November 17th, 2017

बैंकर्स एसोसिएसन नेतृत्वविहीन

भुवन पौडेल / बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । २ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्चुरी कमर्सियल बैंकमा गएपछि उक्त पद पनि छोड्नु पर्नेछ ।
एसोसिएसनको विधानअनुसार कार्यसमितिमा व्यक्ति नभइ बैंकको प्रतिनिधित्व हुने भएकाले बैंक छाडेको व्यक्ति एसोशिएसनमा बहाल रहँदैन । तर, कसैको अब्जेक्सन नभएको खण्डमा अध्यक्षले नै दोहो¥याउन सक्ने व्यवस्था पनि रहेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । “कार्यसमितिले निर्णय गरी सम्पूर्ण सदस्यहरू सहमत भएको खण्डमा अध्यक्ष परिवर्तन नहुन पनि सक्छ,” शर्माले भने, “सहमति हुन नसकेको खण्डमा अध्यक्षको लागि साधारणसभा नै बोलाउनु पर्छ ।” तर, एसोसिएसनको अन्य पदका लागि भने कार्यसमितिले नै निर्णय गर्न सक्ने व्यवस्था बिधानमा रहेको शर्माले बताए । अनिलकेशरी शाहले औपचारिक रूपमा मेगा बैंक नछाडेकाले अध्यक्ष पद कायम रहेको उल्लेख गर्दै शर्माले भने, “उहाँले औपचारिक रूपमा छाडेपछि एसोसिएसले साधारणसभा बोलाइ नयाँ निर्णय गर्नेछ ।” 
एसोसिएसनका अध्यक्षको जिम्मेवारीबाट केही दिनपछि अनिल शाह बाहिरिँदै छन् भने विगत केही समयदेखि एउटा उपाध्यक्ष पद रिक्त छ । एसोसिएसनका उपाध्यक्षसमेत रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बैंक छोडेपछि एशोसिएसनको जिम्मेवारी पनि छोडेका थिए । हाल नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना मात्र एकजना उपाध्यक्ष छन् । एसोसिएसनको कार्यसमितिमा २ उपाध्यक्ष रहने व्यवस्था छ । 
विगतमा पनि एसोसिएसनको अध्यक्षमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत डिसी खन्नाले २ महिना मात्र अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । नबिल बैंकले तत्कालीन प्रमुख कार्यकारी अधिकृत खन्नाको कारार सम्झौता नवीकरण नगरेपछि उनले २ वर्ष अवधिको एसोसिएसनको अध्यक्षको कार्यअवधिमा २ महिना मात्र नेतृत्व गरेका थिए । त्यसपछि एसोसिएसनले साधारणसभा बोलाइ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एसोसिएसनका उपाध्यक्ष नरेन्द्र भट्टराईलाई अध्यक्ष बनाइएको थियो । वाणिज्य बैंकहरूको छाता संगठनको रूपमा रहेको एसोसिएसनले बैंकिङ क्षेत्रको विकासका लागि काम गर्ने उद्देश्यसहित स्थापना भएको हो । एसोसिएसनले बैंकिङ क्षेत्रलाइ प्रभावकारी र पारदर्शी बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]