May 11th, 2017

बीमा व्यवसायमा पनि तरलता अभाव

मुना कुँवर । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको प्रभाव निर्जीवन बिमा कम्पनीहरूमा पनि परेको छ । तरलता अभावका कारण बिषेश गरी सवारी साधन र घरजग्गा खरिद बिक्रीमा ह्रास आएपछि कम्पनीहरूको व्यवसायमा असर परेको बिमकहरूले बताएका छन् ।

यसले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणलाई असर गर्ने उनीहरूले बताए । पछिल्लो समयमा बजारमा लगानीयोग्य रकमको अभाव देखिएको छ । योसँगै नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाले लगानी गर्दै आएका केही क्षेत्रमा कडाइसमेत गरेको छ । विशेष गरी अनुत्पादक मानिएको सवारी साधनको कर्जामा केन्द्रीय बैंकले सिमा नै तोकेको छ ।

वित्तीय संस्थाले अधिकतम् ९० प्रतिशतसम्म कर्जा लगानी गर्दै आएको उक्त क्षेत्रमा केन्द्रीय बैंकले ५० प्रतिशतसम्मको मात्रै कर्जा सीमा तोकेको छ । यसरी कर्जा सीमा नै तोकिएपछि निजी सवारी साधन खरिद बिक्रीमा कमी आएको व्यवसायीहरू बताउँछन् । त्यति मात्रै नभएर सीमा नतोकिएका निर्माणजन्य साधनको बिक्रीमा समेत कमी आएको उनीहरूको भनाइ छ ।

बाग्मती अञ्चलमा सबैभन्दा धेरै सवारी साधन खरिद बिक्री हुन्छन् । यातायात व्यवस्था कार्यालय बाग्मतीको तथ्यांकअनुसार चालू आवको फागुनमा ८ सय ७६ वटा मात्रै कार÷जीप÷भ्यान दर्ता भएका छन् । गत आवको सोही अवधिमा भने २ हजार ७ सय ८६ कार दर्ता भएका थिए । त्यस्तै, चालू आवको माघमा ८ सय १ दर्ता भएका छन् भने गत आवको सोही अवधिमा १ हजार ४ सय ५२ दर्ता भएका छन् ।

चालू आवको पुसमा १ हजार ५ सय ८४ दर्ता भएकोमा गत आवको सोही अवधिमा १ हजार ७ सय ८९ दर्ता भएका थिए । कर्जा प्रवाहमा कडाई गरेपछि सवारी साधन खरिद बिक्रीमा कमी आएको हो । त्यस्तै वित्तीय संस्थाले घरजग्गा कारोबारमा पनि लगानी गर्न छाडेका छन् । 

तरलता अभाव कारण वित्तीय संस्थाको कर्जा सिमा तोकिएपछि निर्जीवन बिमा कम्पनीहरूले व्यवसाय घटेको हो । कम्पनीहरूले गर्दै आएको कुल व्यवसायमा सवारी साधन बिमाको हिस्सा अधिक छ । त्यसैले सवारी साधन खरिद बिक्री घटेपछि कम्पनीहरूको व्यापार पनि घटेको बिमक संघका अध्यक्ष एवम् एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले बताए ।

“दोस्रो त्रैमासमा गतआवको तुलनामा २५ प्रतिशत बृद्धि भयो । तर, दोस्रो त्रैमासको अन्तिमदेखि तरलताको अभाव देखियो । राष्ट्र बैंकले केही क्षेत्रमा गरेको लगानीलाई कसेको देखियो । यसले तेस्रो त्रैमासमा असर परेको छ । गत आवको तुलनामा व्यापार बढे पनि चालू आवको पहिलो त्रैमासको तुलनामा भने घटेको हामीले अनुमान गरेका छौं,” उनले भने, “सम्पूर्ण बिमाको ५० प्रतिशत हिस्सा मोटर बिमाले ओगटेको छ । मोटर बिमा व्यापार घटेपछि नै कसरी बिमा व्यवसाय कसरी बढ्ला ?” 

निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय सवारी साधनको बिमा आधारित रहेकाले तेस्रो त्रैमास अवधिमा व्यापार घट्नु स्भावाविक रहेको बिमा समितिका उपनिर्देशक दिनेशकुमार लालले बताए । “तर तरलता अभावले कम्पनीहरूले राम्रो आम्दानी गर्न सक्ने अवसरको पनि सिर्जना गरिदिएको छ,” उनले भने । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]