August 23rd, 2016

भारतले पनि खेप्दैछ ढाड भाँच्ने व्यापारघाटा

kamalmitraकमलमित्र चिनोय-
बहुप्रसिद्ध बेलायती राजनेता लर्ड डिजराइलीले तथ्यांकशास्त्रको आलोचना गर्दै भनेका थिए, ‘तथ्यांकशास्त्र झुट, अझ सफेद झुट हो ।’ तैपनि तथ्यांकले राजनीतिक महत्व राख्छन् । राष्ट्रिय आँकडा सही हुँदा उत्साह पैदा हुन्छ र कमजोर हुँदा बेचैनी पैदा गराउँछ । भारतमा इकोनोमिक एन्ड पोलिटिकल विक्ली रिसर्च फाउन्डेसनजस्ता सम्मानित स्रोतहरू पनि छन् । उक्त फाउन्डेसनले प्रकाशित गरेको पछिल्लो आँकडा रोचक छ । यदि मूल्य सूचकांकलाई हेर्ने हो भने मुद्रास्फीतिमा उतारचढाव आइरहेको छ । थोक बिक्री मूल्य सूचांक (डब्लुपिआई) सन् २०१५ को जुनमा २.१ प्रतिशतले घटेको थियो, तर पछि सन् २०१६ को जुनमा १.६ प्रतिशतले बढ्यो । तर, खाद्य वस्तुको मूल्य सन् २०१४/१५ मा सुरुमा १२.९ प्रतिशतले बढेर पछि ६.१ प्रतिशतमा झरेको थियो । सन् २०१५/१६ मा यो ३.४ प्रतिशतमा र्झयो । सन् २०१३/१४ मा १०.३ प्रतिशतले बढेको इन्धनको मूल्य सन् २०१४/१५ मा ०.९ प्रतिशतले र्झयो । सन् २०१५/१६ मा भने यसमा ११.७ प्रतिशतले उच्च गिरावट आयो ।

अर्थतन्त्रमा इन्धनले केन्द्रीय भूमिका निर्वाह गर्छ । त्यसकारण, यसको मूल्यमा गिरावट आउनु सुखद खबर हो । यसले देशको आर्थिक विकासमा महत्वपूर्ण असर गर्छ । इन्धनको मूल्यमा उच्च गिरावटका बाबजुद सन् २०१६ को जुनमा आधारभूत वस्तुको मूल्यमा ५.५ प्रतिशतले वृद्धि भयो । सन् २०१५ को जुनमा यो आँकडा ०.५ प्रतिशत थियो । सन् २०१५ को मेमा उपभोग्य वस्तुको मूल्य सूचकांक ५.४ प्रतिशतले बढेको थियो । सन् २०१६ को मेमा यो ५.७६ प्रतिशतले बढ्यो । सन् २०१६ को जुनमा उक्त सूचकांक ५.७७ प्रतिशतले उकालो लाग्यो । सन् २०१५ को जुनमा ५.५ प्रतिशत रहेको उपभोग्य खाद्य वस्तुको मूल्य सूचकांक सन् २०१६ को जुनमा ७.८ प्रतिशतले उकालो लाग्यो । यो अवधिमा खाद्य वस्तुको मूल्यमा भएको वृद्धिबारे धेरै रिपोर्ट आएका छन् ।

यदि कृषि कामदारको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) मा आएको मुद्रास्फीतिको दरलाई हेर्ने हो भने सन् २०१६ को जुनमा यो ६.० प्रतिशतले बढ्यो । सन् २०१५ को जुनमा यो आँकडा ४.५ प्रतिशत मात्रै थियो । त्यसैगरी, औद्योगिक कामदारका लागि सिपिआई मुद्रास्फीतिदर सन् २०१६ को जुनमा ६.६ प्रतिशतले बढ्यो । सन् २०१५ को मेमा यो आँकडा ५.७ प्रतिशत थियो । अर्को शब्दमा भन्दा खाद्य वस्तुको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । औद्योगिक उत्पादन सूचकांक (आइआइपी)ले पनि धेरै कुरा बताउँछ । सन् २०१५ को मेमा २.५ प्रतिशतले बढेको आइआइपी सन् २०१६ को मेमा आउँदा १.२ प्रतिशतमा झर्यो । वस्तु उत्पादनको क्षेत्रमा पनि ह्रास आएको छ ।

सन् २०१५ को मेमा यो २.१ प्रतिशतले वृद्धि भएको थियो । तर, उक्त आँकडा सन् २०१६ को मेमा ०.७ प्रतिशतमा नै सीमित रह्यो । सन् २०१५ को मेमा २.१ प्रतिशतले बढेको खानी क्षेत्र सन् २०१६ को मेमा आइपुग्दा १.३ प्रतिशतले मात्रै वृद्धि भयो । त्योभन्दा अझ खराब पुँजीगत वस्तुको उत्पादनमा वृद्धि सन् २०१५ मेमा ३.० प्रतिशत थियो, तर सन् २०१६ को मेमा त्यो वृद्धिदर ह्वात्तै झरेर १२.४ प्रतिशतमा पुग्यो । सन् २०१५ को अप्रिलदेखि सन् २०१६ को जुनसम्ममा निर्यात २.१ प्रतिशतले कम भएर २२.६ अर्ब अमेरिकी डलरबराबरको रह्यो । उक्त समयावधिमा आयातमा झनै धेरै १४.५ प्रतिशतले गिरावट आएर ३०.७ अर्बमा सीमित रह्यो । व्यापार घाटा त ढाडै भाँच्ने खालको छ । यो ४०.३ प्रतिशत अर्थात् ८.१ अर्ब अमेरिकी डलरबराबर छ । प्रधानमन्त्रीको ‘मेक इन इन्डिया’ कार्यक्रमको यस क्षेत्रमा गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।
भारतीय अर्थतन्त्रको अवस्थाबारे ढुक्क हुन सक्ने स्थिति यो होइन । भारतका स्वतन्त्र विशेषज्ञ सँगसँगै अधिकारीले अर्थतन्त्रको विभिन्न क्षेत्रको प्रवृत्तिबारे समीक्षा गर्ने वेला आइसकेको छ । वस्तु उत्पादनको क्षेत्रमा कमजोर वृद्धिदर खराब संकेत हो । यसको नकारात्मक असर निर्यात क्षेत्रमा देखिइसकेको छ । 
सरकारको वर्तमान आर्थिक रणनीतिबारे यो निकै गम्भीर सूचक हो । उच्च व्यापार घाटा त्यत्तिकै निराशाजनक छ । इन्धनको मूल्यमा गिरावट आउँदा पनि उपभोक्ता मूल्य सूचकांक उकालो लागिरहनु र यसले मुद्रास्फीतिलाई बढावा दिनुलाई राम्रो मान्न सकिन्न । यी कमजोरीका बारेमा व्यापक र तीव्र रूपमा बहस गरिनुपर्छ । किनकि यसबाट सबभन्दा मार सहर र गाउँका गरिबलाई परेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]