December 10th, 2017

बीमा क्षेत्रमा तीन अर्बबढीको हकप्रद आउँदै

बैंकिङ खबर । बीमा समितिले ल्याएको पुँजीवृद्धि योजनासँगै बीमा क्षेत्रमा पनि हकप्रद जारी गर्ने लहर चलेको छ । आउँदो असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले दुई अर्ब र निर्जिवन बीमा कम्पनीले एक अर्ब चुक्तापुँजी पुर्याउनुपर्ने भएपछि सबैजसो बीमा कम्पनीले हकप्रद सेयरलाई सहारा बनाएका छन् । आधा दर्जन कम्पनीले यतिबेला हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । चार जीवन र दुई निर्जिवन बीमा कम्पनीले कुल तीन अर्ब ४२ करोड ४७ लाख ३७ हजार एक सय ८५ रुपैयाँ बराबरको हकप्रद जारी गर्ने अनुमति मागेका छन् । 

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार छ सय २० रुपैयाँ बराबरको ४० लाख २७ हजार नौ सय ६६ दशमलव २० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २९ करोड ७० लाख रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

प्राइम लाइफ इन्स्योरेन्स लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले १६० प्रतिशत अर्थात एक बराबर एक दशमलव ६० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड दुई लाख रुपैयाँ बराबरको ६१ लाख दुई हजार कित्ता हकप्रद जारी गर्ने अनुमति मागेको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत अर्थात १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड ३६ लाख ४७ हजार सात सय ५४ रुपैयाँ बराबरको ९९ लाख ३६ हजार चार सय ७७ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । 

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले छ सय प्रतिशत अर्थात एक बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनमति माग गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

नेको इन्स्योरेन्स लिमिटेड
नेको इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड २० लाख ९२ हजार आठ सय ११ रुपैयाँ बराबरको ३९ लाख २० हजार नौ सय २८ दशमलव ११ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि नेकोले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]