November 19th, 2017

राम्ररी बुझौँ आस्वा प्रणाली, हेर्नुस् आस्वाबारे प्रशस्तै जानकारी

बैंकिङ खबर । धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनु पर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् । 

आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिने छन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ ।

एउटै लगानीकर्ताको नाममा एकभन्दा बढी दरखास्त दर्ता हुन आएको कुरा प्रमाणित भएमा, दरखास्त फारममा गलत विवरण भरेको वा उल्लेख गर्नु पर्ने सम्पूर्ण विवरण उल्लेख नगरेको वा भरेको नपाइएमा वा धितोपत्र खरिदको लागि दरखास्त दिंदाको अवस्थामा वा दरखास्त दिईसकेपछि खरिद गरेको धितोपत्र बापतको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा दरखास्त रद्द हुनेछ । 

सेयर बाँडफाँड
सेयर बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइने छ । सेयर बाँडफाँडको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको सेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिनेछन् । आफ्नो खातामा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिनेछ । 

सेयर जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिने छ । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा हुनेछ । 

अवेदकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत निवेदन दिँदा खाता रोक्का वापत शुल्क बुझाउनु पर्ने छ । केही बैंकहरुले पनि आस्वा सेवा निशूल्क दिइरहेका छन् । केही बैंकले शूल्क घटाएका छन् भने केही बैंकले  अनलाइन आस्वा सेवा प्रदान गरिरहेका छन् । 

अनलाईन आस्वा प्रणालीबाट कसरी भर्ने सेयर ?
अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा तपाईले धितोपत्र बोर्डबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यकहाँ सेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंक हुनु आवश्यक पर्दछ । 

यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् ।

यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]