November 9th, 2016

‘प्रणव किन गए, किन आए थाहै भएन’

rp-dahalरामप्रसाद दाहाल – दिल्लीबाट आकस्मिक फोन आयो । उठाएँ मित्र रहेछन् अघोरी प्रसाद । नाम जस्तो भएपनि मन सफा भएका दिलवाले मित्र हुन् । दिल्लीमा बस्छन् । के के सानो तिनो व्यवसाय गर्छन् । आर्थिक उन्नतिका कुरा निकै गर्छन् । सादा काजमा आर्थिक उन्नतिको रङ भर्छन् । कहिले विकास हेर्न बैंकक, कहिले बैङ्गलोर, कहिले मुम्बई गरिरहन्छन्, अर्थात घुमिरहन्छन् । बसोबास भने नयाँ दिल्लीमा कायम गरेका छन् । अनि गफिन्छन्, “भारतको विकास हेर्नुहोस् नेपालले भारतको जस्तो कहिले विकास गर्ने हो ? नेपालमा त खाली विनाश र नोक्सानीका धेरै कुरा मात्र सुनिन्छन् तपाईको देशको,” फोन मै कुरा थप्न थाले, “भारतलाई नेपालले किन हेप्छ ? हेर्नुस् त भारतको विकास कस्तो गतिमा दौडिरहेको छ । विगत २५ वर्षमा भारतले जोडेको सडक सञ्जाल, यातायातको अभूतपूर्व विकास, औधोगिक शैक्षिक सूचना–प्रविधि, कृषि क्षेत्रमा त चमत्कार नै गरिसकेको छ – हाम्रा पूर्वाधार र विकास विकास विश्वकै नमूना बन्न खोज्दैछन् ।” 

“खै, तपाईँको नेपालको प्रगति र विकासको यात्रा ? मित्र, तपाईँको देवाधिदेव पशुपतिनाथ पनि खुशी पार्न नसक्ने, कस्ता तिम्रो देशका नेता गण ? तिमी आफैँ सोच त । पशुपतिलाई ढोग भेट गर्न पनि मेरै देशकी सुष्मा, मोदी र प्रणव जानु पर्ने ? तर तिम्रा प्रधानमन्त्रिहरु÷कोही जानु नपर्ने ?” उनी थप्दै गए म सुन्दै गएँ, प्रत्येक शब्दमा अर्थ राखेर शब्दलाई सञ्जालमा नपारी मलाई सुनाउँदै गए–“तिम्रो देशमा अरु त के थियो र ? त्यही हिमाल, त्यही पहाड, त्यही पानी, जानकी अनि बुद्ध, अनि भोले बाबा, पशुपतिनाथ । ती पनि सबै हामीतिरै फर्केका छन् र हामीलाई टुलुटुलु हेरिरहेका छन् । हाम्रा मोदीले संसद मै भनिदिएर आएका छन् – पानी और जवानी पहाडमे हि रहति है । अब पुगेन र ?” 

मैले भनेँ – साथी तिम्रा कुरा त ठीकै होलान् । नेपालमा पनि विकास भएकै छ । तिमीलाई सूक्ष्म ज्ञानको अभाव मात्र हो ? राजनीतिमा कत्रो परिवर्तन भयो । राजाको ठाउँमा राष्ट्रपति, निर्दलको ठाउँमा बहुदल, केन्द्र, प्रदेश, प्रान्त, संघीयता, ठूलो दलभन्दा साना दलले शासन सञ्चालन गर्ने परिपाटी । के यी उपलब्धी होइनन् र ? दल– बदल नीति, पार्टी, गुट, मौलाएको छ । कम्युनिष्ट प्रधानमन्त्री बाबुरामले काठमाडौंको सडक ठूलो पारे, धूलो पारे । के त्यो विकास होइन र ? मैले थप्दै गएँ– उनले अहिले पो छोडे कम्युनिष्ट । अब उनले गर्ने आर्थिक क्रान्तिमा जङ्गे पिलरका ठाउँमा पर्खाल लाग्नेछ । साँध किल्ला र सीमाना चुस्त हुनेछन् । पानी थुनिने छ । बिजुली बालिने छ । उद्योग हराभरा हुनेछ । राष्ट्रिय गौरबका योजनाहरुले गति लिने छन् । पर्खेर हेर । बाबुरामले थुनेको पानीमा केपीको जहाज कुद्ने छ । घरघरमा ग्याँसको पाइपलाइन आउने छ । हावाबाट बिजुली निकालिने छ । विहान विरगन्जमा सुतेको केटो बेलुका रेल चढेर पतैया, हेटौँडा हुँदै नुवाकोट केरुङ्गमा खाजा, खाना खाएर सिंगात्सेमा सुत्नेछ । अनि चाइनाको स्याउ विरगन्जले खान्छ । विरगन्जको माछा चाइनामा जान्छ । अब तिमिलाई विकासको कति फेहरिस्त दिउँ ? अघोरी, अब तिमी आफैँ भन त ? 

