October 28th, 2016

प्रभु इन्स्योरेन्सले १७ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद सेयर दिने 

prabhuप्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीलाई १७ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २१ औँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २४ लाख १८ हजार २४ रुपैयाँ नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । उक्त साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबाट ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत पारित गरेको छ ।

हाल प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ३२ करोड ९० लाख ७३ हजार तीन सय रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजीमा पाँच करोड ५९ लाख ४२ हजार चार सय ६१ रुपैयाँ थप भई ३८ करोड ५० लाख १५ हजार सात सय ६१ रुपैयाँ पुग्नेछ । त्यसपछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्तापुँजी ५७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

यसबाहेक, हाल कायम रहेको अधिकृत तथा जारी पुँजीलाई वृद्धि गरी एक अर्ब रुपैयाँ पुर्याउने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन पारित गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन आएमा आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]