September 26th, 2017

‘बैंक तथा वित्तीय संस्था राष्ट्रिय अर्थतन्त्रका मुटु हुन्’

अनिल केशरी शाह, अध्यक्ष, नेपाल बैंकर्स संघ – नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति बाक्लो छ । यद्यपी कतिपय तथ्याङकले भने अझै पनि ६० प्रतिशतभन्दा बढी नेपाली बैंकिङ च्यानलबाट कारोबार गर्दैनन् भन्ने देखाएका छन् भने झण्डै २० प्रतिशत नेपाली पूर्ण रुपमा औपचारिक वित्तीय कारोबारभन्दा बाहिर रहेका देखिन्छन् । यो तथ्य हाम्रो लागि पक्कै राम्रो होइन । यही तथ्यले हामीलाई गाउँतिर आफ्ना कदम अघि बढाउनुपर्ने रहेछ भन्ने कुराप्रति ध्यानाकर्षण गराएको छ । 

बैंक तथा वित्तीय संस्था राष्ट्रिय अर्थतन्त्रका मुटु हुन् । मुलुकलाई समृद्ध बनाउने काममा बैंक तथा वित्तीय संस्थाको भूमिका ‘केन्द्रीय’ हुन्छ । बैंक तथा वित्तीय संस्थाबाट अर्थतन्त्र माथि उकास्न गाउँदेखि शहरसम्मका सबै मानिसहरु बैक तथा बित्तीय सस्थामा जोडिनुपर्छ । गाउँ शहरका सबै नेपालीले बैंक तथा वित्तीय संस्थाबाटमात्रै कारोबार गर्न थाल्नुपर्छ । यसो भयो भने मुलुकको समृद्धि हामीभन्दा धेरै टाढा छैन । 

हामी अलि बढी नै शहरकेन्द्रित भएका छौँ । अब हामीले गाउँ पस्नुपर्छ । दुरदराजका नागरिकमाझ पुग्नुपर्छ । उनीहरुलाई बैंकिङ कारोबार सिकाउनुपर्छ । वित्तीय साक्षरता अभिवृद्धिका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका निकै महत्वपूर्ण हुन्छ । जति धेरै नागरिक वित्तीय साक्षर हुन्छन्, त्यति धेरै बैंकमा ग्राहक बढ्ने हुन् । त्यसैले गाउँ पस्ने र वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका अभियानहरुलाई अघि बढाउने काममा बैंक तथा वित्तीय संस्थाहरुले अब ध्यान पुर्याउनैपर्छ । 

गाउँमा गरिने लगानी जोखिमपूर्ण हुन्छ भनेर पनि कतिपयले भनेको सुनिन्छ । तर त्यो गलत हो । गाउँमा गरिने लगानी चाहिँ ९९ प्रतिशत सुरक्षित हुन्छ । सयमा एकको विविध कारणले विग्रिएपनि ९९ ले भने बैंकको लोन चुक्ता गर्छन् । 

अघिल्लो वर्ष गएको भूकम्प, त्यसलगत्तै भारतद्धारा लगाइएको नाकाबन्दीपछि पनि बैंकिङ क्षेत्र डगमगाएन । यसबाट पनि हामी मजबुत छौँ भन्ने पुष्टि भईसकेको छ । तर अब हामीले त्यो मजबुतिलाई मुलुकको अर्थतन्त्रपटि पनि सार्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले वित्तीय साक्षरता बढाउँदै, गाउँ–गाउँमा पसेर लगानी गर्नुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]