम्म नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले १४ वटा योजनामार्फत १० अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बराबरको बचतपत्र निष्काशन गरिसकेको छ । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष बचतपत्र निष्कासन गर्दै आएको छ । 

कसले किन्न पाउँछ ?
वैदेशिक रोजगारीमा रहेको वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा परिवारका सदस्यले वैदेशिक रोजगार बचतपत्र खरिद गर्न पाउँछन् । परिवारका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था रहेको छ । 

वैदेशिक रोजगार बचतपत्रको महत्व
सरकारले यस्तो बचतपत्र किन्नेलाई ९ प्रतिशत ब्याज प्रदान गर्दछ । अर्धवार्षिकरुपमा ब्याज पाइन्छ भने कुनै बेला आफुलाई चाहिएको बेला धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ । अर्को कुरा यो भनेको राष्ट्रको योजना पनि हो । राष्ट्रले मागेको बचतपत्रमा पैसा जम्मा गर्दा सुरक्षित पनि हुन्छ । बैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि भने यो एकदमै राम्रो अवसर मानिन्छ । यो बचतपत्र सरकारको नाममा जम्मा हुन्छ र यो पैसा देश विकासमा प्रयोग गरिन्छ । एक जिम्मेवार नेपाली भएकाले देश विकासमा पनि टेवा पुर्याउन पाइने र आफुले कमाएको पैसा बचत पनि हुने भएकाले यसका फाइदाहरु निकै छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]