May 17th, 2017

मुलुकको व्यापार घाटा ४२ प्रतिशतले बढ्यो

रुपा कोइराला – चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा सात खर्ब २६ अर्ब ४१ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष ३९.७ प्रतिशत बढी वस्तु तथा सेवा आयात भएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार, कुल आयातमध्ये सबैभन्दा बढि भारतबाट ५१.२ प्रतिशत सामान नेपाल भित्रिएको छ भने चीनबाट १२.६ प्रतिशत र अन्य मुलुकबाट २८.९ प्रतिशत बस्तु तथा सेवा नेपाल भित्रिएको छ । खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधान तथा त्यसको पार्टपुर्जा, एमएस बिलेट, मेशिनरी तथा पर्टपुर्जालगायतका सामान अत्याधिक आयात भएका छन् । अघिल्ला बर्षहरुको तुलनामा रासायनिक मल, औषधि, स्टील तथा फलामे तार, कच्चा रेशमको आयात भने घटेको छ ।

यो अवधिमा निर्यात भने जम्मा ५५ अर्ब २२ करोड रुपैयाँको भएको राष्ट्र बैंकको तथ्यांक छ । नेपालले जुस, पिना, रोजिन, चाउचाउ लगायतका बस्तु धेरै बेचेको छ । अघिल्ला बर्षहरुको तुलनामा यस पटक अलैंची, पोलिस्टर धागो, तयारी पोशाक र उनी गलैंचाको विदेशमा बिक्री घटेको पाइएको छ ।
 
निर्यातभन्दा आयात धेरै उच्च हुँदा समग्र ब्यापार घाटा ४२.६ प्रतिशतले बढ्न पुगेको छ । ये अवधिमा मुलुकको व्यापार घाटा छ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, देशबाट वाहिरिने भन्दा भित्रिने रकम बढेका कारण समग्र शोधनान्तर बचत ५० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा भने यो बचत धेरै कम हो । गत आर्थिक वर्षको चैत्रसम्ममा शोधान्तर बचत एक खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
 
बस्तु आयात उच्च दरले बढेका कारण देशको चालु खाता घाटामा गएको छ । गत बर्ष एक खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ बचतमा रहेको चालु खाता यो वर्ष १० अर्ब ३४ करोड रुपैयाँ घाटामा गएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]