उनी बोल्न निकै अकमकाए । अनि मैले थपेँ – त्यतिमात्र कहाँ हो र ? प्रचण्डको दोस्रो कार्यकाल पहिलेको भन्दा राम्रो बन्ने भनेकै छ । पार्टी जोड्ने अभियान नै छ । वर्गलाई ध्यान दिएर काम गर्न आफनो मन्त्रीलाई निर्देशन दिए कै छ । लम्पसारवादमा आपूm होमिएकै छ । कहिले प्रणव फकाउने, कहिले विद्या पठाउने कुरा भएकै छ । के त्यो विकासको दौत्य सम्बन्ध होइन र ? ठूला पार्टीका ठूला नेता शेर बहादुर गोवा किन गए ? उनले प्वाक्क भने– “पुवा खानलाई ….. । होइन होइन, दलाइ लामाका प्रतिनिधि त्यहाँ थिएनन् । त्यसैले गाको ? खण्डन गरिसके रक्षमन्त्री र पार्टीले ….।” के भनौँ, अब नेता महोत्म्य र आर्थिक विकासका कुरा के सुनाउँ सबै त गरिसके । 

नेपालीको स्वाभिमान कम छैन ; तिम्रो देशको प्रणव आउँदा नेपालाका ठूला राजधानीहरु कफ्र्यूमय बन्यो । एक दिन पूरै विदा, अरु दिन पनि विदा सरह नै रह्यो । तिम्रो नेताले हामीलाई ठूलो विकास दिए । ‘सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नु ।’ कस्तो सुन्दर ! कसैले सिर्जना गर्न नसक्ने महान् वाणी … । सुनेर नेपालीलाई लाज लाग्यो रे । प्रत्येक निरक्षरदेखि साक्षरसम्मले, छाप्रादेखि महलसम्म यदि अहिले कसैले केही भन्छ भने मिलेरै संविधान कार्यान्वयन गर्नु ? ओहो ! कति ठूलो जनचाहना भनेछन् प्रणवले । अचम्म लाग्छ नेपालीलाई विश्वकै उत्कृष्ट संविधान कार्यान्वयन गर्न कस्तो गाह्रो परेको । जसको लागि करौडौँको भोजसहित साँझ सजावट, रमझम र तामझाममा खर्च गरेर नेपालीले प्राप्त गरे – ‘मिलेरै संविधान कार्यान्वयन गर्नु ? क्या मिठो हाँसो ! क्या मीठो चुड्किला ! बुभmनै गाह्रो परयो नेपालीलाई । अघोरी, तिम्रो प्रणवको महावाणी । 

