May 17th, 2017

मासिक सवा दुई अर्बको सुन आयात

राजु चौधरी । पछिल्लो समय सुनको वैधानिक आयात बढ्न थालेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सुनको आयात ३७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७२/७३ को पहिलो ९ महिनामा १४ अर्ब ५ करोड ७० लाख रुपैयाँको आयात भएको थियो । अहिले १९ अर्ब २५ करोड ९७ लाख रुपैयाँको आयात भएको छ । जसअनुसार मासिक २ अर्ब १३ करोड ९९ लाख रुपैयाँको आयात भएको देखिन्छ । 

व्यवसायीका अनुसार हाल तस्करीको सुन केही निरुत्साहित भएको छ । सरकारले वैदेशिक रोजगारबाट घर फर्किने क्रममा ५० ग्राम सुन आयात सुविधा बन्द गरेकाले पनि बैधानिक आयात बढेको उनीहरूको भनाइ छ । ‘२०७३ भदौदेखि ५०।५० ग्रामको सुन आयात गर्ने प्रावधान बन्द भयो । तस्करीको सुन पनि रोकिएको छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘तस्करी र ५० ग्रामको सुविधा बन्द हुँदा वैधानिक आयात बढेको हो ।’ 

वैदेशिक रोजगारीमा जानेले गहना ल्याउन पाइन्छ । तर, ढिका सुुन ल्याउन पाइँदैन । ‘५० ग्रामको सुन ल्याउँदा २० देखि २५ हजार फाइदा हुन्छ । त्यसतर्फ आकर्षित थियो । गहना ल्याउँदा ज्याला तिर्नुपर्छ । ज्याला स्वदेशमा भन्दा विदेशमै बढी हुन्छ,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘५० ग्रामसम्मको आयात प्रावधान हुँदा आयातको मात्रा कम देखिन्थ्यो । अहिले सुविधा बन्द हुँदा आयात बढेको हो ।’ महासंघका अध्यक्ष मोहन सुनारले सुनको कोटा बढेकाले आयात बढी देखिएको बताए । सुन खरिद गर्ने ग्राहक पनि बढदै गएको उनले बताए । ‘गत वर्ष सुनको दैनिक कोटा १५ किलो मात्रै थियो । करिब तीन महिनायता राष्ट्र बैकले कोटा बढाएर २० किलो र्पुयाएको छ,’ उनले भने, ‘सोहीअनुसार आयात बढेको छ ।’ कोटा वृद्धिले माग र आपूर्तिमा केही सहज देखिएको उनले बताए । 

हाल वाणिज्य बैंकहरूले सुन किलोमा आयात गरी सोहीअनुसार बिक्री गर्छन् । बैंकहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, स्विटजरल्यान्डलगायतका मुलुकबाट सुन आयात गर्दै आएका छन् । आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफिरिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन् । सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्य्विधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्य्विधिअनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । चाडबाड र सिजनमा भने मागअनुसार कोटा वृद्धि हुन्छ । कान्तिपूरबाट साभार गरिएको


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]