अघोरीले मलाई कडै शब्दमा उत्तर दिए – “तिम्रो नेताको हैसियत पार्टी र दलको हैसियत, गुट उपगुटको हैसियत, हामी भारतीयलाई सबै थाहा छ । के कुरा गर्नु हुन्छ, मित्र ? तिम्रो सरकार हाम्रो दूतावासले हालिदिएको पेट्रोलबाट चल्ने जीप गाडी हो । त्यसैले त तिम्रो  देशमा चल्ने पाटी र तीनका भातृ संगठनमा अनेक रंग रुप देखिन्छन् । अस्ति नै नेपाली कांग्रेसका भातृ संगठनका चुनाव देखिएकै हो । जीत र हारका कुरा भएकै हुन् । कसको गुटले जित्यो ? अनि महिला नेतृहरुको चुनाव पनि देखेकै हो । जीत र हारका कुरा भएकै हुन् । कसको गुटले जित्यो ? –निष्कर्ष निस्कियो – सिटौला र देउवाको मिली भगतको गुटले जित्यो । अनि महिला नेतृहरुको चुनाव भयो जीतमा महिलाले माला पछि लगाएर सबैभन्दा पहिले त यो जीतको माला झापाली सिटौला दाइ र बुढानिलकण्ठका देउवाले पो लगाए । कस्तो हास्यास्पद कुरा ! महिला संघले जित्ने पुरुषले माला गुथ्ने ? कहाँ हरायो महिला संघ ? कता हरायो मंगलादेवीको आदर्श ? हिजो मंगालाको माला सायद गणेशमानले लगाएनन्, तर आज उमाको माला देउवा र सिटौलाले लगाए । यहि हो तिम्रो देशको चुलबुले राजनीति ?” अझ उनि थप्दै गए, “माधव र केपि पनि कहाँ कम छन् र ? उनका भातृसंगठन कम हुन्छन् ? उस्तैउस्तै हात्तिछाप नै  त हो । प्रचण्ड त बबुरा छन् । उनको त पाटी होकि झुण्ड, बुझ्नै गाह्रो छ । संगठनभित्र निर्वाचन छैन, टिके व्यवस्थापन छ । २५ सयको केन्द्रीय समिति के पाटी, के दल ? मधेशी नेतृत्वको त के कुरा – मधेश मागी खाने भाँडो हो । माग्दा पाइने जति खाने न हो । बैद्य बा यता न उतामा छन् । चन्द हुन कि चन्दा हुन्, पाटी भूमिगत भन्दैछन् । त्यसैले भित्र तिम्रो देशको विकास भूमि र जीवन होइन, पाटी र कागजमा हुन्छ, मुसा प्रवृत्ति फस्टाइरहन्छ । त्यसैले हाम्रा प्रणवले जे बोले जे भने, के गरे के गरेनन्, हाम्रो देशको चासोको विषय होइन । हामीले त हाम्रो  देशको प्रान्त घुम्न गएको राष्ट्रपति ठानेर हाम्रो सञ्चार माध्यममा विषय पनि बनाएनौँ । तिम्रो देशले कति फुक्यो, त्यो तिमी नै जान । हाम्रो त मोदीको अगाडि प्रणव मिडियालाई थाहै भएन । किन गए ? के भनेर आए ? थाहै भएन ।” 

मैले थपेँ – मित्र के कुरा गरेको त्यस्तो ? प्रणव आफैले भनेका छन्– आध्यात्मिक यात्रा, सद्भावको भ्रमण, मित्र मिलन, फरक सोचको निराकरण, १८ वर्ष पछिको  राष्ट्रपतिको भ्रमण । के पायो त नेपालले सुमधुर सम्बन्ध ? मित्रले थपे, “तिम्रो देशको सुत्केरी महिलाले बोलेको तिम्रा सञ्चार माध्यमबाट सुनेँ – ‘चार महिनासम्म नाकाबन्दी गरेर धुरु–धुरु भोको पेट बनाएर रुवाएका नेपालीलाई मलमपट्टी लगाउन आका होलान् नि तिनी । तर मेरो सरकारले म जस्तो सुत्केरीको प्रशव वेदना र पीडा बुझेन । यो मेरो आज जन्मेको शिशुले कहिले सरकारलाई क्षमा दिने छैन ।‘ अरु के थपौँ ? भ्रमणका बारेमा जनतालाई पत्रकारमार्फत सरकारका प्रवक्ता मन्त्रीले जानकारी दिए – ‘अब हामी सक्षम भयौँ । जुनसुकै देशका जस्तासुकै ठुलो मानिस आएपनि मजाले नेपालमा घुमाउन, खुवाउन, ढोग्न, लम्पसार पर्न, नेपाल बन्द गर्न, हस्–हस् भन्न सक्छौँ । विश्वले बुझ्नुपर्छ, अब नेपाल आउन कसैलाई समस्या छैन । भम्रणको सफलता यही हो ।’ भन्दै गर्दा उनको कुरा सुन्ने ममा धैर्य रहेन । ‘भो पुग्यो’ भन्दै झर्किँदै फोन राखिदिएँ । कस्तो अघोरी मित्र तिमी त ?


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]